आन्दोलन गरे कुट्ने सिडिओको चेतावनी

वीरगन्ज, २२ भदौ । औद्यौगिक प्रदूषण नियन्त्रणको माग गर्दै आन्दोलनमा रहेका स्थानीयवासीलाई पर्साका सिडिओ शम्भु कोइरालाले कुट्ने धम्की दिएका छन् । प्रदूषणविरुद्ध आन्दोलन गर्दै आएका वातावरण तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष दीपेन्द्र पटेललाई सिडिओ कोइरालाले कुट्ने र थुन्ने धम्की दिएका हुन् ।
बुधबार औद्योगिक प्रदूषणविरुद्ध स्थानीयवासीले शान्तिपूर्ण जुलुस निकाल्नुअघि स्थानीय प्रशासनलाई जानकारी दिन सिडिओ कोइरालालाई अध्यक्ष पटेलले टेलिफोन गरेका थिए । सिडिओ कोइरालाले टेलिफोनमै अध्यक्ष पटेललाई थुन्ने र कुट्ने धम्की दिएका हुन् । पटेलले बुधबार बिहान मोबाइल नम्बर ९८४५५१००२० बाट सिडिओ कोइरालाले प्रयोग गरिरहेको सरकारी मोबाइल नम्बर ९८५५०७७७७७ मा फोन गरेका थिए । फोनमा सिडिओ कोइरालाले आन्दोलन स्थगन नगरे थुन्ने र कुट्ने धम्की दिएको अध्यक्ष पटेलले सौर्यसँग बताए । अध्यक्ष पटेललाई फोनमा दिएको धम्कीको अडियो रेकर्ड सौर्यसँग सुरक्षित छ ।
बाराको लिपनीमालमा रहेका चाचान ग्रुपसहितका आधा दर्जन उद्योगले फैलाएको प्रदूषण नियन्त्रण माग गर्दै आसपासका चार गाविसका बासिन्दा स्थानीय समिति गठन गरेर आन्दोलित छन् । बिहीबार सिडिओ कार्यालयमा भएको वार्तामा पनि सिडिओ कोइरालाले अध्यक्ष पटेलसहितका पदाधिकारीलाई पुन: धम्क्याएका थिए । वार्तामा सिडिओ कोइरालाले आन्दोलन स्थगन नगरे दमन गरेर आन्दोलन दबाउने धम्की दिए । वार्तामा पटेललाई लक्षित गर्दै सिडिओ कोइरालाले भने, ‘भाइ, तिमीलाई थाहै छ, मधेस आन्दोलनमा म नै यहाँ सिडिओ थिएँ, कस्तो दमन गरेको थिएँ,’ उनले थपे, ‘तिमीहरूले चक्काजाम गर्‍यौ भने हाम्रो दमन सुरु हुन्छ ।’ वार्तामा सिडिओ कोइरालाले धम्क्याएर निर्णय पुस्तिकामा हस्ताक्षर गर्न लगाएको अध्यक्ष पटेलले सौर्यसँग बताए । सिडिओ कोइरालाले चाचान ग्रुपका उद्योगले कुनै किसिमको प्रदूषण नफैलाएको दाबी गरे । वार्तामा समितिका अध्यक्ष पटेलसहितका अन्य पदाधिकारी, चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचान र सिडिओ कोइराला सहभागी थिए । सिडिओ कोइरालाले आन्दोलन रोक्ने धम्की दिए पनि आफूहरूले अस्वीकार गरेकाले बिहीबारको वार्ता विनासहमति टुंगिएको अध्यक्ष पटेलले जानकारी दिए ।
वातावरण तथा पर्यावरण संरक्षण समितिले शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन गर्दै छ । शुक्रबार त्रिभुवन राजपथअन्तर्गत बाराको  सुखचैनामा दुई घन्टा चक्काजाम गर्ने अध्यक्ष पटेलले बताए । दोस्रो चरणको आन्दोलनअन्तर्गत २४ भदौदेखि २६ भदौसम्म त्रिशक्ति सिमेन्ट उद्योगका अगाडि ७२ घन्टे रिले अनशनमा बस्ने समितिले घोषणा गरेको छ । माग पूरा नभए २७ भदौदेखि आमरण अनशनमा नै बस्ने अध्यक्ष पटेलले बताए ।
लिपनीमाल–८ मा चाचान ग्रुपका त्रिशक्ति सिमेन्ट उद्योग, नारायणी आयल रिफाइनरी उद्योग र नारायणी दाल उद्योग, रुँगटा ग्रुपका ओम चावोसती मिल, दाना उद्योग, मैदा उद्योग तथा दुगड ग्रुपका अमृत घ्यू उद्योग सञ्चालित छन । ती उद्योगबाट निस्कने धुवाँ, धुलो, छाई, प्रदूषित पानी र ध्वनिप्रदूषणका कारण पर्सा र बाराका एक दर्जन गाउँका झन्डै २० हजार स्थानीयको दैनिकी कष्टकर बनेको छ । स्थानीयवासी सबैभन्दा बढी चाचान ग्रुपका सिमेन्ट, दाल र रिफाइनरी उद्योगको प्रदूषणबाट पीडित छन् ।
चाचान ग्रुपका उद्योगको प्रदूषणविरुद्ध स्थानीवासी वातावरण तथा पर्यावरण संरक्षण समिति नै गठन गरेर तीन महिनादेखि आन्दोलनमा छन् । तर, स्थानीयको गुनासो र दुखेसो अझैसम्म उद्योगले सुन्न सकेको छैन । बरु उल्टै प्रदूषणविरुद्ध उत्रिएका स्थानीयमाथि उद्योग व्यवस्थापनले प्रहरी र प्रशासनको आडमा दमन गर्दै आइरहेको छ ।

