सीमा क्षेत्रमा तेल तस्करी बढयो

भैरहवा, ३१ भदौ । खुला नाकाको प्रयोग गर्दै सीमावर्ती भारतीय बजार नौतनवा तथा सुनौलीको पेट्रोल पम्पबाट तेल तस्करी बढेको छ । रूपन्देहीका विभिन्न पेट्रोल पम्पमा तस्करले तेल बेच्ने गरेको रहस्य खुलेको हो । नेपालको दोस्रो भन्सार नाका भैरहवा भन्सार नाकाबाट खुलेआम तेल तस्करी भइरहँदा पनि अनुगमन भएको छैन ।

शुक्रबार भारतले तेलको मूल्य बढाउनुभन्दा अघि प्रतिलिटर २३ रुपियाँ नेपाली बजारभन्दा भारतीय बजारमा तेल सस्तो पथ्र्याे । अहिले भारतीय बजारभन्दा नेपाली बजारमा तेलको मूल्य प्रतिलिटर १४ रुपियाँ ४० पैसा महंगो पर्ने गर्छ ।
सुनौली नाकाबाट तेलको कारोबारमा एउटा गिरोह नै लागेको समाचारस्रोतको दाबी छ । तेलमा फाइदा हुने भएपछि संरचनागत समूह बनाएर गिरोहले तेलको अवैध कारोबार गरिरहेको छ । करिब १७ वटा ट्रकले यस्तो कारोबार गरिरहेका छन् ।
एउटा ट्रकले एउटा टयाङ्की राखेर कारोबार गर्दा एक पटकमा तीन सय लिटर र दुईवटा टयाङ्की राखेर कारोबार गर्दा ६ सय लिटर ल्याउने गर्छ । यसरी ६ सय लिटर ल्याउँदा कम्तीमा आठ हजार चार सय रुपियाँ एकपटकमा फाइदा हुने भएपछि तेलको अवैध कारोबार फस्टाएको हो ।
खाली ट्रक भारतीय बजार नौतनवा र सुनौलीका पेट्रोल पम्पमा गएर तेल भरेर ल्याउने गर्छन् । तेल सीमावर्ती नेपाली बजार भैरहवा, वसन्तपुर तथा लुम्बिनीरोड र बुटवलरोड अवस्थित विभिन्न पेट्रोल पम्पमा बिक्री गर्ने गरेका छन् । यो अवैध कारोबार केही महिनापहिले पनि थियो तर रूपन्देहीका तत्कालीन एसपी रवीन्द्रनाथ रेग्मीले कडाइ गरेपछि तस्करी रोकिएको थियो । तर, झन्डै डेढ महिनासम्म रूपन्देही प्रहरी प्रमुख नभएको समयमा कारोबार फस्टाउन पुगेको स्रोतले बतायो । अहिले रूपन्देहीमा नयाँ प्रहरी प्रमुखका रूपमा हरिबहादुर पाल आए पनि उनको नजर यस सम्बन्धमा पुग्न सकेको छैन । उनको आगमनसँगै सीमा क्षेत्रमा तस्करी गर्नेले खुलेर कारोबार गर्न थालेका छन् ।
सीमा क्षेत्रबाट खुलेआम भइरहेको तेल तस्करीको सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलहियाले पनि खासै कडाइका साथ काम काम गर्न सकेको छैन । खाली ट्रकलाई कहिलेकाहीँ नियन्त्रणमा चेतावनी दिए पनि प्रहरीले थाहा पाउँदापाउँदै कारबाही गर्न नसक्नुमा प्रहरीको मिलोमतो भएको हुन सक्ने आशंका छ । इप्रका बेलहियाका इन्स्पेक्टर लीला लामिछानेले तस्करीको अनुसन्धान भइरहेको बताए ।
तस्करहरूले नेपालबाट जाँदा तेल टयाङ्की खाली बनाएर लैजाने र भारतबाट फर्कंदा भरिभराउ गरेर आउने गर्छन् । ट्रकमध्ये केहीले त डबल टयाङ्की पनि राखेको देखिन्छ । भैरहवाबाट खाली भारत जाने र खाली नै नेपाल फकिर्ने गरेका ती ट्रकले सवारी आवागमनमा समेत अफ्ठयारो पारेका छन् । यसरी विनाकामै रित्तै भारतीय बजारमा ट्रक आउने–जाने गरिरहँदा पनि भन्सार नाकामा बस्ने कर्मचारी, सुरक्षा निकाय मौन छन् । रूपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कडा नियमन गरी कारबाही गर्न निर्देशन दिइसकेको बताए । उनले भने, ‘मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइसकेको छु ।’

प्रतिक्रिया