हिमालयमा मेघ गज्र्यो

मधेस अधिकार एनजिओका नायक कहिले पीतपार्टीमा थिए । कहिले लालपार्टीमा गए । कहिले लालपाटीका नेताहरूलाई सघाए † कहिले तिनै नेताहरूसहित भारतभूमिमा गएर पकडा खाए । आफू तुरुन्तै छुटेर नेपाल आए † लालपार्टीका कमरेडहरू निकै वर्ष उतै थुनामा बसे ।
२०६४ साल वैशाख १० गते सरकारले मधेस अधिकार एनजिओसँग वार्ता गर्ने टोली गठन गरेको थियो । वैशाख ११ गते मधेस अधिकार एनजिओको काँचुलीभित्रबाट मधेस अधिकार पार्टी सुलुत्त बाहिर निस्कियो । त्यसको भोलिपल्ट मधेस अधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भयो । नवजात पार्टीका नायकले ६ दशकअघिदेखि क्रियाशील पार्टीका सर्वोच्च नेता प्रधानमन्त्री गिरिजाप्रसादसँग बराबरीको हैसियतले वार्ता गरे र आफ्ना सबै सर्त स्विकार्न बाध्य बनाए । त्यसको एक वर्ष नपुग्दै चैत २८ गते भएको संविधानसभा निर्वाचनमा मधेस अधिकार पार्टी चौथो भयो । त्यसका नायक गिरिजाप्रसाद नेतृत्वको संयुक्त सरकारका उपप्रधान र परराष्ट्रमन्त्री भए ।
हिमालयमा मेघ गज्र्यो– ‘मिसन एकम्प्लिस्ड †’ ‘लक्ष्य प्राप्त भयो †’
जनकपुरमा पनि मधेस आन्दोलन चर्कियो । एक साँझ हातमा लाठी–फाटा, भाला, फर्सा लिएका आन्दोलनकारीले माओवादीको कार्यालयमा आक्रमण गरे । त्यो कार्यालय यौटा एनजिओको थियो, जसलाई माओवादीले कब्जा गरेर भोगचलन गरेका थिए । तल र माथिबाट ढुंगा हानाहान भयो । हामी रमितेहरू भन्दै थियौँ– माओवादीका साथमा सधैँ बन्दुक, पिस्तोल हुन्छन् । अब माओवादीले गोली हान्छन् ।
आन्दोलनकारीले तलबाट आगो लाइदिए । माओवादी पिल्सिएर मर्ने थिए, भागेर बाँचे । त्यसपछि त्यो जुलुसले पहाडीले चलाएको ‘सिद्धार्थ शिशु सदन’ को पहाडी चौकीदारलाई कुटेर स्कुलमा आगो लाइदियो । अर्को दिन आन्दोलनकारीले चार किलोमिटर लामो जुलुस निकाले । पहाडीका होटेल र पसलहरू छानीछानी तोडफोड गरे । आगो लाए । सहरमा जम्मा यौटा थोत्रो दमकल थियो । आगो निभाउन जान लाग्दा बाटैमा रोकेर पानी खोलिदिन्थे । त्यस दिन पुलिससँग लुकामारी गरेर चालीस–पचासवटा पसलमा आगो लाए ।
पहाडीहरू किंकर्तव्यविमूढ भए । कुन बेला लुटिने हो, कुटिने हो, आगोमा परिने हो, मरिने हो भनेर थर्कमान भए ।
०००
काजी बाहरू बिहान नित्य जानकी मन्दिर दर्शन गर्न जान्थे । धोती–कुर्ताको पहिरनमा उनीहरू पूरै मधेसी देखिन्थे ।
कार्की बा मैथिली भाषा–संस्कृतिसँगै हुर्केका हुनाले उत्कृष्ट मैथिली बोल्थे । नेपाली पनि मैथिली लहजामा बोल्थे । पान चपाउँदै, खैनी माड्दै र बाँड्दै हिँड्ने बानी भएकाले उनलाई सबैले स्थानीय नै भन्थे । थापा बाको पनि मैथिली निकै राम्रो थियो । मैथिलीमा कुरा गर्थे ।
जानकी मन्दिरको चिया पसलमा बसेर काजी बूढाहरू र मधेसी बूढाहरू लामा गफ गर्थे । इतिहास, पुराण, राजनीति, समाज, संस्कृति र बुढेसकालका दु:ख र जवानीका सुखका कुरा । पहाडी र मधेसी आत्मीय थिए । आफन्त थिए । मधेस आन्दोलनपछि पराई भए ।
जनकपुर सहर जलिसकेको थियो । जनकपुरको आत्मा जलिसकेको थियो । आत्मीयता जलिसकेको थियो । त्यो बिहान म पनि जानकी मन्दिर गएको थिएँ र फर्कंदा बाहरूसँगै भएँ । बाटामा एक हूल केटाले छेकेर भने, ‘ए पहाडिया बुड्ढा, टोपी खोल् †’
बूढाहरू स्तब्ध भए । केटाहरूले दुवै बूढाका टाउकाबाट टोपी झिके र भुइँमा पछारेर पालैपालो लात हान्दै हिन्दीमा भने, ‘अब लगाओ तिमीहरूको टोपी † यही टोपी होइन, ढाई सौ सालदेखि मधेसको शोषण गर्ने ?’
