संसार आफ्नै, फोर्स र बिन्दास

काठमाडौं : अघिल्लो शुक्रबारजस्तै आज पनि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन्– संसार आफ्नै, फोर्स र बिन्दास । संसार आफ्नै रन्जित रानाले निर्देशन गरेका हुन् भने फोर्स भारतीय निर्देशक स्वामी रवीन्द्र भारतीको निर्देशनमा तयार भएको हो । बिन्दासका निर्देशक हुन् राजु गिरी । बिन्दास र फोर्स एकैसाथ देशभरका हलहरूबाट प्रदर्शन हुन लागेका हुन् भने संसार आफ्नै यसअघि नै उपत्यकाबाहिर प्रदर्शन भइसकेको छ । संसार आफ्नै नायक तथा निर्माता गोविन्द शाहीले निर्माण गरेका हुन् । प्रत्येक मानिसको संसार आ–आफ्नै हुन्छ, खोज्ने र हेर्ने दृष्टि मात्र फरक हुन्छ भन्ने विषयवस्तु बोकेको यो चलचित्र प्रेमकथामा आधारित छ । आजदेखि उपत्यकामा प्रदर्शन हुने यो चलचित्र उपत्यकाबाहिरका केही हलमा तेस्रो हप्तामा प्रदर्शन भइरहेछ ।
गोविन्द शाही, झरना थापा, सुमन सिंहलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको फूलै फुल्छ याहाँ वसन्तमा गीतले चर्चा बटुलिसकेको छ । वसन्त सापकोटा र चेतन सूर्यको संगीत, युगेश रायमाझीको लेखन, युवराज राईको छायांकन, अष्ट महर्जनको द्वन्द्वनिर्देशन तथा गोविन्द राईको नृत्यनिर्देशन रहेको संसार आफ्नै उपत्यकाका २२ हलबाट एकैसाथ रिलिज हुन लागको छ । त्यस्तै राजनीतिक तथा व्यापारिक क्षेत्रमा लागेका दुई भाइबीचको प्रतिस्पर्धा विषय बनाइएको चलचित्र फोर्स शिव गिरीले निर्माण गरेका हुन् । प्रहरी प्रशासन र युवावर्गबीचको विषयवस्तुलाई पनि उठाउन खोजिएको छ ।
शिव गिरी, भोजपुरी नायक मोहित भारद्वाज, राखी ढ्यागंयाल, क्षितिजा शाक्य, ऋचा सिंह ठकुरी, धमेन्द्र आचार्यलगायत कलाकारको अभिनय छ । चलचित्र उपत्यकाका थोरै तथा बाहिरका धेरै हलहरूबाट प्रदर्शनमा आउने निर्माता गिरीले जानकारी गराए । महेश खड्काको संगीत, हिमाल केसीको द्वन्द्व, बब्बु थापाको नृत्यका साथै शम्भु सापकोटाको छायांकन रहेको छ । लेखन भने सुवाससिंह बस्नेतले गरेका छन् ।  मधुकुमार श्रेष्ठले निर्माण गरेको बिन्दास युवा वर्गलाई लक्षित गरिएको निर्माण पक्षले बतायो । सुष्मा कार्की, सुशान्त कार्की, अशोक फुयाँललगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रको लेखन भोजराज देवकोटाले गरेका छन् । अर्जुन पोखरेलको संगीत, महेश गोदारको नृत्य रहेको चलचित्रलाई राजेन्द्र सापकोटाले छायांकन गरेका छन् । (सौस)

प्रतिक्रिया