सेरेनाको यात्रा कसले रोक्ने ?

न्युयोर्क, १२ भदौ । गत वर्ष गोडाको चोटबाट मुक्त हँुदै खेलमा फर्किएकी सेरेना विलियम्सले १४ ग्रान्डस्लाम उपाधि जितिसकेकी छन् । तिनै सेरेना युएस ओपनको प्रबल दाबेदारको रूपमा समेत रहेकी छन् । ‘उनी साँच्चै उच्च फर्ममा छिन् । उनी कहाँसम्म पुगेर मात्र रोकिन्छिन्, यसै भन्न सकिन्न,’ नोभाक जोकोभिकले उनका बारे भने । ‘म पुरुष खेलाडी भएकोमा खुसी छु किनकि मैले उनको सामना गर्नुपर्दैन,’ जोकोभिकले भने ।
अस्ट्रेलियन ओपनविजेता जोकोभिक पनि राम्रो लयमा रहेका छन् । सिनसिनाटीमा उपविजेता भएका उनले त्यसभन्दा सात दिनअघि टोरन्टो मास्टर्स सिरिजको उपाधि जितेका थिए । सन् २०१० मा स्वास्थ्यमा समस्या भएयता उनले पहिलो ग्रान्डस्लामको रूपमा यो वर्षको विम्बल्डन जितेकी थिइन् । यसपछि उनले अल इंगल्यान्ड कोर्टमा सफलता पाउँदै ओलम्पिक स्वर्णपदक जितिन् । ‘उनीसँग केही विशेषता छन् जसले उनलाई अन्य खेलाडीभन्दा फरक बनाएको छ,’ पुरुषतर्फ शीर्ष वरीयताका रोजर फेडेररले भने । फेडेरर पनि ८७ वर्षको युएस ओपन टेनिसको आधुनिक इतिहासमा युएस ओपन ६ पटक जित्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान बनाउन प्रयासरत छन् । हालसम्म फेडेरर, पिट साम्प्रास र जिम्मी कोनर्सले सर्वाधिक पाँचपटक युएस ओपन जितेका छन् ।
युएस ओपन एमेच्योर रहँदा बिल टेडेनले सन् १९२५ मा छैटौँपटक उपाधि जितेका थिए । उनले सन् १९२९ मा सातौँपटक उपाधि जित्दै सन्न्यास लिएका थिए । ‘यो चार महिनामा महिला टेनिसकै उत्कृष्ट खेलाडी देखियो,’ यसै प्रतियोगितापछि सन्न्यासको तयारी गरेकी किम क्लाइस्टर्सले विलियम्सका बारे भनिन् । सन् २०१० को विम्बल्डनको जितको खुसियाली मनाउने क्रममा म्युनिखको एक रेस्टुरेन्टमा गोडामा घाउ लागेपछि उनको शल्यक्रिया गरिनुका साथै गोडामा १८ टाँका लगाइएको थियो । त्यसपछि फोक्सोको रगत सञ्चालनमा समस्या भएपछि उनको खेलजीवन संकटमा परेको थियो । त्यो उपचारपछि खेलमा फर्केकी उनी सानदार फर्ममा रहेकी छन् । सन् २०११ को प्रेmन्च ओपन जितेकी नवाँै वरीयताकी चिनियाँ खेलाडी ली नालाई सेरेनाको मुख्य प्रतिद्वन्द्वीको रूपमा हेरिएको छ । उनले सिन्सिनाटीमा उपाधि जितेकी थिइन् भने मन्ट्रियलमा उपविजयी भएकी थिइन् ।
उपाधिका अन्य दाबेदारको रूपमा शीर्ष वरीयताकी बेलारुसकी भिक्टोरिया अजारेन्को र डिफेन्डिङ च्याम्पियन पोल्यान्डकी अग्नेस्जका रुडवान्स्का पनि सेरेनालाई चुनौती दिने खेलाडीको रूपमा रहेका छन् । रुडवान्स्का विम्बल्डनकी उपविजेता हुन् । यस सत्र फ्रेन्च ओपन जित्दै चारवटै ग्रान्डस्लामको सफलता पाएकी तेस्रो वरीयताकी मारिया सारापोभा अर्की हेर्नलायक खेलाडी हुन् ।
सन् २००८ मा फेडेररसँग पराजित भएर उपविजेता भएका एन्डी मरे भने कत्तिको फिट देखिने हुन्, यकिन छैन । टोरन्टोमा चोटका कारण नाम फिर्ता लिएका मरे सिनसिनाटीमा दोस्रो खेलमै फ्रान्सका जेरेमी चार्डरसँग पराजित भएका थिए । डेविड फेरर, जो वेलफ्रेड सोंगा र हुवा मार्टिन डेल पोर्टो अन्य हेर्नलायक खेलाडीको रूपमा रहनेछन् । राफेल नाडालको कमी भने प्रतियोगिताभर महसुस गरिनेछ । एजेन्सी

प्रतिक्रिया