आलस्यले ग्रसित प्रगतिशील साहित्य

समकालीन नेपाली गद्य लेखन र कवितामा राम्रो नाम चलेका लेखक गोविन्द वर्तमानको एउटै प्रकाशित पुस्तक हो– ‘सोह्र साँझहरू’, जसले पाठकमाझ राम्रो स्थान बनायो। कवितासंग्रह निकालिसकेका छैनन् उनले। कसैले ‘अब तपाईंको कवितासंग्रह पढ्न पाउनुपर्छ’ भन्यो भने उसले जोखिम मोलेर त्यो प्रश्न गरेको हुन्छ। झोँक्किएर, ‘तैँ निकाल् न’ भनिदिने सम्भावना छ। केही दैनिकमा साप्ताहिक लेखन र लेख–रचना सम्पादनमा मात्र केन्द्रित रहने वर्तमानसँग यसपटक गरिएको संवाद :
अहिले के लेख्दै हुनुहुन्छ ?
निबन्ध, समीक्षा र वैचारिक प्रकारका लेखहरू लेखिरहेको छु । एक वर्षअघि लेख्न थालेको उपन्यास एउटा घुम्तीमा पुगेर अड्किएको छ । भनौँ, उपन्यास लेखनको यात्रा सिर्जनशीलताको ट्राफिक जाममा फसेको छ ।
नयाँ कविता किन नलेख्नुभएको ? कविताले तपाईंलाई नपत्याएको हो कि तपाईंले कवितालाई ?
अकविहरू कवि भएर कवितालाई ध्वस्त पार्ने दुष्कर्ममा तल्लीन भएको देखेपछि बढी सचेत भएको हुँ, कविता लेख्दै नलेखेको होइन । आफ्नै उचाइमा पुग्ने प्रयत्नस्वरूप कविताकर्ममा उचाइको अन्वेषण गरिरहेको छु तर फेला परिसकेको छैन । कवितालाई मैले पत्याएको छु र मलाई लाग्छ कविताले पनि मलाई पत्याइरहेकै छ ।
सिंगो जीवन सम्पादन र साहित्यमा समर्पित गरेपछि यसलाई तपाईं कत्तिको उत्पादक वा अनुत्पादक क्षेत्र मान्नुहुन्छ ?
ऊर्जावान् तथा गम्भीर मानिसहरूका लागि साहित्य कहिल्यै पनि अनुत्पादक क्षेत्र हुँदैन ।
साहित्य र सत्ताको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ ?
साहित्य जहिले पनि सत्ताको प्रतिपक्षमा बसेर जनताको अन्तरमनलाई ध्यान दिने एउटा गम्भीर सचेतक हो । त्यसैले साहित्य र सत्ताको सम्बन्ध राज्यपक्ष र प्रतिपक्षको जस्तो हुन्छ । सत्ताले थोपर्ने सारा खराबीहरूविरुद्ध प्रत्याक्रमण गर्ने साहित्य एउटा प्रतिभाशाली योद्धा हो ।
तपाईं धेरै लेखकका पाण्डुलिपिको पहिलो पाठक बन्नुभयो र सम्पादन पनि गर्नुभयो । नेपाली लेखकको पहिलो ड्राफ्टमा भाषा र कन्टेन्टमा कत्तिको दम हुन्छ ?
नेपाली लेखकहरूलाई एउटै डालोमा हालेर मूल्यांकन गर्ने मूर्खता गर्न सकिन्नँ । मैले पढेका पाण्डुलिपिका लेखकहरू अधिकांश दम भएका ऊर्जावान् लेखकहरू नै थिए । उनीहरूका रचनाका अन्तरवस्तु र भाषामा उतिसारो समस्या थिएन । तर, केही दुर्बल लेखकहरू भने सबल हुँ भन्ने दम्भले ग्रसित भएर आफ्नो दुर्बलता प्रमाणित गर्न बजारमा आइसकेका छन् । त्यसरी बजारमा आएकाहरू बजारमाथि बोझ थोपर्दै पाठकको स्मृतिबाट समेत हराइसकेका छन् ।
देशमा सुरु भएको व्यापक राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रियामा साहित्यको स्वर निकै मधुरो सुनिन्छ नि ?
