अर्मेनिया चेस ओलम्पियाड च्याम्पियन

इस्तानबुल, २५ भदौ । टर्कीमा भएको चेस ओलम्पियाडको उपाधि अर्मेनियाले जितेको छ । अन्तिम चरणको खेलमा हंगेरीलाई २.५–१.५ ले पराजित गरेपछि अर्मेनिया विजेता बनेको हो । अर्मेनियाले १९ म्याच प्वाइन्ट जोड्न सफल भयो । १० चरणको समाप्तिमा अग्रता लिएको चीन अन्तिम चरणमा युक्रेनसँग ३–१ ले पराजित भयो । रुसले जर्मनीलाई ३–१ ले पराजित गर्‍यो । रुस १९ अंक भए पनि स्वन बर्गरको आधारमा दोस्रो भयो । युक्रेन तेस्रो र चीन चौथो भए । महिलातर्फ समान १९ अंक भएका रुस पहिलो र चीन दोस्रो भए । १८ अंक भएको युक्रेन तेस्रो भयो । खुलामा कमजोर प्रदर्शन गर्दै ३५औँ स्थानमा सीमित भारत महिलामा चौथो भयो ।
प्रतियोगितामा ९ अंक जोडेको नेपाल ११३आँै भयो । अन्तिम चरणमा नेपालले केन्यालाई
२.५–१.५ ले पराजित गरेको छ । नेपाललाई जित दिलाउने क्रममा शीर्ष वरीयताका खेलाडी केशव श्रेष्ठ र यु–१९ च्याम्पियन रूपेश जयसवालले सानदार प्रदर्शन गरे । जितसहित नेपालको म्याच प्वाइन्ट ९ भएको छ ।
केशवले अनरेटेड हिन्ता वितिन्जीलाई पराजित गरे भने रूपेशले मागाना बेन्जामिन (२०३२) लाई पराजित गरे । प्रचण्ड मालाकारले एन्टोनी जोसेफ (२०६५) लाई बराबरीमा रोके । राष्ट्रिय च्याम्पियन मनीष हमाल भने गोही मेनुलसँग पराजित भए ।
श्रेष्ठको खेल बराबरीको अवस्थामा रहे पनि ३२आँै चालमा विपक्षीले गरेको गल्तीको फाइदा उठाउँदै एउटा सिपाहीको फाइदा लिए । ४७आँै चालमा जित हात पारेका केशवले १० चरणमा ६.५ स्कोर गरे । लन्डन सिस्टममा खेलेका रूपेशले २४औँ चालमा सिपाही गुमाए पनि २८आँै चालमा फिर्ता लिए । त्यसपछि लगातार विपक्षीलाई दबाब दिएपछि उनले ५३आँै चालमा खेल आफ्नो पक्षमा पारे । उनले १० चरणमा ६ स्कोर गरे । ८२आँै चालमा बराबरी गरेका प्रचण्डले ८ खेलमा ४ स्कोर गरे । दीर्घराज जोशीले ५ खेलमा १.५ स्कोर गरे । प्रतियोगितामा नेपालले उपलब्धिको रूपमा प्रचण्ड मालाकार र रूपेश जयसवाल क्यान्डिडेट मास्टर भएका छन् । एजेन्सी

प्रतिक्रिया