कांग्रेसमा चुनाव पक्षधर धेरै

काठमाडौं, १६ भदौ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्य संविधानसभाको नयाँ चुनावमा जानुपर्ने पक्षमा देखिएका छन् । केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने अधिकांश सदस्यले राष्टिूय सहमतिको सरकार गठन गरेर चुनावमै जानुपर्ने धारणा व्यक्त गरेका हुन् ।
छलफलका क्रममा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ताजा जनादेशमा जानुपर्ने राय राखेको नेता आनन्दप्रसाद ढुंगानाले बताए । ‘धेरै साथीहरूको सुझाव ताजा जनादेशमा जानुपर्छ भन्ने नै छ,’ उनले भने ।
बैठकमा उपसभापति रामचन्द्र पौडेलले एमाओवादीसहित प्रमुख दलहरूको बैठकमा भएका छलफलबारे जानकारी गराएका थिए । सदस्यहरूले भने एमाओवादीले विगतमा झूै अहिले पनि दलहरूलाई अल्झाइरहेको धारणा बैठकमा राखेका थिए । केहीले संविधानका विवादित विषय लिपिबद्ध गरेर जनमत संग्रहमा लैजानुपर्ने सुझावसमेत दिए । केहीले भने विवादित विषयमा सहमति भए संविधानसभा पुन:स्थापना गर्ने र संसदीय चुनावमा जान सकिने बताए । त्यसका लागि पनि सहमतीय सरकार मन्त्रिपरिषद् बन्नुपर्ने र त्यो मन्त्रिपरिषद्ले संवैधानिक अड्चन टुंग्याउनुपर्ने उनीहरूको सुझाव छ ।
बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाको राजनीतिक प्रतिवेदन विकल्पसहित नआएको र संक्षिप्त भएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएका छन् । आइतबार बस्ने बैठकमा पनि छलफल जारी रहने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया