अनेरास्ववियुका समस्या र भावी रणनीति

नेपाली विद्यार्थी संगठनहरूको इतिहासमा पहिलोपटक अनेरास्ववियुले विधान सम्मेलन गर्ने भएको छ । चितवनमा सम्पन्न केन्द्रीय कमिटीको १८औँ महाधिवेशनबाट दुई प्यानल निर्वाचनमा लड्न थालेपछि गुटबन्दीलाई निस्तेज पार्न र संगठनलाई नीतिगत रूपले सुस्पष्ट मार्ग निर्देशन गर्न विधान सम्मेलनको आवश्यकता महसुस भएको हो । सम्मेलन विद्यार्थी संगठनहरूको महान् चाड पनि हो । सम्मेलनबाट नै नीति, विधान र नेतृत्व चयन हुने हुँदा यसले खास महत्त्व राख्ने ठानिएको छ । सामान्यतया सम्मेलनको फैसलाले नै संगठनको भावी रणनीति र भूमिका निर्धारण गर्ने गर्छ । अनेरास्ववियुमा झाँगिदै गएको गुटगत प्रवृत्ति जनकपुरमा सम्पन्न २०औँ महाधिवेशनले बहुपदीय प्रणाली अपनाएपछि सुरु भएको हो । विगतमा दुई गुट देखिएकामा अहिले चार गुट छन् भन्दा लाज मान्नु पर्दैन । सम्मेलनमा विचार, नीति, संरचना र भावी रणनीति निर्माणका कुराभन्दा नेतृत्वको लडाइँमा सबैको ध्यान केन्द्रित हुने गरेकाले अनेरास्ववियुले २१औं सम्मेलनको पूर्वसन्ध्यामा विधान सम्मेलन गर्ने निर्णय गरेर राम्रो कामको थालनी गरेको छ ।
झन्डै ६ सय ५० भन्दा बढी प्रतिनिधिहरूबीच छलफल हुने विधान सम्मेलनमा संगठनको संरचना र आकार के हुनेछ भन्ने सन्दर्भमा विषय केन्द्रित रहनेछ । हाल रहेको जम्बो केन्द्रीय कमिटी (३५३) लाई दुई अंकमा सीमित गर्दै, सचिवालय (हाल ५४) लाई ३० जनामा सीमित गर्दै र पदाधिकारी (हाल ११) लाई बढीमा सातजनामा सीमित गर्नुपर्ने अनिवार्य देखिन्छ । सम्मेलनपश्चात्को केन्द्रीय कमिटीको बैठकमार्फत केन्द्रीय कमिटीमा १० प्रतिशत विभिन्न क्षेत्रमा लागेका क्षमतावान्, अनुसन्धाता, लेखकजस्ता व्यक्तित्वहरूलाई मनोनित गर्ने व्यवस्था गर्दा संगठनको छवि उत्तम हुन सक्छ । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको पदाधिकारीहरूको शिक्षा, उमेर, व्यक्तिगत चरित्र मुख्य रूपमा कस्तो हुनुपर्ने भन्ने रहेको छ । अनेरास्ववियु विद्यार्थी संगठन भएकाले नियमित विद्यार्थी मात्र संगठनमा रहनुपर्ने, कम्तीमा केन्द्रीय सदस्य हुन स्नातक तह उत्तीर्ण र ३० वर्षे उमेर नकाटेकाहरू योग्य हुने, सचिवालय र पदाधिकारीका निम्ति स्नाकोत्तर र ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिनु आजको आवश्यकता हो । त्यसका लागि आर्थिक अनियमिततामा मुछिएका र जगन्य अपराध लागेका व्यक्तिलाई उम्मेदवार हुनबाट वञ्चित गरिनुपर्ने देखिन्छ । सांगठनिक संरचना चुस्त एवं वैज्ञानिक तुल्याउन यस्तो खालको साहस नेतृत्वले देखाउनुपर्छ । अनेरास्ववियुले आर्थिक पारदर्शिताका निम्ति सबै खालका आर्थिक क्रियाकलाप ‘अकाउन्ट पे चेक’ मार्फत गर्नुका साथै केन्द्रीय कमिटीको आय–व्यय अडिट गरेर विधान सम्मेलनमा प्रस्तुत गर्दा उत्तम हुन सक्छ । अनेरास्ववियुको विधान सम्मेलनले अनेरास्ववियुको नीति, योजना, विधान, भावी रणनीतिको निर्माण गर्ने थलोका रूपमा विकास गर्नु अनिवार्य छ ।
अनेरास्ववियुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको शैक्षिक नीति निर्माण हो । उसले बनाउने शैक्षिक नीतिले विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने, समयानुकूल र व्यावहारिक शिक्षा प्रणालीबारे जोडदार माग उठाउनुपर्ने अवस्था छ । विश्वव्यापीकरणले संसारलाई एउटा सानो गाउँका रूपमा परिवर्तन गराई प्रविधि र विज्ञानको नयाँ आविष्कार एवं चमत्कारले नयाँ परिवर्तन गरिरहेको अवस्थामा नेपाली विद्यार्थीको भविष्य कस्तो हुने भन्ने विषयमा गम्भीर हुनुपर्ने बेला आएको छ । यस अवस्थामा अनेरास्ववियुले समग्र विद्यार्थीहरूको नेतृत्व गर्ने हिम्मत गर्दै सोहीअनुरूपको नीति निर्माण गरिनुपर्छ । साथै राष्ट्रिय स्वाधीनताका विषयमा अनेरास्ववियुको भूमिका महत्त्वपूर्ण बनाउनु पनि उत्तिकै आवश्यक छ । विदेशमा विद्यार्थी संगठनहरू सक्रिय भएमा क्याम्पस र शैक्षिक गुणस्तरको वातावरण सुध्रिने र नेपालमा भने त्यसको विपरीत विद्यार्थी संगठन सक्रिय भएमा शैक्षिक गुणस्तर खस्केको आरोपलाई अनेरास्ववियुले चिर्नु नै विधान सम्मेलनको आवश्यकता र उपलब्धि हुनुपर्छ । त्रिविको आंगिक क्याम्पसहरूको परीक्षा नतिजा कम उत्तीर्ण हुँदै गएको देखिनुु र काठमाडौं विश्वविद्यालयको परीक्षा नतिजामा भने सधैँजसो बढी प्रतिशत उत्तीर्ण हुनु वास्तवमा व्यवस्थापन र विद्यार्थी संगठनहरूको अक्षमताको उदाहरण पनि हुन् । नेपालका सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएकाले निजी विद्यालयहरूमा चर्काे शुल्क तिरेर विद्यार्थी अध्ययन गर्न बाध्य भएकाले अनेरास्ववियुले सरकारी, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति विधान सम्मेलनमा योजना ल्याउनुपर्छ ।
विद्यार्थी संगठनमा देखिएका गुन्डागर्दी, क्याम्पसमा हुने झगडा, विद्यार्थी संगठनका अनैतिक गतिविधि, बन्द हडताल एवं सरकारी क्याम्पसको प्राध्यापकहरूको अनुपस्थिति र अल्छीपन, सरकारी विद्यालय र क्याम्पसमा बढी राजनीतिक हुने, पढाइ नहुने आदि जस्ता गतिविधिले विकृतिहरू भmाँगिदै गएका छन् । दुर्गम गाउँ–जिल्लामा अनुगनमको कमी, आधुनिक शिक्षण पद्धतिको कमी आदिका कारणले सरकारी स्वामित्वमा रहेका विद्यालय, क्याम्पसको शैक्षिक वातावरण र परीक्षा नतिजामा निरन्तर ह्रास आएको देखिन्छ । यसका सुधारका सम्बन्धमा पनि विधान सम्मेलनले ध्यान दिनुपर्ने देखिन्छ । अनेरास्ववियुको नेतृत्वको निम्ति विभिन्न गुटमा विभाजित मानसिकताले गर्दा विधान सम्मेलनमा आफ्ना अनुकूल विधान बनाउन र पारित गर्न लालायित हुने अवस्था सिर्जना हुन सक्छ । त्यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधिहरू चनाखो हुन आवश्यक छ । विधान सम्मेलन आफ्नो अनुकूल नभई सामूहिक सोचमा आधारित संगठनलाई जीवन्तता दिने खालको हुनुपर्छ । नेतृत्वले पनि गुटगत सोचभन्दा माथि उठी समग्र अनेरास्ववियु र विद्यार्थीहरूको साझा मुद्दा उठाउन सके मात्र सम्मेलनको उद्देश्य पूरा हुनेछ । त्यसले अनेरास्ववियुमा गुटबन्दी मात्रै देख्नेहरूलाई दह्रो जवाफ दिनेछ । आन्दोलन र शैक्षिक कार्यक्रमको गतिहीनतालाई समेत क्रमभंग गरी कार्यकर्ताहरूमा ऊर्जा थप्न सके मात्रै यस सम्मेलनको सार्थकता देखिनेछ ।
(लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य तथा नेपाल कमर्स क्याम्पसका स्ववियु सचिव हुन् ।)

प्रतिक्रिया