चुल्होको आन्दोलन

सरकारले एकपटक पुन: पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । जनताको ढाड सेक्नेगरी गरिएको मूल्यवृद्धिको विषयलाई लिएर युवा तथा विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सोझो अर्थमा ग्यास, डिजेल, पेट्रोलको मूल्य बढेको देखिए पनि यसले सबैतिर असर पारेको हुन्छ । तर, त्यो अन्दोलनमा जनताको सहभागिता देखिँदैन । के जनतालाई यो मूल्यव्ृद्धिले छोएको छैन ? या नेपाली जनता अहिलेको महँगीलाई धान्नसक्ने भइसके ? या वर्तमान सरकारको कामगराइबाट जनता सन्तुष्ट भएका छन् ? या जनतालाई अहिलेका आन्दोलनकारी युवा विद्यार्थीप्रति भरोसा छैन ? यस्ता तमाम प्रश्न अहिले छलफलमा चलिरहेका छन् ।
वास्तवमा नेपाली जनता नेपालका नेता र राजनीतिक पार्टीका गतिविधिबाट आक्रान्त भएका छन् । विद्यार्थी संंगठनहरू मूल्यवृद्धिको विरोधमा सडक तताइरहेका छन् तर प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरूले एउटा विरोधको वक्तव्यसमेत निकालेका छैनन् । मूल्य बढाउने कुराले सबै राजनीतिक पार्टीको सरकारलाई समर्थन हो कि भन्ने गम्भीर शंका जनतामा उब्जिएको छ । अहिले बजारमा भएको मूल्यवृद्धि र कालो बजारीले हाम्रो देशका राजनीतिक पार्टीका नेतालाई छुँदैन तर त्यही पार्टीका कार्यकर्ता विद्यार्थी नेताहरूलाई चाहिँ छुन्छ किन किनकि नेपालका नेता र कार्यकर्ताका बीचको वर्ग मिल्दैन । जसरी नेता र कार्यकर्ताबीच वर्ग मिल्दैन, त्यस्तै नेपालका नेता र जनताबीच पनि वर्ग मिल्दैन । त्यसैले बजारमा बढेको कालो बजारी, मिसावट, कृत्रिम अभाव र मूल्यवृद्धि अहिले ज्वलन्त समस्याका रूपमा अगाडि छन् । यो विषय सरकारमा भएका/नभएका सबैलाई थाहा छ । चाहँदा यो समाधान गर्न सकिने विषय पनि हो । तर, यस्ता आन्दोलनको ठेक्काचाहिँ विद्यार्थी संगठनको मात्र हो भन्ने बुझाइ राजनीतिक पार्टीहरूमा रहेको देखिन्छ ।
यो समस्या जनताको चुल्होको समस्या हो । चुल्होको समस्या आधारभूत र प्रमुख समस्या पनि हो । आज जनताले पेटभरि खान पाएका छैनन् । खान नपाएका जनताप्रति राज्य उत्तरदायी छैन । जनताको चुल्हो बलोस् या नबलोस् त्यो सरकारको समस्या होइन जस्तो गर्छन्, सरकारका मन्त्रीजीहरू । पिएचडी गरेका डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइरहँदा धेरै मान्छेको अपेक्षा थियो– बाबुराम बिलकुल अरू नेताभन्दा फरक छन् । यिनलाई मिडिया, अन्तर्राष्ट्रिय जगत् सबैले सहयोग पनि गरेकै हुन् तर मुलुकका अरू नेताभन्दा फरक चिज यिनले पनि जनतालाई दिएनन् । सत्तामा पुगेका बेला आफू केही गर्न नसक्ने अनि दोष अरूलाई दिने नेपाली राजनीतिका पुराना खेलाडीजस्तै बने यिनी पनि । गरिब जनताको दु:ख बुझ्ने, जनताको जीवनलाई नजिकबाट नियाल्ने भन्दै विभिन्न गाउँका किसानको घरमा बस्ने, खाने, डुल्नेजस्ता कस्मेटिक कार्यक्रमले जनताको दु:ख कम हुँदैन । यो सरकारले गरेका मुख्य दुई काम के–के हुन् भनेर सोध्दा धेरैले उत्तर दिन्छन्– एक महँगी र अर्को भ्रष्टाचार । वास्तवमा यो सरकारले पनि गरिब जनताको चुल्होलाई आहतबाहेक कुनै राहत दिन सकेन ।
