दोश्रो किस्ता रकम भदौंमा देउ

काठमाडौं, २१ भदौ । स्वैच्छिक अवकास रोजेका माओवादीका पूर्व लडाकुले भदौ मसान्तभित्रै दोश्रो किस्ताको रकम उपलब्ध गराउन विशेष समितिसमक्ष माग राखेका छन् ।
समितिको सचिवालय बानेश्वरमा आज ज्ञापनपत्र बुझाउँदै पूर्व लडाकुले माग गरिएको समयभित्र रकम नदिए चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिए । कात्तिक दोश्रो हप्तादेखि रकम भुक्तानी गर्ने समितिको निर्णयप्रति असहमति जनाउँदै पहिलो र दोश्रो चरणमा अवकास लिएका पूर्व लडाकुले अन्य ८ वटा माग पनि राखेका छन् ।
सचिवालय संयोजक बालानन्द शर्मालाई बुझाइएको ज्ञापनपत्रमा जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई औषधि उपचार र भरणपोषणको व्यवस्था राज्यले गर्नुपर्ने मागसमेत राखिएको छ ।
घाइते अपाङ्ग, बेपत्ता र शहीद परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्थासँगै आश्रित परिवारबाट कम्तिमा एकजनालाई रोगजारको व्यवस्था गर्नुपर्ने, ४ सय ४६ जना घाइते तथा अपाङ्गलाई निश्पक्ष छानविन गरी जीवन निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने पूर्व लडाकुहरुको माग छ ।
बटालियन सह कमाण्डर भक्तराज थापाको नेतृत्वमा तेज दोङ, चुडाबहादुर खड्कालगायत स्वयच्छिक अवकासमा गएका पूर्व लडाकुले माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
क्यान्टोनमेन्टमा रहेका हतियार संग्रहालयमा राख्नुपर्ने, अवकास लिएका लडाकुलाई स्थायी रुपमा व्यवस्थापन गर्नुपर्ने पनि माग उनीहरुले राखेका छन् ।

प्रतिक्रिया