नेपाल प्लेटबाट पनि बाहिरियो

मेलबर्न, ५ भदौ । नेपाल आइसिसी यु–१९ विश्वकपको ‘प्लेट च्याम्पियनसिप’ बाट पनि बाहिरिएको छ । सोमबार नवौँ स्थानका लागि भएको क्वार्टरफाइनल प्ले–अफमा नेपाल श्रीलंकाद्वारा आठ विकेटले पराजित भएपछि यो अवस्था सिर्जना भएको हो ।
विश्वकपमा सहभागी १६ टिममध्ये समूहचरण पार गर्न नसक्ने आठ टोलीले प्लेट च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्छन् । नवौँ स्थानमा रहने टोली नै प्लेट च्याम्पियन हुने प्रावधान छ । नेपाल सन् २००६ मा प्लेट च्याम्पियन बनेको थियो भने सन् २००८ मा उपविजेता भएको थियो । पछिल्लो विश्वकप (२०१०) मा भने नेपाल छनोट नै नभएर सहभागी हुन सकेको थिएन ।
टस जिती पहिला ब्याटिङ गरेको नेपाल २७.३ ओभरमा ७९ रनमा समेटिएको थियो । प्राप्त लक्ष्य श्रीलंकाले २०.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरी श्रीलंकाले जित लगभग निश्चित गरेको थियो ।
अर्को खराब इनिङ खेल्ने क्रममा नेपालका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके । सुभाष खकुरेलले २२ र राजेश पुलामीमगरले १६ रन जोडेका हुन् । प्रदीप ऐरी ४, सागर पुन १, नरेश बुढाएर ४, पृथु बास्कोटा ५ र हसिम अन्सारी १ रन जोडेर आउट भए । त्यस्तै राहुलकुमार विश्वकर्मा २, अविनाश कर्णले २, सौरभ खनालले ४ रन जोडे भने भुवन कार्कीले खाता खोल्न सकेनन् । समूहचरणमा सबै खेलमा हार व्यहोर्दै नेपाल प्लेट च्याम्पियनसिप खेल्न बाध्य भएको थियो ।
समूहचरणको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ८२ रन मात्र जोड्दै २१२ रनले पराजित भएको नेपाल इंगल्यान्डविरुद्ध १२७ रनले हार व्यहोर्न बाध्य भएको थियो । आयरल्यान्डविरुद्ध खेलिएको अन्तिम समूह खेलमा भने नेपाल १८५ रनको लक्ष्य पछयाउने क्रममा १७१ रनमा सीमित भएको थियो । प्रतियोगितामा नेपालका सुभाष खकुरेलबाहेकका खेलाडीले गरेको ब्याटिङ प्रदर्शन बिर्सनलायक रहयो । सुभाषबाहेक कुनै पनि ब्याट्सम्यानले जारी प्रतियोगितामा अर्धशतकीय इनिङ खेल्न सकेका छैनन् । नेपाली ब्याटिङ मात्र होइन, बलिङ र फिल्डिङ पनि प्रतियोगितामै सबैभन्दा कमजोर देखिएको छ ।
नेपालले अब १३आँै स्थानका लागि नामिबियासँग सेमिफाइनल प्लेअफ खेल्नेछ । यसको मतलब नेपाल अब कम्तीमा प्रतियोगिताको १३आँै स्थानमा मात्र रहनेछ । नवाँै स्थान अर्थात् प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा आयरल्यान्ड, अफगानिस्तान, श्रीलंका र स्कटल्यान्ड पुगेका छन् । प्लेट च्याम्पियनसिपको क्वार्टरफाइनलमा आयरल्यान्डले नामिबिया, अफगानिस्तानले पपुआ न्युगिनी र स्कटल्यान्डले जिम्बावेलाई पराजित गरेका हुन् ।

भारत सेमिफाइनलमा
प्रतिस्पर्धात्मक एवं रोमाञ्चक भिडन्तमा साविक उपविजेता पाकिस्तानलाई एक रनले निराश पार्दै भारत आइसिसी यु–१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘लो स्कोरिङ’ भिडन्तमा भारतले प्राप्त १३७ रनको लक्ष्य कठिन चुनौती सामना गर्दै ४८ ओभरमा पूरा गरेको थियो । भारतको जितमा बाबा अपराजित नायक बने । ५१ रन जोडेका अपराजितले ८–३ को स्थितिमा चौथो विकेटका लागि विजय जोल (३६) सँग ६६ रनको साझेदारी गरेका थिए भने उनी पवेलियन फर्किंदा भारत १२०–६ को स्थितिमा थियो । उनले छैटाँै विकेटका लागि समित पटेल (१४) सँग मिलेर ३६ रनको साझेदारी गरेका थिए । भारतले अन्तिम विकेटका लागि १० रनको साझेदारी गरेको थियो । हर्मित सिंहले अविजित रहँदै १३ रन जोडे । यसअघि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेको पाकिस्तानको इनिङमा पाँच खेलाडीले खाता खोल्न सकेनन् । प्रारम्भिक ब्याट्सम्यान बाबर आजम ५०, उमर वाहिद २७ र एहसान अदिल ३५ रन जोडी आउट भए । दबाबका बीच संकट टारेका भारतका अपराजित म्यान अफ द म्याच भए ।

न्युजिल्यान्डद्वारा वेस्ट इन्डिज पराजित
सोमबार नै भएको अर्को क्वार्टरफाइनलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई तीन विकेटले हरायो । अन्तिम ओभरमा १८ रन जोडेर न्युजिल्यान्डले उपाधि दाबेदारका रूपमा हेरिएको वेस्ट इन्डिजलाई निराश बनाएको हो । २३८ रनको लक्ष्य पछयाउने क्रममा न्युजिल्यान्डलाई अन्तिम बलमा चौका चाहिएको थियो जुन आवश्यकता सोधीले पूरा गरे । उनी एक्लैले उक्त ओभरमा १५ रन जोडेका थिए ।
५०आँै ओभरको पहिलो बलमा चौका प्रहार गरेका सोधीले चौथो बलमा छक्का प्रहार गरेका थिए भने पाँचाँै बलमा २ रन लिएर जितका लागि चौका मात्र भए हुने स्थिति सृजना गरेका थिए । आठाँै नम्बरमा ब्याटिङ गर्न आएका सोधीले १० बलमा २ चौका र १ छक्कासहित २२ रन जोडे । समूहविजेता बनेर क्वार्टरफाइनल पुगेको वेस्ट इन्डिज गत संस्करणको सेमिफाइनलिस्ट हो । अन्तिम चारमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

प्रतिक्रिया