अविकसित र अल्पविकसित मुलुकका स्रष्टाहरूका निम्ति साहित्य सिर्जना गम्भीरतम् सामाजिक कार्य हो, व्यक्तिगत सोख वा लहडबाजी होइन । त्यसैले हाम्रोजस्तो मुलुकका स्रष्टाहरूले देश र जनताप्रति उत्तरदायित्वको भावनाले निर्देशित भएर साहित्य सिजर्ना गर्नुपर्दछ । तर, विडम्बना, हाम्रा अधिकांश साहित्यकारहरू त्यस्ता छैनन् । उनीहरू राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रियालाई राम्ररी बोध गर्ने चेष्टासमेत गर्दैनन् । यो प्रक्रियाभित्र आउने समग्र अभिभाराको दायरालाई उनीहरू राजनीतिक नेता– कार्यकर्ताको एकलौटी कार्यक्षेत्रका रूपमा बुझ्ने गर्दछन् र आफूलाई राजनीतिकर्मीहरूभन्दा पृथक ठान्दछन् । त्यसैले संक्रमणकालीन नेपालका जटिलताहरूलाई सूक्ष्म रूपले बुझेर ती जटिलताहरूलाई भेदन गर्न नेपाली साहित्यकारहरूले ध्यानै दिएका छैनन् । त्यसको परिणामस्वरूप राजनीतिक तथा सामाजिक रूपान्तरणको यत्रो खैलाबैला चलिरहँदा पनि यस विषयमा नेपाली साहित्यको स्वर मधुरो सुनिएको हो ।
अहिलेको कविताको केन्द्रीय स्वर के हो ?
अग्रगामी परिवर्तनको तीखो आकांक्षा नै अहिलेको कविताको केन्द्रीय स्वर हो । केन्द्रीय स्वरमा कोरस गायनजस्तै कविताले जातीय पहिचान र क्षेत्रीय स्वायत्तताको विषयलाई पनि वाणी दिएको छ ।
अहिलेको समयमा प्रगतिशील साहित्यको स्थितिलाई कसरी हेर्नुभएको छ ?
अहिलेको समयमा प्रगतिशील साहित्यको स्थिति उत्साहजनक नै छ । तर, नेपाली प्रगतिशील साहित्य पहिलेजस्तै अहिले पनि नवीन सोचसहित पृथक शैली र विषयका विविध आयामहरू खोज्ने आलस्य र दुर्बलताले ग्रसित छ ।
साहित्यका थुप्रै विधामध्ये हाम्रो सन्दर्भमा कुन बढी प्रभावकारी लाग्छ ?
उपन्यास विधा हाम्रो सन्दर्भमा बढी प्रभावकारी छ । एउटा सशक्त उपन्यासले एउटा देशभित्रको एउटा जीवन, एउटा जीवनका अनेकौँ आयामहरू र अनेकौँ समाजका अनेकौँ चरित्रहरूलाई पाठकसमक्ष सुन्दर प्रकारले प्रस्तुत गरिदिन सक्छ । अरू विधाले त्यही काम त्यही प्रकारले गर्न सक्दैन । त्यसैले नेपाली साहित्यका पाठकमा उपन्यासका पाठक सबभन्दा बढी देखिएका हुन् । पछिल्लो समयमा नारायण ढकालको प्रेतकल्प, राजन मुकारुङको हेत्छाकुप्पा, युग पाठकको उर्गेनको घोडा, बुद्धिसागरको कर्णाली ब्लुज र नयनराज पाण्डेको लू ले अत्यधिक चर्चा र प्रशंसा पाउनुको कारण पनि त्यही हो ।
दस वर्षे जनयुद्ध साहित्यका लागि उर्वर भूमि थियो, हाम्रो साहित्यले यसको उपयोग कुन ढंगले गर्‍यो ?
