विकृतिको पराकाष्ठा

आधुनिकताका नाममा भित्रिने विकृतिका कारण नेपाली समाज आक्रान्त बन्दै गएको छ । नेपाली धर्म, परम्परा र संस्कृतिविरुद्ध विभिन्न कोणबाट आक्रमण हुने क्रम तीव्र रूपमा बढेको पाइन्छ । समाजलाई दुर्गन्धित बनाउने निहित उद्देश्यले प्रेरित भएर गरिएका अत्यन्त घृणित प्रकृतिका कार्यहरू अहिले भइरहेको देखिँदै छ । यसको पछिल्लो कडीका रूपमा नवलपरासी जिल्लाको गैँडाकोटका स्कुले केटाकेटीबीच गर्न लगाइएको कुकृत्यलाई लिन सकिन्छ । त्यहाँ स्कुल पढ्दै गरेका नाबालक केटाकेटीलाई यौनजन्य लाग्ने क्रियाकलापमा लिन गराएर भिडियो खिच्ने काम गरियो । युट्युवमा राखिएको ‘टङ्किस’ भिडियो हेर्दा र आवाज सुन्दा लाग्छ यौनकुण्ठा बोकेको एउटा कामुक व्यक्तिको निर्देशनमा उक्त घृणित कार्य भएको हो । तर, समाज चिन्तकहरू भन्छन्– यो कार्य यौनकुण्ठा बोकेको व्यक्तिले मात्र गरेको होइन । नेपाली समाजमा हदैसम्मको विकृति र विसंगति फैलाएर भाँडभैलो मच्चाउने निहित उद्देश्य पनि यसमा रहेको छ । गैँडाकोटको घटना सायद विश्वमा नै विकृत मानसिकताबाट सिर्जित अत्यन्तै घृणायोग्य र भत्र्सनायोग्य घटना हो । यसलाई ढाकछोप गर्दै उक्त कार्य गर्न उक्साउनेमाथि कारबाही भएन भने यसले झन विस्तारित रूप लिन सक्छ । तसर्थ, ती बालबालिकालाई ढुंगेबगरमा लगेर लामो ‘टङकिस’ गर्न लगाई भिडियो तयार गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बालबालिकाका अविभावक, स्थानीय समाज र सरकारले पनि यसलाई गम्भीर विषय ठानेर आइन्दा समाजमा यस्तो देख्नु नपरोस् भनी अपराधीलाई सजाय दिने काममा अग्रसरता देखाउनुपर्छ ।
आफ्नो धर्म, परम्परा, मूल्य, मान्यता सामाजिक पद्धति, आचारविचार र रहनसहनमा आँच नआओस् भनेर विभिन्न राष्ट्र र समाजले अहिले निकै ठूलो संघर्ष गरिरहेको अवस्था छ । आफ्नो भेषभुषा, भाषा, धर्म र परम्पराबाट च्यूत भएमा विश्वबाट त्यस्तो समाजको चिनारी हराउन सक्छ । यसैले गर्दा प्रत्येक समाजले अलिखित रूपमै भए पनि आफ्नै खालको मूल्य र मान्यता स्थापित गरेको हुन्छ । मानव सभ्यताको विकाससँगै सुसंस्कृत र परिमार्जन हुने क्रममा समाजले गर्न हुने र गर्न नहुने कामको पनि सूची तयार गरेको छ । त्यसमा पनि नेपाली समाज आफ्नो मूल्य, मान्यता, पद्धति, परम्परा धर्म र संस्कृतिप्रति अत्यन्त सजग र संवेदनशील छ । तर, यी सबैका बाबजुद समाजमा धर्मका नाममा, खुलापनका नाममा, आधुनिकताका नाममा अधर्म, अश्लीलता मिसिएको छाडापन र विकृति भरमार भित्रिएका पाइन्छन् । यसलाई सशक्त ढंगले रोक्ने काम समाज आफैँले गर्नुपर्छ । नेपालीकै नाक काटिने गरी भएको, देख्दै लाजमर्दो छाडापनको पराकाष्टा त्यो पनि बालबालिका प्रयोग गरेर किन भिडियो तयार गरियो र कुन प्रयोजनका लागि युट्युबमा राखियो ? सरकारले यसको खोजी गरेर हाम्रो सामाजिक मर्ममाथि प्रहार गर्नेलाई कारबाही गर्नैपर्छ ।
‘बालबालिकाले अपराध गर्दैनन्, गल्ती गर्छन्’ यो मान्यता हाम्रै समाजको हो । गैँडाकोटका बालबालिकाले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे र त्यसको भिडियो पनि खिचाए । तर, के उनीहरूले आफ्नै योजनामा समाजमा अपाच्य हुने लज्जाजनक कर्म गरेका हुन् ? पक्कै पनि होइनन् । किनकि ती बालिबालिकालाई उक्साउने र निर्देशन दिने अर्कै व्यक्ति थिए । जुन व्यक्ति दृश्यमा देखिएका छैनन् । तर, भिडियोमा उनको आवाज सुन्न सकिन्छ । उनले गरेको यो घृणित कुकर्म क्षमायोग्य छैन । किनकि भविष्यका कर्णधार ती बालबालिकाको मनमस्तिष्क विकृत गराउने र यिनीहरूलाई पनि समाज भाँड्न लगाउने निहित उद्देश्य उक्त व्यक्तिले लिएको देखिन्छ । होइन भने भिडियो सार्वजनिक गर्ने थिएनन् । बालबालिका, अविभावक, समाज र राष्ट्रकै बेइज्जत गर्ने ती व्यक्तिलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । यस घटनालाई सरकारले पनि झिनामसिना भनेर पन्छाउन मिल्दैन । यो हाम्रो सामाजिक मान्यताविरोधी जघन्य अपराध हो । बालबालिकाको हकहितका लागि काम गरिरहेका संघ संस्थाहरूले पनि यो घटनाको जड पत्ता लगाउनुपर्छ । यो सामान्य घटना होइन । यस्ता घटना बेलैमा रोकिएन भने हाम्रो समाज विकृति, विसंगति र अश्लील समाज बन्नेछ । हामीले आफ्नोपन गुमाउने छौँ । तसर्थ, यस्ता कार्य कहिल्यै पुनरावृत्ति हुन नसक्ने गरी समाप्त पारिनुपर्छ ।

प्रतिक्रिया