‘पेपर म्यारिज’मा धोका

काभ्रे, १३ भदौ । पनौतीका २१ वर्षीय युवकले विद्यालय तहदेखि आफ्नै उमेर समूहकी युवतीसँग प्रेम गरे । कक्षा १० देखि सँगै अध्ययन गरेका उनीहरूले बिबिएस तहसम्मको अध्ययन इन्द्रेश्वर क्याम्पसबाट पूरा गरे ।

बिबिएस तहको अध्ययन सकेर विदेश जाने तयारी गरेको त्यो जोडीलाई विवाहको कागज आवश्यक पर्‍यो । दु:खसुख सँगै साट्ने कसम खाएको जोडी विवाहका लागि तयार भयो तर नेवार समुदायभित्रको जातका कारण सामाजिक परम्पराअनुसार उनीहरूले विवाह गर्न सकेनन् । उनीहरू छुट्टिन पनि तयार थिएनन् । उनीहरूले विदेश गएर सँगै बस्ने योजनाका साथ नगरपालिकामा विवाह दर्ता गरे ।
विवाह दर्ताको प्रमापत्र बोकेर उनीहरू अस्ट्रेलियाका लागि भिसा माग्न दूतावास पुगे । केही समयको पर्खाइमा त्यो जोडीले भिसा पाउन सकेन । निराश भएर घर फर्किएको जोडीमा त्यसलगत्तै अविश्वास बढ्यो । २४ घन्टा सँगै बस्न रुचाउने जोडीको सम्बन्ध पातलिँदै जान थाल्यो । विदेश जाने सपना भताभुंग भएपछि आफ्नै व्यवसायमा व्यस्त भएका युवकले एक दिन प्रेमिका अर्कै केटासँग घुम्न गएको भेटे । साँझ फोन गरेका युवकको फोन प्रेमिकाले उठाइनन् बरु एसएमस गरी अंशसहितको छोडपत्र मुद्दा दर्ता गर्ने चेतावनी दिइन् । सबैसँग लुकाएर गरिएको कागजी विवाहले उनलाई तनाव दियो । शारीरिक सम्पर्क भए पनि उनीसँग जीवन बिताउने सपना टुटाए ती युवकले ।
कानुनी उपचारका लागि जिल्ला प्रशासन कार्यालय धुलिखेल पुगेका युवकलाई प्रजिअले कानुन व्यवसायीमार्फत अदालत जान सल्लाह दिए । नेपालको कानुनअनुसार केटाले छोडपत्र चाहेर सजिलै हुने अवस्था छैन । उनले आफ्नी प्रेमिकाले चाहेजति पैसा दिने सहमतिमा छोडपत्र गराएर मुक्त भए । सुरुमा मन परेर प्रेम, त्यसपछि सँगै जिउने कसम खाएर विदेश जान लागेको युगल जोडीको विच्देछ दुई लाख ५० हजार रुपियाँमा टुंगियो । परिवारको सहयोगविना सहकारीबाट ऋण निकालेर प्रेमिकालाई पैसा तिरेका युवकले ‘पेपर म्यारिज’ गरेर फसेको प्रतिक्रिया दिए ।
पछिल्लो समय दश जोड दुई उत्तीर्ण गरेका युवायुवतीले लुकेर गरेको कानुनी विवाहले उद्देश्य पूरा गर्न नसकेपछि जिल्ला अदालतमा गएर छोडपत्र गराउनेको संख्या बढ्न थालेको छ । जिल्ला अदालत काभ्रेको तथ्यांकले १८ वर्ष पुगेर २५ वर्ष ननाघेका व्यक्ति छोडपत्र गराउन आउन थालेको देखाएको छ । ७० प्रतिशतभन्दा धेरै घटनामा त्यही उमेर समूहका व्यक्तिले छोडपत्र गराएका छन् । ३० वर्ष काटिसकेका व्यक्तिका हकमा भने अंशका लागि छोडपत्र गर्ने गरेका छन् । छोडपत्रका लागि दर्ता भएका अधिकांश घटनामा युवायुवती छन् । स्रेस्तेदार लेखनाथ भट्टराईका अनुसार अदालतमा धेरै प्रकारले छोडपत्र गराउन आउने गरेका छन् । जिल्ला अदालत काभ्रेमा गत आर्थिक वर्षभित्र ७९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ६३ वटा फस्र्योट भएका छन् । गत आर्थिक वर्षका १६ वटा सम्बन्धविच्छेदका मुद्दा यो वर्ष फैसला हुने चरणमा छन् ।
