भट्टराईलाई बहिष्कार गर्नुपर्छः विजुक्छे

काठमाडौं, ७ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अटेर गरेर सत्तामा टाँसिरहने कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद छाड्न बाध्य बनाउन सबैले बहिष्कार गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘सन्चारमाध्यम, कर्मचारीहरु सबैले भट्टराईलाई बहिस्कार गर्नु पर्छ ।’ भक्तपुरस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यती नै मुलुकका लागि दुर्भाग्य हुने बताए ।
उनले राष्ट्रपति डा.रामवरण यादवलाई सत्ताहातमा लिन पनि सुझाव दिए । उनले भने, ‘भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा राष्ट्रपतिले सरकार गठन गर्नुपर्छ ।’ उनले सहमतिको बाधक बन्ने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने उल्लेख गरे ।
‘राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन,’ उनले भने, ‘अब कदम चाल्नु पर्छ ।’
संविधानसभा विघठन गरेर अध्यादेशबाट शासन सञ्चालन गरी सत्ता कब्जा गर्ने रणनीतिका साथ एमाओवादी आगाडि बढेको उनको आरोप थियो ।
अध्यक्ष विजुक्छेले भारतको सहयोगमा जनयूद्ध गरेका एमाओवादीले अहिले पनि भारतकै हितमा काम गरिरहेको उनीहरुका गतिविधिले पुष्टि भएको दावी गरे ।
‘जनयूद्धका बेला भारतबाट ट्रकमा हालेर हतियार ल्याएको ड्राईभरलाई मैले नै भेटेको थिए,’ उनले भने, ‘भारतको समर्थन नभएको भए प्रचण्ड त्यसरी बस्नै सक्दैन थिए ।’
उनले भने, ‘प्रधानमन्त्री भट्टराई मार्फत गुप्तचर, भन्सार, सेना प्रहरीमा आफ्ना मान्छे प्रवेश गराएर विस्तारै मुलुकनै हडप्ने षडयन्त्रमा एमाओवादी र भारत लामो योजना अन्तर्गत काम भईरहेको छ ।’

प्रतिक्रिया