खेलाडी परिवारद्वारा सामूहिक आत्मदाहको चेतावनी

रौतहट, १९ भदौ । २० असार ०६८ बिहीबारको साँझ रौतहट सदरमुकाम गौर–८ मा गोली हानी हत्या गरिएका अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास वैरागीको हत्या भएको १४ महिना बितिसक्दा पनि राज्यले पीडित परिवारलाई कुनै सहयोग गरेको छैन ।
राज्यले पीडित परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै नेपाल खेलकुद महासंघ रौतहटले मंगलबार पूर्वपश्चिम (महेन्द्र) राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा आधा घन्टा चक्काजाम गरेको छ । गत ४ असारमा रौतहटको सदरमुकाम गौरको अति व्यस्त स्थान कर्मचारी मिलन केन्द्रनजिक अज्ञात समूहले गोली हानी वैरागीको हत्या गरेको थियो । फितलो सुरक्षा व्यवस्थाका कारण सो दिन अपराधीहरूले प्रहरीलाई चुनौती दिँदै वैरागीमाथि नाइन एमएमको पेस्तोलले नजिकैबाट गोली हानेका थिए । पिठयुँमा लागेको गोलीले वैरागीको मुटु छेडेपछि गौर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । हत्यापछि वैरागी परिवारलाई राज्यले हालसम्म कुनै किसिमको राहत नदिँदा उनीहरू विचल्लीमा परेका छन् ।
सन् १९९९ मा नेपालमा भएको आठौँ साफ खेलकुदमा कुस्तीतर्फको खेलमा उपेन्द्रदास वैरागी (यादव) ले कांस्यपदक जितेका थिए । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलगायत विभिन्न व्यक्ति तथा संस्थाले उनको सम्मान गरेका थिए । यसै क्रममा ४ पौष ०५६ मा उनलाई गोरखादक्षिणबाहुबाट पनि सम्मान गरिएको थियो ।
मृतक वैरागीका दुई छोरा र एक श्रीमती छन् । नेपाल खेलकुद महासंघ रौतहटले मंगलबार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म सांकेतिक रूपमा चक्काजाम गरेर राज्यको ध्यानाकर्षण गराएको जिल्ला अध्यक्ष बाबुराम दाहालले बताए । रौतहटको प्रेमपुर गोनाही गाविस–१ घर भएका वैरागीलाई सहिदसरह क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने, वैरागी हत्याकाण्डको न्यायिक छानबिन गर्नुपर्ने, वैरागीका दुई छोरालाई राज्यले नि:शुल्क शिक्षादीक्षा दिनुपर्ने र खेलाडीको सुरक्षाको ग्यारेन्टीको मागसहित आफूहरूले राजमार्ग अवरुद्ध पारेको नेपाल खेलकुद महासंघ रौतहटका सल्लाहकार प्रमोद चौधरीले बताए ।
वैरागीकी श्रीमती रामकुमारी देवीले मुलुकका लागि नाम राख्ने र लामो समयसम्म खेलजीवनमा समर्पित आफ्ना श्रीमानको हत्या भएको धेरै समय बितिसक्दासमेत कुनै निकायबाट सहयोग नपाएकोमा दु:ख व्यक्त गर्दै घरमा बसेर भोकै मर्नुको साटो कानमा तेल हालेर र आँखा चिम्लेर बसेको सरकारका सामु एक साताभित्र सिंहदरबारअगाडि आत्मदाह गर्ने चेतावनी दिएकी छन् । मृतक वैरागीका छोरा रामाशंकर यादवका अनुसार चेतावनी दिएको चार दिन बितिसकेको भए पनि राज्यबाट कुनै सुनुवाइ नभएको हुँदा आउँदो आइतबार बिहान १० बजे सिंहदरबारअगाडि आत्मदाह गर्ने बताए ।

प्रतिक्रिया