उच्चस्तरीय समिति गठन गर्न माग

काठमाडौं, २९ भदौ । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा वर्तमान कायममुकायम कार्यकारी निर्देशक  महेन्द्रलाल श्रेष्ठसहित बहालवाला उच्च अधिकारीसमेत मुछिएपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग बढेको छ । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा श्रेष्ठसहित बहालवाला उच्च अधिकारीहरूसमेत संलग्न भएको प्रतिवेदन सार्वजनिक भएपछि प्राधिकरणभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग बढेको हो ।
प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले ०६४ सालपछि नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा श्रेष्ठसहित बहालवाला उच्च अधिकारीहरूसमेत संलग्न रहेको प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा प्राधिकरण वितरण तथा ग्राहक पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा र पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्ट तथा ग्रिड विकासका महाप्रबन्धक गणेशप्रसाद राजसमेत संलग्न रहेको उल्लेख छ । सबै उच्चाधिकारी नै मुछिएपछि अब उच्चस्तरीय समिति बनाउनुको विकल्प नरहेको अधिकारीहरू बताउँछन् ।
प्राधिकरण सञ्चालक समितिको निर्देशनमा गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीलाई कारबाहीका लागि प्राधिकरण वितरण तथा ग्राहक पूर्वका महाप्रबन्धक भट्टको संयोजकत्वमा समिति गठन गरेको थियो । तर, भट्ट स्वयं गुणस्तरहीन ट्रान्सफर्मरमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पन्तको संयोजकत्वमा रहेको उपसमितिले ट्रान्सफर्मर निरीक्षणका लागि गएका कर्मचारीलाई प्रत्यक्ष दोषी र फाइल मूल्यांकन, सदरलगायत गर्नेलाई अप्रत्यक्ष दोषी देखाइएको छ ।
प्रतिवेदनमा पूर्वकार्यकारी निर्देशकहरूलाई समेत दोषी देखाइएकाले उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र कारबाही गर्न सक्ने भन्दै अख्तियारलाई प्राधिकरणले फाइल पठाइसकेको छ । निरीक्षणमा मात्र गएका कर्मचारीसमेत अहिले हाकिमहरूलाई उम्काएर आफूहरूलाई मात्र बलिको बोको बनाउन खोजेको भन्दै आक्रोशित बनेका छन् । चिनियाँ कम्पनीहरूले टेन्डर उल्लेख भएअनुसार नै सबै ट्रान्सफर्मर प्रतिस्थापन गर्छु भन्दा बेवास्ता गरेर आफूहरूलाई मात्र कारबाहीको भागीदार बनाउन खोजेको उनीहरूको गुनासो छ ।
गत २५ चैतमा प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न बनेको समितिले ०६४ सालयता ल्याएका करिब साढे ६ हजार ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीलगायत मार्फत आयात गरिएका ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटाएपछि त्यसबारे गत १५ भदौमा सौर्य दैनिकले फोटोसहित समाचार छापेको थियो ।
हुवेईको टोली नेपालमा
ट्रान्सफर्मर नेपाल पठाउँदा बदमासी गरेको स्विकारेको चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीका महाप्रबन्धकको नेतृत्वमा टोली नेपाल आएको छ । टोली प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गरी टेन्डरअनुसार नै ट्रान्सफर्मर प्रतिस्थापन गर्न तयार रहेको बताएका नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण शाखा पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया