‘कमल दीक्षितसँग इमेल वार्ता’ विमोचित

काठमाडौं : नेपालबाट अमेरिका प्रवासिएका साहित्यकार गोविन्द गिरी प्रेरणाले ६ महिना लामो अवधि लगाएर पूरा गरेको वार्तासंग्रह ‘कमल दीक्षितसँग इमेल वार्ता’ राजधानीमा सार्वजनिक भएको छ । नेपाली वाङ्मयका जीवित इतिहास मानिने कमल दीक्षितसित प्रेरणाले गरेका विभिन्न सन्दर्भ र प्रसंग समेटिएका एक सय आठ प्रश्नको जवाफ समेटिएको नेपालकै प्रथम ‘साइबर संवाद’ पुस्तक हालै कार्यक्रम नायक कमलमणि दीक्षित, वार्ताकार प्रेरणा, प्रकाशक रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठ र निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा विमोचन गरेका थिए । नयाँ किसिमले परिकल्पना गरिएको पुस्तकको मोतीराम युवावर्ष पुरस्कार विजेता ठाकुर बेल्बासेद्वारा सञ्चालित सार्वजनिकीकरण समारोहमा बोल्दै कमल दीक्षितले  आफू सानैदेखि पत्रमित्र (पेन–पल) बन्ने र बनाउने कुरामा अत्यधिक संलग्न रहने गरेको संस्मरण सुनाए । उनले त्यही बानीले गर्दा आफूलाई प्राप्त कुनै पनि चिठी वा जिज्ञासाको तत्काल जवाफ दिने बानी परेकाले प्रेरणाले सोधेका प्रश्नहरूको जवाफ समयमै दिन सकेको अनुभव सुनाए । (सौस)

प्रतिक्रिया