पहाडीहरूलाई ज्यानको धम्की आउन थाल्यो ।
थापा काजीले भने, ‘म अब जनकपुर बस्दिनँ ।’
कार्की काजीले भने, ‘म पनि बस्दिनँ ।’
पोखरेल बाजे र मुखिया बाजे पासा खेल्न आएका थिए । खेल जमेन । पोखरेल बाजेले भने, ‘हाम्रो तीन पुस्तादेखि बिजलपुरामा बसोबासो छ । बाजेको पालामा यौटा मधेसीको बीउ थिएन । सात सालदेखि भारतबाट कोइरीहरू आउन लागे । अब त त्यहाँ पहाडीको बीउ खोज्नुपर्छ । म पनि बिजलपुरा बेचेर चुरेको घाँचमा बर्दिबासतिर बसाइँ सर्छु ।’ मुखिया बाजेको भनाइ पनि त्यस्तै थियो ।
एघार वर्षे माओवादी युद्धमा पहाड र मधेसका गाउँगाउँबाट भागेका जनता आफ्नो जिल्लाका सहर, सदरमुकाम र काठमाडौंमा स–साना घडेरी किनेर बस्न थालेका थिए । देशैभरि जग्गाको मोल अकासिएको थियो । जग्गा कारोबार चम्केको थियो । जनकपुरका दलालहरू मौकामा चौका हान्न थाले । भन्न लागे, ‘अब तिम्रो जग्गा कौडीको मोलमा पनि बिक्दैन, छिटै बेचिहाल ।’
थापाकाजी घर बेच्ने ग्राहक खोज्न लागे । नबिकुन्जेल हामीलाई घर कुरिदिनू भनेर गुन्टा बाँधेर हिँडे । दंगाअघि जनकपुरमा पनि जग्गाको मोल निकै अकासिएको थियो । दंगापछि एकदम घट्यो । दलालहरू त्यसमा पनि घटाउँथे । दलाललाई घरको ग्राहक खोज्न लाएर उनी हेटौँडा गएर त्यहाँको ‘भगोडा टोल’ भन्ने, लखेटिएकाहरू बसेको अनधिकृत बस्तीमा बस्न लागे । जनकपुरका केही रैथाने चुरे भावर इलाकाका बर्दिबास, लालगढतिर बस्न लागे । कार्कीकाजी काठमाडौं गए ।
त्यो सम्झँदा मलाई सपनाजस्तो लाग्छ । जीवन भनेको जीवनका घटनाहरूको समग्रता हो । जीवनका घटनाहरू सपना जस्ता हुने भएकाले नै जीवन ‘लीला’ भएको हो ।
०००
म बाटो हिँड्दै थिएँ । एक हुल मधेसी केटाहरूले मलाई घेरेर पटापट पिट्न लागे । हिन्दीमा भने, ‘जा तेरो पहाडमा । यहाँ किन बस्छस् हाम्रो मधेसमा ?’
मैले कुमारीलाई बताएँ । उनले भनिन्, ‘नर्सिङ होममा पनि पहिले जस्तो छैन । मिथिलासमेत मलाई घोचपेच गर्न लागेकी छ ।’
पहाडी महिला बाहिर निस्कन छाडे । पुरुष पनि मधेसी केटाको हुल देखे भने भाग्न, छलिन थाले । पहाडी परिवार घरमा ताल्चा लाएर सहर छाडेर भाग्न लागे । लटिपटी लिएर जान लागेकाहरू बाटामा लुटिए । बलात्कृत पनि भए ।
कुनैकुनै मधेसी सहृदयी, सहयोगी पनि थिए । तिनलाई साथ लाएर पहिले स्वास्नी, छोरी, बुहारीलाई रिक्सामा पन्ध्र–बीस किलोमिटर परसम्म पठाइदिन्थे । लोग्नेमान्छे रित्तै भाग्थे ।
एमाले नेता रामचन्द्र झा र पछि नेपालको पहिलो राष्ट्रपति हुने कांग्रेस नेता रामवरण यादवबाहेक कुनै मधेसी नेताले खुलेर मधेसीले पहाडीमाथि गरेको ज्यादतीको विरोध गरेन ।
जनकपुर सहरबाट ‘पहाडिया’ बिलाए । जनकपुरको रौनक मात्रै होइन, आर्थिक कारोबार पनि घट्यो । व्यापार घटेपछि मधेसी व्यापारीहरू पनि जनकपुर छाडेर काठमाडौंतिर लागे । जनकपुर पचास वर्षअघिको जस्तो उजाड भयो । लुटपाट यति मच्चियो कि दिउँसोको सुरक्षाका लागि पनि हरेक अफिसमा पुलिस बस्न लागे ।
०००
माओवादी र मधेस अधिकार एनजिओको आन्दोलनको सफलताले तराई र भित्री मधेसमा चुरे भावर, थारुवान समूहहरूलाई र किरात प्रदेशमा राई, लिम्बूलगायत अनेक समूहहरूलाई आत्मनिर्णयसहितको स्वायत्त राज्यका लागि हिंसात्मक संघर्ष चर्काउन प्रेरित गर्‍यो । सयौँ जातजाति र भाषाभाषीहरू देशमा आफ्नो अंश खोज्न लागे । सबभन्दा ठूलो जनसंख्या भएका, अन्तरिम संविधानले ‘अन्य’ भनेका नेपालीभाषी छेत्री, बाहुन, ठकुरी, दशनामी, दलित, पिछडाहरू पनि आफ्नो पहिचान खोज्न चलमलाउन लागे ।
मैले मन्थलीमा माओवादी र सेनावादी रापताप भोगेको थिएँ । पहाडमा यौटा माओवादी थियो । मधेसमा अनेक माओवादी रहेछन् । माओवादीबाटै बनेको जनतान्त्रिक मोर्चा भन्ने मधेसी माओवादी रहेछ । त्यसमाथि टाइगर्स, कोब्रा, बागी, किलर्स, मोर्चा, परिषद्, सेना, आर्मीजस्ता नामधारी अनेकौँ शस्त्रधारी समूह रहेछन्, जसको आ–आफ्नै हत्या–हिंसा, चन्दा आतंक, लुट र राज्य रहेछ । पहाडी र मधेसी माओवादीले एक–आर्कालाई मार्दा रहेछन् । मधेसी माओवादीले गैरमाओवादी पहाडीलाई पनि मार्दा रहेछन् । मधेसी–मधेसी सशस्त्र समूहहरूबीच पनि मारामार रहेछ । जसले जसलाई सक्यो त्यसलाई मार्‍यो, अपहरण गर्‍यो र पैसा कमायो † जनताको ज्यान भुसुनाको जस्तो भएछ । ठूला नेताहरू ‘महान् ट्रान्जिसन यस्तै हुन्छ, महान् जनताले सहनुपर्छ’ भनेर भाषण गर्थे । म मन्थलीमा जस्तो आँखी नभएकाले ओझेलमा रहेर जसरी–तसरी गुजारा गरिरहेको थिएँ ।
जगतजननी जानकी माताको शरण पर्न आएका पहाडीहरू जनकपुर रित्तो पारेर हिँडेपछि मैले सोधेँ, ‘कुमारी, हामीकहाँ जाने ? सबैले आ–आफ्ना गँुड पहिल्याए होलान् । सबैले आ–आफ्ना नसनाता पहिल्याएर गए होलान् । हाम्रो गँुड कहाँ छ ? थालथलो कहाँ छ ? हाम्रो जरो कहाँ छ ?’
‘कतै छैन, शरद कतै छैन । विराटनगरमा छैन । सैलुङमा छैन । मन्थलीमा गुँड लाउन खोजेको, भएन,’ कुमारीले भनिन्, ‘मधेस हाम्रो पनि हो । जे भए पनि जनकपुरबाट नभाग्ने †’ म झोक्राइ बसेँ ।
जीबाले भनेको सम्झेँ– अघि हिमालयमा मेघ गर्जन्थ्यो, बृहदारण्यक उपनिषद् संस्कृतमा भन्थ्यो—
….
त्यो यौटै अक्षरको अर्थ पात्रअनुसार फरक हुन्थ्यो ।
मानवका लागि द– दत्त : दान देऊ ।
दानवका लागि द– दयध्वम् : दया गर ।
देवताका लागि द– दाम्यत : (वासना) दमन गर ।
ॐ शान्ति: शान्ति: शान्ति: ††
०००
मलाई लाग्यो, अहिले पनि हिमालयमा मेघ गर्जन्छ । तर, अरू भाषामा अरू नै कुरा बोल्छ । भन्छ— ‘मिसन एकम्प्लिस्ड †’
अहिले पनि त्यो यौटै अक्षरको अर्थ पात्रअनुसार फरक हुन्छ ।
(घिमिरेको प्रकाशोन्मुख उपन्यास ‘सकस’बाट)

प्रतिक्रिया