राष्ट्रिय च्याम्पियनसिपपछि महत्त्वाकांक्षी बनेको साइनिङसन

काठमाडौं, ४ भदौ । एक दशकअघि नेपाली महिला फुटबलमा कैलाली जिल्ला एकाएक शक्तिका रूपमा स्थापित भयो । मंगलादेवी राष्ट्रिय महिला कैलाली जिल्ला उपविजेता बनेपछि यो जिल्लाले नेपाली फुटबलमा राम्रो छवि बनाउन सफल भयो । मोरङसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको कैलालीकी चन्द्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेकी थिइन् । नेपाली महिला फुटबलमा काठमाडौंको प्रभाव त्यसै समय खस्किएको थियो । त्यसै समय शक्तिका रूपमा स्थापित कैलाली पनि लामो समय त्यो छवि कायम राख्न असफल भयो । त्यसै प्रतियोगिताकी उत्कृष्ट खेलाडी बनेकी चन्द्रा पनि नेपाली फुटबलबाट हराएझैँ भइन्, लामो समयसम्म ।
नेपाली फुटबलमा एक दशकपछि कैलाली जिल्ला फेरि शक्तिको रूपमा उदायो । गत महिना रौतहट र बारामा सम्पन्न एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगितामा कैलालीले सेमिफाइनलको यात्रा तय गर्‍यो । सेमिफाइनल प्रवेश गर्ने कैलाली एक मात्र गैरविभागीय शक्ति थियो । यसकारण आमपब्लिक टोलीमा कैलाली पहिलो शक्ति हो भन्ने कैलालीको दाबी सार्थक पनि देखिएको छ । यो एक दशकमा कैलालीलाई महिला फुटबलमा स्थापित गराउने काम साइनिङसन फुटबल एकडेमीले गर्‍यो । भरत थापा अध्यक्ष रहेको साइनिङसनको प्रभाव रहँदा राष्ट्रिय च्याम्पियनसिपको कैलालीको टोलीमा गोपाल चौधरी औपचारिक प्रशिक्षक थिए । प्रतियोगितामा टोली हेर्न पुगेका थिए, नेपाल पुलिस क्लबका पूर्वखेलाडी रामहरि थापा ।
सेमिफाइनलमा एपिएफसँग कैलाली ४–० ले पराजित भए पनि उनीहरूले हार मानेनन् । ‘पछिल्लो साग खेल र साफ च्याम्पियनसिपमा भारतबाहेकका सबै टोलीलाई आधा दर्जनभन्दा बढी गोल गर्ने राष्ट्रिय टोलीका चन्द्राबाहेक सबै खेलाडी एपिएफमा छन् । उनीहरूसँग हाम्रो यो प्रदर्शन सन्तोषजनक नै छ,’ प्रशिक्षक रामहरि भन्छन् । उनीहरूकै मतका अनुसार साइनिङसन र कैलाली फुटबल एक अर्काका पूरक हुन् । आफ्नो आगामी लक्ष्य साइनिङसनका उत्पादनलाई दक्षिण एसियाली स्तरमै स्थापित गराउने भए पनि उनीहरूसँग थप समस्या भने नभएको होइन । ‘हाम्रो व्यक्तिगत प्रयासमा यहाँसम्म आयौँ । यहाँभन्दा अघि बढ्न कर्पोरेट संस्था र राज्यको सहयोग पनि अनिवार्य छ ।’
एकेडेमीका अध्यक्ष भरत भने सबैलाई विश्वस्त तुल्याउँदै साइनिङसनको भावी कार्यदिशाबारे उनले भने, ‘कसैले हामीलाई सहयोग गर्छ भने हाम्रो लक्ष्य पनि प्रस्ट पार्छौं । यदि हामी लक्ष्यमा पुगेनौँ भने हामीलाई सहयोग गर्नेलाई क्षतिपूर्तिसमेत दिनेछौँ ।’

प्रतिक्रिया