दश जोड दुई उत्तीर्ण हुनेबित्तिकै विदेश जानका लागि कानुनी रूपमा कागजमा विवाह गरेर भिसा माग गर्ने विद्यार्थीले भिसा नलागेको अवस्थामा व्यवहारिक रूपमा विवाह गरेर नबस्ने भएकाले छोडपत्र गर्न अदालतसम्म पुग्नुपरेको हो । घरमा पत्तै नदिई कागजमा विवाह गरेर नगरपालिका वा गाउँ विकास समितिमा दर्ता गरी मान्यता प्राप्त गरेपछि पतिपत्नीका रूपमा भिसा माग गर्ने गरेका छन् । केहीको भिसा लागेपछि विदेश गएर फर्किएपछि समेत छोडपत्र गराउने गरेका छन् ।
विशेषगरी सहरी क्षेत्रका युवायुवतीले क्याम्पसमा अध्ययन गर्दागर्दै प्रेम गर्ने र क्याम्पसको अध्ययन सक्नेबित्तिकै विदेश जान प्रेम गरेकै व्यक्तिसँग विवाह गर्ने र भिसा माग गर्ने गरेका छन् । प्रेम गर्दागर्दै विदेश जान चाहने केटाकेटीले विवाह गर्ने गरेका हुन् । भिसा नमिल्ने बित्तिकै उही सम्बन्धमा रहन नसक्ने भएकाले सम्बन्ध विच्छेद गर्न चाहेका हुन् । विवाह गर्न अभिभावकको स्वीकृति अनिवार्य चाहिने भएकाले उही केटी र केटासँगै बस्न नसक्ने हुन्छन् र ‘पेपर म्यारिज’ टुंग्याउन अदालतमा पुग्छन् । भिसा नलाग्नेबित्तिकै केटाकेटीबीचको विश्वासमा पनि फाटो आउने गरेको केही घटनाले देखाएका छन् ।
भिसा नलाग्नेबित्तिकै केटीहरूभन्दा केटाहरू छोडपत्रका लागि हतारिने गर्छन् । केटी आफूसँगै पनि नबस्ने तर अंश माग गरेको अवस्थामा दिनुपर्ने कानुनी व्यवस्था भएकाले पनि केटाहरू लुकिछिपी गरेको कागजी विवाह अन्त्य गर्न चाहन्छन । धेरै युवायुवतीले छोडपत्रका बारेमा नबुझेका कारण साथीको सहयोगमा कानुन व्यवसायीमार्फत अदालत पुग्ने गरेका छन् । गोपनीयता भंग हुने डरले पनि युवायुवतीले सकेसम्म ‘पेपर म्यारिज’लाई गोप्य राख्ने गरेका छन् ।
अदालतका स्रेस्तेदार भट्टराईका अनुसार ‘कोर्ट म्यारिज’ गरेर विदेश जाने उद्देश्य बोकेका तर बिफल भएका, उद्देश्य सफल भएर फर्किएका, पतिपत्नी दुवै खुसी राजी भएर अलग हुन चाहेका, दाम्पत्य जीवन कायम राख्न अनिच्छा देखाएका जोडीहरू सम्बन्धविच्छेदका लागि आउने गरेका छन् । मुद्दा दर्ता भएर मिलापत्र गर्नेहरूको हकमा अदालतले भोलिपल्टै छिनोफानो गर्ने गरेको भए पनि अन्यको हकमा कानुनका सबै प्रक्रिया अपनाएर सम्बन्ध बिच्छेद गर्ने गरिएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया