बस दुर्घटनामा ६ जनाको मृत्यु

नवलपरासी, ५ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्किबास अरुणखोलाबीच जंगलमा आइतबार राति भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

काठामाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख १०९० नम्बरको यात्रुबाहक बस र बुटवलबाट आइरहेको युपी ५३ बी टी ९३८७ नम्बरको भारतीय ट्रक एकआपसमा ठोकिँदा चारको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
नवलपरासी प्रहरीका अनुसार मृतकमा चालक वैतडीका मदनसिंह रावल, दार्चुलाका रविन्द्रसिंह जुहारी र भारतीय नागरिक लालजी पासवानको मृत्यु भएको छ । अन्य तीनको सनाखन हुन सकेको छैन । दुर्घटनामा ४२ घाइते भएका छन् ।
घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेको सइ मुकुण्ड मरासिनीले जानकारी दिए । सातको स्थानीय मेडिकलमा, छ जना डण्डास्थित मध्यविन्दु अस्पतालमा र बाँकीको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय ट्रकले साइड चापेर गाडी चलाउँदा र गाडीको तिव्र गतिसँगै सहचालकसँग यात्रुहरूले विवाद गर्दा दुर्घटना भएको हुनसक्ने बसमा सवार घाइतेले बताए । एक महिनाअघि पनि नवलपरासीको त्रिवेणी गण्डक नहरमा तीर्थ यात्री चढेको बस खस्दा ४२ जनाको मृत्यु भएको थियो ।

त्रिशूलीमा ट्रक खस्दा तीन बेपत्ता
धादिङ : साउन महिनामात्रै धादिङमा भएका सवारी दुर्घटनामा ३० जनाले ज्यान गुमाएको घटना नबिर्सँदै पृथ्वीराजमार्ग सडकखण्डमा भदौको सुरुमै अर्को दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन बेपत्ता भएका छन् ।
धादिङ जोगिमारा–९ ज्यामिरेघाटनजिकैको पृथ्वीराजमार्गबाट मिनीट्रक त्रिशूली नदीमा खस्दा ट्रकसहित तीन व्यक्ति बेपत्ता भएका हुन् । चितवनको टाँडीबाट कुखुराको अण्डा बोकेर काठमाडौंका लागि छुटेको लु १ ख ४९४२ नम्बरको मिनी ट्रक सोमबार बिहान २ बजेतिर सडकबाट एक सय मिटर ठाडो भिर हुँदै त्रिशूली नदीमा खस्दा ट्रकका चालक मकवानपुर मनहरीका २७ वर्षीय सुवाष पौडेल, सहचालक तनहुँ कोटाका १८ वर्षीय दीपक गुरुङ र कोटाकै १७ वर्षीय रवि गुरुङ हराइरहेका छन् ।
आइतबार दिउँसोदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बढेको पानीको बहावले नदीमा खसेको ट्रक र हराइरहेका व्यक्तिको खोजीमा कठिनाई भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर विनोद घिमिरेले बताए । हराइरहेको ट्रकको खोजीका लागि घटनाको जानकारी आएलगत्तै स्थानीय, नेपाल प्रहरी र चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरीको टोली परिचलान भएको छ । (सौस)

प्रतिक्रिया