दस वर्षे जनयुद्धलाई नेपाली साहित्यले राम्ररी प्रतिविम्बित गर्न सकेको छैन । जनयुद्धमा सहभागीहरू र त्यसलाई टाढा बसेर हेर्ने द्रष्टाहरूले जनयुद्धका विविध पक्षमा साहित्य लेख्ने काम गरेका छन् । तर, ती त्यति गतिला र यथार्थसम्मत छैनन् । जनयुद्धमा सहभागीहरूले लेखेको साहित्यमा त्यसको पक्षमा महिमामण्डन गर्ने काम मात्रै भएको छ भने पर बसेर जनयुद्धलाई हेरेका वा छेउछाउमा रहेर त्यसको ताप अनुभव गरेका स्रष्टाहरूले लेखेको साहित्यमा यथार्थको अधुरो प्रतिविम्बन तथा त्यस्तै आँकलन गरेको पाइन्छ । अर्कोतिर, केही थोरै लेखकहरूले लेखेका थोरै साहित्यमा जनयुद्धलाई पूर्णत: विरोध र निषेध गर्ने विचार पनि आएको छ । तर, खुलस्त वास्तविकताचाहिँ के हो भने नेपाली समाजलाई सबभन्दा बढी झकझक्याइदिएको एउटा आमूल परिवर्तनकारी  घटनाका रूपमा आएको जनयुद्धका तीव्रगतिका उतारचढावहरूले साहित्यको निम्ति थुप्रै विषय उत्पादन गरिदिएका छन् । जनयुद्धको एक दशकमा नेपाली समाज आश्चर्यजनक ढंगले  अर्कै भएको छ । थुप्रै कमजोरीहरू हुँदाहुँदै पनि यसका केही सबलताहरू अकल्पनीय रूपले अग्रगामी दिशातिर सोझिएका छन् । यसबारे अझै धेरै लेख्न सकिन्छ । तर, नेपाली साहित्यमा अध्ययन र अनुसन्धान गर्ने तथा जोखिम उठाउने स्रष्टाहरूको दिक्कलाग्दो न्यूनताले गर्दा जनयुद्धको एक दशकलाई भित्रसम्म अवलोकन गरेर त्यसबाट प्राप्त यथार्थलाई साहित्यका विभिन्न कलेवरहरूमा रूपान्तरित गर्ने काम हुनै सकेको छैन ।
तपाईंको ‘सोह्र साँझहरू’ निबन्धसंग्रहले व्यापक चर्चा बटुल्यो । यो पर्यटकीय गाइड बुक हो कि नेपाली समाजले भोगेको युद्धको प्रतिविम्ब ?
पहिलो कुरा, सोह्र साँझहरू निबन्धसंग्रह होइन । जनयुद्धको नाममा भएको सशस्त्र द्वन्द्वमा राज्यपक्ष र विद्रोहीपक्षबाट पीडित आमनेपाली जनताको यथार्थ स्थिति अध्ययन गरेर लेखिएको यात्रासंस्मरणको एउटा सग्लो कृति हो । दोस्रो कुरा, ‘यो पर्यटक गाइड हो कि’ भनेर आशंका व्यक्त गर्ने तपाईं एकमात्र प्रश्नकर्ता हुनुहुन्छ । यस पुस्तकलाई राम्ररी पढ्नेहरूले त्यस्तो आशंका गर्नै सक्दैनन् । यो पुस्तकमा नेपाली समाजले भोगेको गृहयुद्धको प्रतिविम्बलाई भौगोलिक क्षेत्रहरूमा व्याप्त सामाजिक परिणतिको माध्यमबाट अवलोकन गरिएको छ । त्यति मात्र होइन, युद्धमा निर्वाह गरिनुपर्ने युद्धजन्य अनुशासनको कलात्मकता, जीवनमा व्याप्त हुने नवरस, पीडाको तरलता र पीडामा निहित प्रतिरोधका आवेगहरूले निर्माण गरेका सुन्दरताहरूलाई पनि यस पुस्तकले एउटा निश्चित उचाइमा पुगेर दर्शाउने क्षमता राखेको छ । सूचना संकलन र ग्रहणमा पत्रकारको कौशल, लेखन र प्रस्तुतिमा साहित्यकारको सीप र विचार प्रक्षेपणमा सामाजिक न्यायको चिन्तनद्वारा सोह्र साँझहरू नाउँको यो पुस्तक सिँगारिएको छ । त्यसैले प्रकाशनको लगभग एक वर्षसम्म यो पुस्तक व्यापक चर्चाको अधिकारी भएको हो । तेस्रो कुरा, यो दीर्घकालीन महत्त्वको साहित्यिक कृति हो । त्यस्तो महत्त्वलाई अझ बढी स्थापित गर्न पीडायुक्त घटना अध्ययनहरूका बीचमा बन्न गएका कापहरूमा सुस्केरा हाल्न र सुस्ताउन पाठकहरूका निम्ति ‘ब्रेथिङ स्पेस’का रूपमा सुन्दर हिमालहरू, आह्लादकारी गीतका प्रसंगहरू, विकट पहाडका उकाली ओरालीहरू, जमिन टेकेका भावुकताहरू र अन्य रमाइला प्रसंगहरूलाई पनि पुस्तकमा लिपिबद्ध गरिएको छ ।
तपाईंले भनेजस्तो यदि यो यत्रो महत्त्वको पुस्तक हो भने यसलाई पुरस्कृत गर्न कुनै पुरस्कार संस्था किन अग्रसर भएन त ?
सजिलो तरिकाले यो प्रश्नको उत्तर दिन म असमर्थ छु । तर, मलाई के थाहा छ भने दुई दशकयता नेपाली साहित्यमा कुनै पनि पुरस्कारद्वारा पुरस्कृत कुनै पनि कृतिभन्दा माथिल्लो स्थानमा सोह्र साँझहरूले आफ्नो स्थान बनाएको छ । नेपाली साहित्यमा प्रचलित पुरस्कार–प्रवृत्तिको आन्तरिक दशाबारे जानकारहरूले यो कुरालाई अस्वीकार गर्ने कुनै ठाउँ छैन ।
पछिल्लो समयमा पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको पुस्तक कुन हो ?
पछिल्लो समयमा मैले पढेका पुस्तकहरूमध्ये ओह्रान पामुकको पुस्तक ‘इस्तानबुल’ निकै प्रभावकारी पुस्तक हो । उनको अर्को पुस्तक ‘दि अदर कलर्स’ पनि उत्तिकै उल्लेखनीय छ । तर, ‘इस्तानबुल’ले पाठकलाई अझ बढी आन्दोलित बनाइदिने क्षमता राख्दछ । ती दुई पुस्तकहरूलाई सम्झँदा म नेपाली साहित्यको गैरआख्यान विधाको दुर्बलतालाई पनि सम्झन पुग्छु । पछिल्लो समयमा पढेको नेपाली साहित्यको पुस्तकमा चाहिँ निनु चापागाईंको पुस्तक ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ सबभन्दा बढी प्रभावकारी लागेको छ ।
पछिल्लो समयमा निबन्धबाहेक अन्य विधामा तपाईंले किन नलेख्नुभएको ?
अघि नै भनेँ, कविताको उचाइको अन्वेषण गरिरहेको छु । त्यसक्रममा थुप्रै कविता लेख्दै च्यात्दै गर्ने वाहियात धन्दामा पनि संलग्न भएँ । यसको अर्थ के पनि हो भने कविता लेखिरहेको छु । प्रकाशित गर्ने आँट जुराउन कविताभित्र गतिलो कविता जुराउने परिश्रममा लागेको छु । त्यसैले यसो हेर्दा निबन्धबाहेक अन्य विधामा नलेखेजस्तो देखिए पनि वास्तविकता ठीक त्यस्तै अलि होइन । म अझै कवितामा संलग्न छु । त्यसबाहेक, पुस्तक समीक्षाहरू पनि लेखिरहेकै हुनाले निबन्धबाहेक अरू विधामा नलेखेको भनिहाल्नु यथार्थसम्मत कुरा होइन ।
तपाईंलाई मदिरा र कवितामा कसले बढी लठ्याउँछ ?
दुई अतुलनीय विषयहरूलाई तुलना गर्न खोज्नु ठीक होइन । तैपनि, तुलना गर्ने नै हो भने भन्न सकिन्छ : जीवन्त मानिसलाई मदिरा र कविता दुवैले उत्तिकै लठ््याउँछ । फरक के छ भने मदिराको लठ्याइमा दैहिक पक्ष प्रवल हुन्छ भने कविताको लठ्याइमा आत्मिक पक्ष प्रवल हुन्छ । अर्को कुरा, मदिराको लठ्याइले मानसिक क्षयीकरणलाई पनि सघाइदिन सक्छ तर कविताको लठ्याइले मानसिक सबलीकरणलाई सघाउने काम गर्दछ ।
पछिल्लो कालमा मदन पुरस्कार पाएका पुस्तकहरूको मूल्य कति छ ?
झन्डै दुई दशकयता मदन पुरस्कार पाएका पुस्तकहरूमध्ये धेरैजसो पुस्तकको कलात्मक मूल्य मतिभ्रष्ट पुरुषको प्रतीक्षा गरेर साँझपख महानगरको फुटपाथमा उभिने आत्मिक र दैहिक दुवै रूपमा ओइलाएका युवतीको कामुकताभन्दा बढी अनाकर्षक छ ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया