क्लाइस्टर्स पराजित

न्युयोर्क : क्यारियरकै अन्तिम प्रतियोगिता खेलिरहेकी किम क्लाइस्टर्स वर्षको चौथो ग्रान्डस्लाम टेनिस युएस ओपनको दोस्रो चरणबाटै बाहिरिएसँगै एक साहसिक र उत्साही टेनिस खेलाडीको खेलाडी जीवन समाप्त भएको छ । चार ग्रान्डस्लामविजेता क्लाइस्टर्सले युएस ओपन आफ्नो अन्तिम प्रतियोगिता भएको केही दिनअघि नै बताएकी थिइन् । उनको महिला युगलतर्फको प्रतिस्पर्धा भने बाँकी रहेको छ ।
चारवर्षीय छोरीकी आमासमेत रहेकी बेल्जियमकी यी भेट्रान खेलाडीले कोर्टलाई सुखद् बिदाइ गर्न सक्दो प्रयास गरेकी थिइन् तर सफल भइनन् । बेलायतकी १८ वर्षीय लाउरा रोब्सनले उनलाई ७–६ र ७–६ ले हराउँदै दोस्रो चरणबाटै बिदाइ गरिन् । ‘मेरो खेलजीवनको यात्रा निकै सफल रहयो । यसबीचमा मैले जे जे चाहँे, टेनिसमा त्यो सबै पूरा भयो,’ क्लाइस्टर्सले भनिन् ।
सन् २००७ को मेमा पनि सन्न्यास लिएकी क्लाइस्टर्स करिब दुई वर्षपछि पुन: कोर्टमा फर्किंदा भनेकी थिइन्, ‘युएस ओपन यस्तो प्रतियोगिता हो जसबाट म सधैँ प्रोत्साहित भइरहेँ ।’ कोर्टमा फर्कने क्रममा सन् २००९ र २०१० को पनि युएस ओपन जितेकी उनी गत संस्करणमा भने चोटका कारण सहभागी हुन सकेकी थिइनन् । (एजेन्सी)

प्रतिक्रिया