यथास्थितिमा सरकार छाड्दैनौः श्रेष्ठ

सिरहा, ४ भदौ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले संविधान निर्माणका विषयमा दलहरु बीच सहमति नबने सम्म सरकार नछाड्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आज सिरहाको लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिका लागि सरकार बाधक नरहेका दाबी गरे ।
‘राष्ट्रिय सहमतिको सरकारका विषयमा हामी छलफल गर्न तयार छौं,’ उनले भने, ‘सरकार छोड्ने कुरा हाम्रा लागि ठूलो कुरा होइन् ।’
यद्यपी उनले राष्ट्रिय सहमति नभएसम्म सरकार नछोड्ने पनि बताएका छन् । यथास्थितिमा सरकार छाड्दा मुलुक झन् समस्यामा पर्ने उनको भनाई थियो ।
उनले राष्ट्रपतिले सरकारसँग कुनै छलफलै नगरी दुई वटा अध्यायदेश फिर्ता पठाएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘त्यस विषयमा सरकारसँग छलफल गर्नुपर्ने थियो ।’
उनले मुलुकमा संविधानसभाको विघटनपछि सरकार र राष्ट्रपति दुई वटा मात्रै संस्था रहेकाले दुबै संस्थाबीच टकरावको स्थिति सृजना हुन नदिन आफूहरु सचेत रहेको बताए ।
यसैवीच, स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका श्रेष्ठले गाविस सचिवहरु तत्काल काममा नफर्किए कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘जनताको सेवा गर्ने कुनै कर्मचारीहरु कार्यालय नगए सरकारले छाडदैन् ।’
गाविस सचिवहरुले विभिन्न माग राखेर आन्दोलन गर्ने जनाई रहेका समयमा मन्त्री श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।
श्रेष्ठलाई कालो झण्डा
यसैबीच, उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई लहानको सहिद चौकमा बिपक्षी दल सम्बद्ध युवा/विधार्थीले कालो झण्डा देखाएर विरोध जनाएका छन् ।
कालो झण्डा देखाउने क्रममा प्रहरी र युवा/विद्यार्थीबीच केही समय झडप समेत भएको छ । प्रहरीले बल प्रयोग गरेर विद्यार्थीसँग रहेको कालो झण्डा खोसेको थियो ।

प्रतिक्रिया