दिनमा चौधथरीका औषधि खान्छु

हालसालै अठहत्तर वसन्त पार गरे पूर्णप्रकाश नेपाल ‘यात्री’ ले । कुनै बेला यायाबर भएर बाह्र वर्ष लगातार नेपाल घुमे उनले । समाजशास्त्र र मानवशास्त्रमा गहिरो अनुसन्धान गरेर कपाल सेताम्मे बनाएका छन् । होचो कदकाँठी अनि मुहारमा लामो दाह्री, आँखामा चस्मा लगाएका, छुट्टै प्रकाश र तेज भएका, नेपाली साहित्य एवं लोकसाहित्यका नक्षत्र यात्री हाल फैकाटारमा निवास जमाएर बुढ्यालीको रस लिँदै छन् ।

खाटमा ठाँटले बसेर उनले स्मृतिको एउटा अचम्मको पोको खोले अनि अनौठो प्रसंग झिकेर बाहिर फाले । बराजुका पनि बराजु अर्थात् उनीभन्दा सात पुस्तामाथिदेखि नै उनको वंशपरम्परा सात छोराको चलन नै चलेको रहेछ । आफ्ना पनि त्यति नै सन्तान भएकाले यात्री यसबारे खुलासा गर्दै आफ्नो धारणा व्यक्त गर्छन्, ‘खै † यो के हो कुन्नि ? सायद, बाबुबाजेको शुभ आशीर्वाद होला ।’
कुनै बेला आँखाले मेची देखेका, गोडाले महाकाली हिँडेका डा. के आइ सिंहसँग सिफारिसपत्र लिएर सेती छिरेका ‘यात्री’ आफ्नो शारीरिक रोगको अमिलो विवरण प्रत्यक्ष जोस, जाँगर र उत्साहसाथ सुनाउँदै भन्छन्– ‘५९ सालमा धमिलो देखेँ, अप्रेसन गरेँ । अहिले टाढाको अन्धकार र नजिकको आकार मात्र देख्छु । लेख्ने पढ्ने काम अहिले छाडेँ, डिक्टेट गर्छु । नसासम्बन्धी रोगले गर्दा पहिला एउटा र पछि अर्को खुट्टा पनि चल्न छाडे । भोक खासै लाग्दैन, दिनमा चौधथरीका औषधि खानुपर्छ । कान काम सुन्छु, फोन सम्पर्क छैन ।’ उनी ‘यात्री’ उपनामको आख्यान थप्दै दाबी गर्छन्, ‘वनकालीमा विश्व हिन्दू सम्मेलनमा कोसीबाट प्रतिनिधि भएर आएका बेला अपार भिडका सामुन्ने योगी नरहरिनाथले ‘यात्री’ उपनाम उपहार दिएका थिए ।’
सुप्रसिद्ध पुरातत्त्ववेत्ता, इतिहासकार, भाषाविद्जस्ता परिचयले उनले आफूलाई स्वनामधन्य विद्वान् बनाएका छन् । ‘के गर्नु दाँत छैन †’ लामो आँ गरेर देखाउँदै थप्छन् ‘माझमाझमा एउटा–एउटा छ । नत्र मलाई पनि मेरो प्रिय फलफूल भेट्टाएसम्म खान मन लाग्छ नि † काँक्रो, बेलौती र जापानी नासपाती ।’ उनी छोटोमा भन्छन्, ‘अब त झोल कुरामा
गुजारा गर्छु ।’
जीवनमा कहिल्यै अम्मल नगरेका यिनले माछामासु कहिल्यै छोएका रहेनछन् । बिहान मात्रै भात खाने, राति ९ बजे औषधि खाँदा एक गिलास गाईको दूध अनिवार्य चाहिने, पहिला दिनहुँ नुहाउने गरे पनि अहिले औँसी–पूर्णे र संक्रान्तिमा मात्र नुहाउने, जहरबातका रोगी भए पनि रहरदाल औधी मन पराउने स्वभाव बनाएका छन् यात्रीले । यात्रा गर्दा ताली मात्रै होइन, गाली पनि खाएको सम्झँदै उनी भन्छन्, ‘एकपटक सुर्खेत जिल्लाको पश्चिम भागमा पुग्दा पुराना जमानाका सामन्त (अहिले सावद भन्छन् क्यारे) का घरमा बास माग्न पुग्दा उनले जोडले हपार्दै भने, ‘तँ राणाको पूत आउँदा भइ हामी क्याराउँदा भयौँ ? त्यामी आउँदा हौँ भनेर थाहा पाउँदा हौ त बटुकामा भात राख्दा हौँ ।’ यात्री निल्ल र जिल्ल पर्दै अर्को थातबास खोज्नतर्फ लागे ।