जब जनताको चुल्होमै राहत छैन भने अन्य चिजमा के राहत मिल्ला । मुलुक संसारको फेलिएर स्टेट बन्न लागिसक्यो तर पनि हाम्रा नेताहरूलाई चेतना भएको छैन । नेपालीको चाडपर्व नजिकिँदै छ सरसामानको मूल्य बढ्दै छ । दिन प्रतिदिन हरेक चिजबिज छोइसक्नु छैन तर यसको नियन्त्रण गर्ने योजना सरकारसँग छैन । जसले जे सक्छ, त्यही गरिरहेको छ । त्यसैले यो देश चिसो चुल्हो हुनेहरूको होइन, तातो, सम्पन्न र पहुँचवालाको मात्र हो भन्ने भान नागरिकलाई परेको छ । यो मुलुक यस्तो भइसक्यो कि हरेक माग पूरा गर्न आन्दोलन गर्नुपर्छ । आन्दोलन गर्नु कसैको रहर होइन, यो बाध्यता हो । अन्दोलनमा तोडफोड त्यतिबेला हुन्छ, जतिबेला सुनुवाइ गर्ने निकायले आन्दोलनकारीका माग सुन्दैनन् । त्यसैले हिजो भोका नांगा गरिब जनताको पार्टी भन्ने एनेकपा माओवादीको नेतृत्वमा बनेको सरकारले पनि जनताको चुल्होको समस्या समाधान गर्ने योजना प्रस्तुत गर्न नसक्नु विडम्बनाको विषय हो । यो मुलुकका गरिब जनताको ठेक्का लिएको ठान्ने नेताहरूले केही दिनअघि थापाथलीका सुकुम्बासीप्रति गरेको व्यहार देखियो । त्यस आन्दोलनमा पम्फा भुषाल, रगुजी पन्तजस्ता चर्चित नेताहरूले सुकुम्बासी भनेका एउटा सरुवा रोग हो एचआइभीजस्तै । यसबाट टाढै रहनुपर्छ भन्ने व्यावहार ललितपुरमा सुकुम्बासी राख्न मिल्दैन भन्दै गरेको आन्दोलनबाट प्रस्ट हुन्छ । त्यहाँ उनीहरूले जस्तो व्यवहार प्रस्तुत गरे । त्यस्तो दृश्य हेर्दा जो कोही नेपालीको मन दुख्थ्यो तर कम्युनिस्ट पार्टी त्यसमाथि पनि सर्वहाराको मुक्तिका लागि हिँडेका भन्नेहरूबाट यस्ता व्यावहार प्रस्तुत हुनु भनेको जनताको चुल्होभन्दा सत्ता या पार्टीको स्वार्थ राजनीतिककर्मीका प्रमुख स्वार्थ बन्छन् ।
विद्यार्थी संगठनले आन्दोलनको आह्वान गरिरहेका छन् । जनताको चुल्होको आन्दोलन भने पनि जनताले चाहिँ यस आन्दोलनलाई खासै साथ दिएको देखिँदैन । पहिलापहिला विद्यार्थीले आह्वान गरे पनि यस्ता जनसरोकारका विषयमा जनताको सहभागिता उल्लेख्य हुनेगथ्र्यो तर अहिले विद्यार्थीलाई साथ दियो लगेर सिंहदरबारमा सम्झौता गरेर आन्दोलन सक्छन् भन्ने भान परिसकेको छ । त्यसैले यो देशमा चिसो चुल्हो हुनेको पक्षमा कसले आन्दोलन गरिदिने भन्ने एउटा जीवन्त प्रश्न हाम्रा सामु खडा भएको छ । अत: जनताको चुल्होमा राहत दिनसक्ने नीति, कार्यनीति हाम्रो देशका नेताहरूमा छैन भने यस्ता नेता र राजनीतक पार्टीको पछि जनताले लाग्नु बेकार हुनेछ ।
कष्क।चबमजष्पबप२नmबष्।िअयm
(लेखक अनेरास्ववियु केन्द्रीय शैक्षिक विभाग प्रमुख हुनुहुन्छ)

प्रतिक्रिया