सिडिओ शम्भु कोइराला र अध्यक्ष दीपेन्द्र पटेलबीच बुधबार भएको टेलिफोन वार्ता ।

दीपेन्द्र    : सर, वातावरण तथा पर्यावरण संरक्षण समितिबाट   आज हाम्रो शान्तिपूर्ण विरोध र्‍याली आउँदै छ, १ बजेसम्म           सिडिओ कार्यालयमा पुग्छ सर, सर त्यही जानकारी          गराउन फोन गरेको ।
सिडिओ     : जिल्ला प्रशासन किन आउनुपर्‍यो त ?
दीपेन्द्र     : हजुर ?
सिडिओ     : जिल्ला प्रशासनमा किन आउनुपर्‍यो भन्या † जनतालाई          दु:ख दिन ?
दीपेन्द्र     : सर, जनताको आवाज पुर्‍याउनुपर्‍यो नि त हजुरहरू निर ।
सिडिओ : हैन आवाज त, त्यो चाचानको भन्दा प्रदूषण गर्ने अरू      छन्, अरूकोमा ध्यान नदिएर किन चाचानको मात्रै पछि लागेको ?
दीपेन्द्र     :    हजुर ?
सिडिओ     : हैन, चाचान ग्रुपभन्दा अरू ग्रुपले प्रदूषण बढी गर्‍या छ, त्यसमा नलागेर किन         यसमा मात्रै लागेको तपाइँहरू ?
दीपेन्द्र     : हैन सर, उनीहरूले साह्रै दमन गर्‍यो नि हामीमाथि ।
सिडिओ     : दमन गर्‍यो भनेर तपाईंहरूले बहाना बनाएको ? तपाईंहरूलाई पैसा चाहियो ?       सिमेन्ट चाहियो ? त्यही भएर लाग्या ?
दीपेन्द्र     : छैन सर, त्यस्तो हैन ।
सिडिओ     : दलाली गर्‍या ? दलाली ?
दीपेन्द्र     : छैन सर ।
सिडिओ     : दलालहरूलाई कुट्ने नीति छ है हाम्रो । जोगिएर बस्नु है, जोगिएर बस्नु ।
दीपेन्द्र     : हुन्छ सर, दलाललाई कुट्नुस् तर हामीले दलाली गर्‍या छैन, दलाललाई कुट्नैपर्छ ।
सिडिओ     : हो, दलाललाई कुट्ने नीति छ है हाम्रो, जोगिएर बस्नु ।

प्रतिक्रिया