पूर्व–पश्चिम राजमार्गमा ट्रमा सेन्टर चलाइन्छ : मन्त्री महतो

काठमाडौं, २९ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले दुर्घटनाबाट घाइते भएकाको उपचारका लागि पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने बताएका छन् । वीर अस्पताल परिसरमा निर्माण भइसकेको इमरजेन्सी एन्ड ट्रमा सेन्टर (आकस्मिक एवं दुर्घटना सेवा केन्द्र) चार वर्ष बिते पनि सञ्चालनमा आउन नसकेका बेला मन्त्री महतोले थप ट्रमा सेन्टरमा चलाउने योजना सुनाएका हुन् ।
मन्त्रालयले बिहीबार आयोजना गरेको ‘सडकको अवस्था र सडक दुर्घटना’ विषयक कार्यक्रममा मन्त्री महतोले दुर्घटनामा परेका व्यक्तिको सहज उपचारका लागि उच्च प्रविधियुक्त तथा दक्ष जनशक्तिसहितको थप ट्रमा सेन्टर पूर्व–पश्चिम राजमार्गमा खोलिने बताए । उनले वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टर भने कहिलेसम्ममा सञ्चालनमा आउने भन्नेबारे भने स्पष्ट पारेनन् ।
भारत सरकारले अस्पताल परिसरमा बनाइदिएको दुई सय शय्याको उक्त ट्रमा सेन्टर मन्त्री महतो र ट्रमाका नवनियुक्त निर्देशक डा. अशोक बज्राचार्यकै कारण सञ्चालनमा आउन नसकेको आरोप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले लगाउँदै आएको छ । प्रतिष्ठानले ट्रमा सेन्टर सञ्चालनको तयारी गरेका बेला मन्त्री महतो र निर्देशक बज्राचार्यले न्याम्सबाट छुट्टयाएर सरकारले चलाउने निर्णय गरेको थियो । ट्रमाका लागि दक्ष चिकित्सक प्रतिष्ठानअन्तर्गतको वीर अस्पतालमा भएको र सरकारले ट्रमालाई छुट्टयाएकाले प्रतिष्ठानले जनशक्ति उपलब्ध नगराउने बताएपछि सञ्चालनमा आउन सकेको छैन ।
बिहीबारको कार्यक्रममा मन्त्री महतोले वीर परिसरमा रहेको ट्रमालाई चाँडै सञ्चालनमा ल्याउने र थप दुई स्थानमा ट्रमा सञ्चालन गर्ने बताएपछि स्वास्थ्यका कर्मचारीले ‘भएकै ट्रमा सञ्चालनमा ल्याउन नसक्नेले फेरि थप ल्याउँछु भनेर भाषण गरेको’ भन्दै कुरा काटिरहेका थिए ।
महतोले सुरक्षित सडक र कन्डिसनका सवारीसाधन नभएकै कारण दुर्घटनामा मानवीय क्षति बढेको भन्दै ट्रमा सेन्टर नहँुदा घाइतेले उपयुक्त उपचार नपाएको बताए । उनले भने, ‘सडक विस्तारसँगै दुर्घटना बढेको छ । दुर्घटना रोक्न सबै पक्ष लागिपर्नु पर्छ ।’
भौतिक योजना तथा यातायात सचिव तुलसीप्रसाद सिटौलाले उपत्यकामा सडक दुर्घटनामा कमी आए पनि बाहिर दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको उल्लेख गर्दै त्यसलाई रोक्ने उपायमा छलफल हुनुपर्ने बताए । सचिव सिटौलाले दुर्घटनाको मुख्य कारक पुराना सवारीसाधन रहेको भन्दै ती विस्थापित नगरी समस्या समाधान नहुने स्पष्ट पारे ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी गणेशराज राईले उपत्यकामा दुर्घटनाको संख्यामा कमी आए पनि बाहिर भने बढिरहेको बताए । डिआइजी राईले सडक र सवारीका लागि सरकारले उचित मापदण्ड नबनाउँदा यस्तो अवस्था भएको धारणा व्यक्त गरे । प्रत्येक दिन पाँचदेखि सातजनाले दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दैै राईले त्यसलाई रोक्न सरकारले कडा नीति बनाउनुपर्ने बताए ।

प्रतिक्रिया