१५ दिनको फरकमा डाक्टरकामा पुग्छन् उनी । एउटै सुईको ४५ सय खुत्रुक्क बुझाउनुपर्दाे रहेछ । अनि महिनामै २१ हजारको औषधि लाग्दो रहेछ । रोगसँग फाइट खेल्न जुस पनि निकै खान्छन् ।
तर पनि इतिहास र अनुसन्धानका कुरा भनेपछि चनाखा हुन्छन् । सुनाउँछन्, यी खारिएका इतिहासकार– ‘जतिसुकै ढोल र नगरा घन्काए पनि यहाँ कसैले साँचो र सत्य इतिहास लेखेका छैनन्, तिनले आफू अनुकूल केही बंग्याएका पनि छन् । बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली र तुलसीनारायण श्रेष्ठले सत्य र साँचो इतिहास लेखेका छन् ।’
००८ सालमा नेपाली साहित्यमा प्रवेश गरेका, अप्रकाशित पाण्डुलिपिका चाङ भएका, रेडियोमा समाचार र लोकभाका सुन्न मन पराउने यात्री विश्वविद्यालयमा एक्लैले छुट्टाछुट्टै तीनवटा विषयसम्म पढाउँथे । दिउँसो हाई आए पनि सुत्न मन पराउँदैनन्, बरु कहिलेकाहीँ बसीबसी झकाउँछन् । कसरत र व्यायामको नाममा हातलाई झड्का दिँदै हल्लाउँछन् । बेलुकी ९ देखि ९:३० भित्रमा सुत्ने चलन भएका यात्रीले सोधखोज गरेर नेपालमा भएका थरको मूल घर, कायाकैरन, नालीबेली र ठाउँठहर पनि पत्ता लगाएका छन् ।
गीत गाएर मन्त्रमुग्ध बनाउने गला र कला पनि रहेछ यिनको । त्यति बेला कर्णप्रिय स्वरमा गाउँठाउँका लोकभाका टिपेर गीत गाउँदा तरुनीबरुनी तँछाडमछाड गरेर उनका पछि लाग्थे अरे † उनलाई लालगेडीझैँ आँखामा राख्न चाहन्थे रे † एकपटक यिनले गीत गाएको सुनेर एउटी–दुइटी होइन, एघार जना तरुनी झुत्तिएर पछि लागेछन् । उनीहरूलाई बल्लतल्ल सम्झाएर घर पठाएछन् । त्यसपछि उनले जहाँ पनि गीत गाउनुभन्दा पहिले नै भन्न थालेछन्, ‘हेर, मत १४ वर्ष आर्यसमाजमा बसेको आर्यसमाजी मान्छे, तिमीहरू भनेका मेरा चेलीबेटी र बहिनी हौ, ख्याल राखे है ।’ त्यसपछि बल्ल राहत पाउन थाले पनि एक–दुईवटी त प्रेमको चाहना गरेर आइपुगिहाल्थे ।
आफ्नो दाह्रीजुँगाभित्रको कहानी सुनाउँदै उनी भन्छन्, ‘१४ वर्षको उमेरदेखि दाह्रीजुँगा पालेँ । बीचबीचमा चार–पाँचपटक वियोग पर्दा फालेँ । गुरुले मेरो व्रतबिँडो थामेस्, दारी जुँगाचाहिँ पालेस् भनेकाले यो पनि गुरुले मलाई दिएको आशीर्वाद र प्रसाद नै हो ।’ अनि ठट्टाका स्वरमा उनले भने– ‘जहाँ क्रिया, त्यहाँ प्रतिक्रिया हुनु स्वाभाविक नै हो । हो, मैले दाह्रीजुँगा पालेर हजाम र ब्लेड कम्पनीलाई घाटा लगाएँ, उनीहरूको बजारै बन्द भयो मेरो तर्फबाट ।’
म पनि आफ्नो पसल बन्द गर्दै डायरी र कलम झोलामा थन्क्याएर अभिवादन गर्दै त्यहाँबाट हिँड्छु । उनी कर्णप्रिय आवाजमा लोकभाका
उराल्न थाल्छन्–
ओहो मादल काँ बज्यो
लौन मादल काँ बज्यो
काँ बज्यो ।
लौन यो मन मेरो रुवायो
कल्ले बजायो …†

प्रतिक्रिया