क्यासिनोमा भारतीय डनको अप्रत्यक्ष लगानी

काठमाडौं, १० भदौ । राजधानीमा सञ्चालित क्यासिनोमा अन्तर्राष्ट्रिय आपराधिक समूहको लगानी अप्रत्यक्ष रूपमा भित्रिएको प्रहरीले आशंका गरेको छ । प्रहरी स्रोत भन्छ, ‘उनीहरूले युनियनका सदस्यहरूलाई प्रयोग गरेर क्यासिनोमा पैसा हालेका छन् ।’

सरकारले गत वर्ष रिक्रियसन सेन्टर खारेज गरेलगत्तै क्यासिनोको स्वामित्वमा अन्योल पैदा भएको थियो । यसअघि सबै क्यासिनो रिक्रिएसन सेन्टर मातहतमा सञ्चालन हुने गर्थे । कर नतिरेका कारण सेन्टर खारेज गरिएपछि अन्तर्राष्ट्रियस्तरका डनहरूले यसमा हात फैलाएका हुन् । नेपालका क्यासिनोमा विशेष गरी भारतीय ‘अन्डरवल्र्ड’मा संलग्न डनहरूले अप्रत्यक्ष रूपमा लगानी गरेको प्रहरी उच्च स्रोत बताउँछ ।
लगानी गर्नेहरूमा बब्लु श्रीवास्तव, दाउद इब्राहिम, छोटा राजन समूहलगायत रहेको प्रहरीको दाबी छ । प्रहरी स्रोत भन्छ, ‘पहिले सबै क्यासिनो रिक्रिएसन सेन्टरको मातहतमा चल्थ्यो, सरकारले सेन्टर खारेज गरेलगत्तै क्यासिनोको स्वामित्वमै प्रश्न उठ्न थाल्यो । यही मौकामा डनहरूले क्यासिनोभित्रकै केही व्यक्तिलाई प्रयोग गरे र उनीहरूकै माध्यमबाट लगानी गरे ।’
राजधानीमा अहिले नेपाल क्यासिनो, क्यासिनो र्‍याड, क्यासिनो भेनस, रोयल क्यासिनो, क्यासिनो अन्ना, क्यासिनो एभरेस्ट र क्यासिनो सांग्रिला सञ्चालनमा छन् । रिक्रिएसन सेन्टर खारेज भएलगत्तै राजधानीमा सञ्चालित अधिकांश क्यासिनो सम्बन्धित होटलको स्वामित्वमा रहे पनि सञ्चालन भने होटल आफैँले गरेको छैन । क्यासिनो सञ्चालनका लागि व्यवस्थापन समिति गठन गरिएको छ । समितिका अधिकांश सदस्य युनियनका छन् । त्यही समितिको नियन्त्रणमा छन्, राजधानीका अधिकांश क्यासिनो । प्रहरी स्रोतको दाबी छ, ‘भारतीय डनले उनीहरूलाई प्रयोग गरिरहेका छन् ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले पनि क्यासिनोमा भारतीय आपराधिक समूहको लगानी हुन सक्ने आशंका गरेको छ । सिआइबीका निर्देशक डिआइजी उपेन्द्रकान्त अर्यालले राकेश बाधवापछि नेपालका क्यासिनोमा लगानी गर्ने नयाँ–नयाँँ अनुहार देखा परेको बताए । उनले भने, ‘क्यासिनो चलाउन ठूलो रकम आवश्यकता पर्छ, विगतमा केही नभएकाहरूसँग क्यासिनो चलाउने रकम कसरी आयो ? अनुसन्धानको विषय यही छ ।’ डिआइजी अर्यालले शंकास्पद केही व्यक्तिको त आर्थिक स्रोतको खोजी सुरु भइसकेको समेत जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले नेपालका क्यासिनो अन्तर्राष्ट्रिय डनहरूले लगानी गर्न सक्ने हैसितसम्म पुगिनसकेको भए पनि ठोकुवा गर्न नसकिने बताए । उनले भने, ‘व्यवसायमा कसको साझेदारी कोसँग हुन्छ, सबै लेखाजोखा गर्न सम्भव हुँदैन, यद्यपि बाहिर हेर्दा नेपालका क्यासिनो मजदुरको नियन्त्रणमा छ ।’
प्रहरी स्रोतका अनुसार अन्नपूर्ण होटलस्थित अन्ना क्यासिनोमा अहिले ५० प्रतिशतभन्दा धेरै सेयर कल्पदीप राईको छ । राई माओवादीनिकट मजदुर युनियनसँग सम्बद्ध व्यक्ति हुन् । उनी विगतमा सोही क्यासिनोका सामान्य कामदार थिए । यस्तै, याक एन्ड यती होटलस्थित रोयल क्यासिनोमा चर्चित ‘डन’ गणेश लामाको ५० प्रतिशतभन्दा धेरै लगानी छ । लामाकै सहयोगी क्यासिनो डनका रूपमा परिचित बलराम सापकोटा ‘बले’ को पनि रोयलमा सेयर भएको स्रोतले बतायो । लामाले मल्ल होटलस्थित क्यासिनो भेनस र होटल र्‍याडिसनस्थित क्यासिनो र्‍याडमा पनि लगानी गर्न किशोर सिलवालसँग वार्ता गरिरहेका छन् । विगतमा टेम्पो ड्राइभर रहेका लामा ठमेलका डिस्को बार सञ्चालक हुँदै अहिले क्यासिनोमा लगानी गर्ने हैसियतमा पुगेका छन् । ‘बले’ उपनामका सापकोटा विगतमा पनि नयाँ बानेश्वरस्थित सामान्य रेस्टुरेन्टका कामदार थिए । पछिल्लोपटक क्यासिनो खेल्न जानेहरूलाई चर्को ब्याजमा पैसा लगानी गर्थे उनी ।
होटल एभरेस्टस्थित एभरेस्ट क्यासिनो पूर्णरूपमा मजदुरको नियन्त्रणमा छ । क्यासिनो सञ्चालनका लागि एउटा व्यवस्थापन समिति बनाइएको छ । समितिका म्यानेजिङ डाइरेक्टर हर्क ऐर हुन् । मजदुर युनियन र व्यवस्थापनको संयुक्त रेखदेखमा यो क्यासिनो चलेको भनिए पनि लगानीको पाटो भने रहस्यमय छ । सोल्टी होटलस्थित नेपाल क्यासिनो पनि मजदुरहरूकै प्रयासमा चलिरहेको छ । यस क्यासिनोको पनि लगानी स्रोत प्रस्ट छैन । क्यासिनो भेनस र र्‍याड गरी दुईवटा क्यासिनोका सञ्चालक अशोक सिलवाल विगतदेखिकै क्यासिनोका खेलाडी हुन् ।

प्रतिक्रिया