डाक्टर नहुँदा सेवाग्राही मारमा

धनकुटा, २१ भदौ । जिल्ला अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामी मारमा परेका छन् ।

तीनजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा एउटा पनि डाक्टर नहुँदा सेवा पूर्णरूपमा प्रभावित भएको हो । अस्पतालका दरबन्दीमा रहेका एक मात्र डाक्टर नारायण ओझा पनि तीन महिनाअघि सरुवा भएपछि अस्पताल डाक्टरविहीन भएको हो ।
अस्पतालमा छात्रवृत्तिमा स्वास्थ्य विभागबाट आएका डाक्टरका भरमा अस्पताल सञ्चालन हुँदै आएको छ । दक्ष डाक्टरको अभावमा अस्पतालमा रहेका भिडियो एक्सरे मेसिन करिब एक वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा सेवा भर पर्दो नभएपछि पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटाका बिरामी महँगो मूल्य तिरेर धरान, विराटनगरलगायत सहरमा जानुपर्ने बाध्यता छ ।
जिल्ला अस्पतालमै डाक्टर नभएपछि जिल्लास्थित स्वास्थ्य केन्द्रमा डाक्टर हुने कुरै भएन । प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजार, प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरमा लामो समयदेखि डाक्टर छैनन् । ग्रामीण भेगका बिरामी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको छ । ती प्राथमिक स्वास्थ्य केन्द्र अहेव र अनमिका भरमा सञ्चालन हुँदै आएका छन् ।
दूषित पानी र मौसम परिवर्तनका कारण जिल्ला अस्पतालमा मात्र दैनिक दुई सय बिरामी ओपिडीमा उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा दैनिक ६० बिरामी आउने गरेको डा. धिरज ताम्राकारले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख भानु याङ्देनले दरबन्दी अनुसारका दक्ष डाक्टर नभए पनि छात्रवृत्तिका डाक्टर रहेकाले स्वास्थ्य सेवा दिइँदै आएको बताए । उनले दक्ष डाक्टरका लागि स्वास्थ्य विभागमा पहल भइरहेको छ । अस्पतालमा एमबिबिएस छात्रवृत्तिका डाक्टर सुवासचन्द्र सुवेदी, धिरज ताम्राकार र जीवन थापा कार्यरत छन् ।

प्रतिक्रिया