नेपाल र भारतबीच गोलरहित बराबरी

नयाँदिल्ली, १३ भदौ । सुरुवातका दुई खेलमा कमजोर प्रदर्शन गरेको नेपालले नेहरु कपको तेस्रो खेलमा भारतसँग गोलरहित बारबरी गरेको छ । सुरुवाती दुई खेलमा पराजयको सामना गरेको नेपालले खेल सुधार गर्दै पराजयको शृंखला टारे पनि औपचारिक रूपमा बाहिरिएको छ । नेपालले पहिलो चरणमा सिरियासँग मात्र खेल्न बाँकी छ भने तीन खेलमा एक अंक जोडेको छ ।
यस बराबरी खेलको पहिलो हाफमा नेपाल हाबी भएको थियो । यसअघिका दुई खेलमा भन्दा नेपाली टोलीले सुरुवातदेखि नै राम्रो प्रदर्शन गरेको थियो । बल्ल फिट भएका किरण चेम्जोङ पहिलोपटक खेले । उनले अन्तिम १० मिनेट थुप्रैपटक नेपालको संकट टारेका थिए । खेलमा पहिलो मौका नेपालले पाएको थियो । सन्दीप राई र जुमानु राई मिलेर बनाएको मुभमा भोलाले कमजोर प्रहार गरे ।
पहिलो १५ मिनेटमा मात्र नेपालले पाँचवटा कर्नर पाएको थियो । २३औं मिनेटमा पहिलोपटक खेलिरहेका जगजित श्रेष्ठ र भरत खवासका बीच राम्रो समन्वय भए पनि भारतीय रक्षकले बचाए । ३५औं मिनेटपछि मात्र भारतीय टोलीले केही सुधार गरेको थियो । ४३औं मिनेटमा सुनील क्षेत्रीको हेडलाई बचाउँदै किरण चेम्जोङले नेपाली टोलीको संकट टारेका थिए ।
दोस्रो हाफको सुरुवातमा पनि नेपाली टोली प्रभावकारी रहेको थियो । ४८औं मिनेटमा भरत खवासले तीन भारतीय रक्षकलाई कटाउँदै बल अघि बढाए पनि गोलपोस्टमा फितलो प्रहार गरे । ६३औं मिनेटमा भने रोहित चन्दले उत्कृष्ट ट्याकल गर्दै नेपालको संकट टारे । थुप्रै कर्नर पाएको नेपालले एउटा पनि उपयोग गर्न सकेन । सबैभन्दा राम्रो कर्नर ७३औं मिनेटमा जगजित श्रेष्ठले प्रहार गरे पनि भारतीय गोलरक्षक सुब्रत पलले राम्रोसँग बचाए । खेलको अन्तिम १० मिनेट भने नेपाल दबाबमा आएको थियो । ८१औं मिनेटमा जेवाल रेजाले प्रहार गरेको बल किरणले मुस्किलले बचाए । त्यसको तीन मिनेटपछि नै किरणले अर्को आकर्षक बचाउ गरे । यो १० मिनेटमा भारतले दिएको दबाबको कारण नेपाल अन्तिमका केही मिनेट ९ खेलाडीमा सीमित भयो । रोहित चन्दले ६ मिनेटका अन्तरमा दुई पहेँलो कार्ड पाएपछि यसमा आपत्ति जनाएका विकास सिंह क्षेत्रीले पनि दोस्रो पहेँलो कार्ड पाएका थिए । ८९औं मिनेमटा नेपाल नौ खेलाडीमा सीमित भएको हो । निर्णयमा आपत्ति जनाएकै कारण उज्वेक रेफ्रीले दुई खेलाडीलाई रातो कार्ड दिएका हुन् ।
एक दिनअघि भएको खेलमा माल्दिभ्सले सिरियामाथि २–१ को सनसनीपूर्ण जित हात पार्‍यो । माल्दिभ्सका लागि कप्तान अली अस्फाकले ८१औं मिनेटमा गोल गरे । उनले सानदार बाइसाइकल किक प्रहार गरेका थिए । अन्तिम सेकेन्डमा अहमद रसिदले अस्फाकको पासमा गोल गरे ।

प्रतिक्रिया