आज मलाई बाल्यकालमा मनाइएको तिजको मीठो सम्झनामा आइरहेको छ । ‘दर त मझेरीबाट फुत्त निस्किन्छ ।’ मध्यरातमा दर खान हामी सबैलाई उठाएपछि मामाले अझ प्रस्ट पार्नुहुन्थ्यो– ‘हामी कुरेर बस्छौँ, राति १२ बजेपछि दर आफैँ मझेरीमा निस्किन्छ ।’ म त्यतिबेला सात–आठ वर्षकी हुँदी हुँ । मामाले भनेका कुरामा कत्ति शंका लाग्दैनथ्यो । छक्क पर्थें, तिज त कति रमाइलो, आफैँ दर निस्किने चाड । मनभोगको चामल भातले घर नै बास्ना आएको हुन्थ्यो । तरकारी पनि कति मीठो, दूध, दही, केरा, अचारको फरकफरक परिकार, मझेरीमा मिलाएर राखिएको हुन्थ्यो । अँगेनामा आगो पनि निभिसकेको हुन्थ्यो । अहिले सम्झन्छु, मामाले हामीलाई झुक्याउन दर पकाएपछि आगो निभाउनुहुन्थ्यो सायद । हाम्रो मामाघरमा पकाएको दरमा कहिल्यै मासुको परिकार हुँदैनथ्यो । मामाघरको हजुरआमाले भन्ने गर्नुहुन्थ्यो, ‘व्रत बस्ने मान्छेले माछा मासु खानु हुँदैन, बिटुलो हुन्छ ।’ दर खान उठेपछि हाम्रो निद्रा हराउँथ्यो । वल्लो पल्लो घरबाट पनि दिदी, सानीमा अनि मामाहरू जम्मा हुनुहुन्थ्यो । सबैजना भेट भएको रमाइलोमा शिरै लाउने श्रीफूल… अनि माइतीको सम्झना… र भगवान्लाई चढाउने प्रसाद, भेटीका बारेमा रचिएका गीत गाउनुहुन्थ्यो । म सानी थिएँ । नाच्न उत्तिकै रमाइलो लाग्ने ।
भोलिपल्ट बिहानै तिजमा आमाहरू पँधेरामा नुहाउन जानुहुन्थ्यो । दिनभर पानी पनि नखाई व्रत बस्नुहुन्थ्यो । अनि, पञ्चमीको दिन टोक्ने दतिउनको चाँजोपाँजो मिलाउन दिनभरजसो व्यस्त । पञ्चमीको दिन पनि दतिउन टोकेपछि भञ्ज्याङमा रहेको स्कुलको चौरमा गाउँभरका दिदीबहिनी जम्मा भएर पञ्चमी पूजा लगाइन्थ्यो । पहिलोपटक रजस्वला भएपछि मैले पनि त्यही स्कुलको चौरमा बसेर पञ्चमी पूजा लगाएको हुँ । मलाई यी बाल्यकालका तिज सम्झिँदा निकै भावुक बनाउँछ । नोस्टाल्जिक पनि हुन्छु । तर, अहिलेको परिवर्तित तिजको रहनसहनमा कुनै धार्मिक भावना नै पाउँदिन म । न त मेरो बाल्यकालको जस्तो आत्मीय निकटता । तिजमा कस्तो फेसन राम्रो, कसको तिज पार्टीको दरको मासुसहितको परिकार मीठो थियो ? यति मात्रै होइन, विवाहित दिदीबहिनी पनि ‘पोइल जान पाम’ जस्ता हाम्रो समाजमा उच्छृङ्खल मानिने शब्दमा रचिएका गीतमा नाच्दा रमाइलो महसुस गर्छन् । बदलिँदो तिज मनाउने प्रवृत्ति साँच्चिकै हिन्दू नारीहरूले मनाउने तिजको धार्मिक महत्त्वलाई जोगाउने छ त ?
धार्मिक दृष्टिकोणअनुसार तिज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निम्ति शिव र र्पावतीको उपासना र पूजा गर्ने पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्छ । यसलाई हरितालिका तिज भनिन्छ । धार्मिक मिथकअनुसार हिमालय पर्वतकी छोरी र्पावतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो । हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको र्पावतीले थाहा पाएर उनी भागेर जंगल गइन् र महादेवको तपस्या गरिन् । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्वीकार गर्नुपर्यो । यही संर्घषको सम्झनामा तिज मान्ने गरिन्छ । नारीलाई शक्तिशाली रूपमा व्याख्या गरिएको मिथकले पनि देखाउँछ । त्यसैले तिजलाई महिलालाई सशक्त देखाउने पर्वको रूपमा लिन सकिन्छ । हाम्रो परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरूलाई गरेका व्यवहार, भोग्नुपरेका दु:ख, नन्द, अमाजू, देवर र सासूको बुहार्तन माईतीको आँगनमा जम्मा भएर आफ्नो मनका पीडाहरू गीतर्माफत व्यक्त गर्ने चाड हो तिज । गीत संगीतले समाजका विकृतिलाई पनि चोटिलो रूपमा प्रहार गर्न सक्छ । तिजका गीतलाई शसक्त बनाउने हो भने समाजमा सकारात्मक परिवर्तनको दरिलो माध्यम पनि बन्न सक्ने देखिन्छ । सुरुका दिनमा नारी संर्घषको प्रतिमूर्तिका रूपमा मानिँदै आएको यो पर्व अहिले धार्मिक महत्त्वलाई बिर्सेर कथित सौभाग्यको रूपमा महँगा कपडा र गहनाहरू लगाएर भड्किलो रूपमा मनाउन थालिएको छ । तिजका गीतसंगीत पनि व्यापारिक हिसाबले उपभोक्तावादी मात्रै बन्दै गएको छ । हाम्रा समाजमा विकृति जन्माउने शब्दमा रचिएका गीतले नै प्राथमिकता पाउन थालेको छ । यसले हाम्रो समाजका विकृति त निम्त्याउँछ नै । आर्थिक हिसाबले पनि मध्यम तथा निम्न वर्गीय परिवारमा सिधै असर पारेको छ भने अर्कातिर अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई पनि बढवा दिँदै गएको पाइन्छ ।
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिज नारी संर्घषको प्रतीक हो । यसको महत्त्वलाई बुझेर तिज मनाउनुपर्छ । संगठित हुने नाममा विभिन्न संघ संस्थाले तिज मनाउँदा हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनु हुँदैन । तिजको नाममा बढ्दै गएको भड्किलोपनलाई आजैबाट रोकेर यसको महत्त्वलाई अझै उँचो पार्नुपर्छ । तिज मनाउने भनेको चार दिन हो । तिजलाई चार दिनसम्म मनाउँदा जति यसको महत्त्व बढ्छ, महिनाभर नै मनाउने प्रवृत्तिले तिजका नाममा उपभोक्तावादी संस्कारको मात्रै विकास गरेको छ । त्यसैले समाज परिवर्तनका लागि भनेर संगठित हुँदै आएका महिला दिदीबहिनी स्वयंले तिजलाई भड्किलो चाड होइन, धार्मिक मान्यतासहितको महिलालाई सशक्त बनाउने चाडका रूपमा मनाउनु जरुरी छ ।
प्रतिक्रिया