एमालेका असन्तुष्ट जनजाति नेतामै फाटो

काठमाडौं, ४ भदौ । नेतृत्वसित असन्तुष्ट एमालेका जनजाति नेताहरूबीच आपसमै फाटो उत्पन्न भएको छ । पार्टीले समय–सीमा नै दिएर पुरानो भूमिकामा फर्कन आग्रह गरेपछि उनीहरू दुई फरक कित्तामा बाँडिएका छन् ।

पार्टी छाडेर नयाँ पार्टी बनाउने कि पार्टीभित्रै अन्तरसंघर्ष जारी राख्ने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको हो । पार्टीले आºना मुद्दा सम्बोधन गर्नुको साटो झन् कडा रबैया अपनाएको केही नेताको बुझाइ छ । अर्काथरीले भने आफूहरूको नौबुँदे मागपत्रका विषयमा पार्टी दृष्टिकोण सार्वजनिक गर्ने प्रतिबद्धता आउनुलाई सकारात्मक भनेका छन् ।
पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा र केन्द्रीय सदस्य दलबहादुर रानालगायत नेता पार्टीले आºना मुद्दाबारे दृष्टिकोण सार्वजनिक गरे पार्टीभित्रै अन्तरसंघर्षमार्फत विवाद टुंग्याउँदै जाने पक्षमा देखिएका छन् । उपाध्यक्ष अशोक राई पनि नौबुँदे मागका विषयमा पार्टीको धारणा सकारात्मक आए सोच्न सकिने बताउँछन् । तर, केही नेताले समय–सीमा दिएर पूर्ववत् जिम्मेवारीमा फर्कन गरेको आह्वानलाई तेस्रो चरणको कारबाहीका रूपमा अथ्र्याएका छन् ।
पोलिटब्युरो सदस्यद्वय गुरुङ र झा तथा केन्द्रीय सदस्य राना, किरण गुरुङ र वीरबहादुर लामा पार्टीभित्रै वैचारिक संघर्ष चलाएर बस्नुपर्ने पक्षमा उभिएको स्रोतले बतायो । यता, पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर राई काङमाङ भने पार्टीमा रहने सम्भावना क्षीण भएको निष्कर्षमा छन् ।

‘पार्टी नेतृत्व कसरी आउँछ हेर्छौ, नौबुँदे मुद्दाका विषयमा सकारात्मक दृष्टिकोण आए सोच्न सकिन्छ,’ उपाध्यक्ष राईले सौर्यसँग भने, ‘अहिलेसम्म केही आएको छैन औपचारिक रूपमा पार्टी दृष्टिकोण आएपछि कुरा गरौँला ।’
शनिबार बसेको एमाले स्थायी समिति बैठकले असन्तुष्ट नेताहरूले बुझाएको नौबुँदे मागका विषयमा पार्टी दृष्टिकोण अघि सार्ने, निष्क्रिय रहेका नेतालाई पूर्ववत् जिम्मेवारीमा फर्कन आह्वान गर्ने र पार्टीमा फर्कने सम्भावना नरहेको अभिव्यक्ति दिएका उपाध्यक्ष अशोक राईसँग लिखित धारणा माग्ने निर्णय गरेको थियो । पार्टीभित्रै रहन चाहने नेताहरूले नौबुँदे मागका विषयमा पार्टीले धारणा सार्वजनिक गर्ने अग्रसरता देखाउनुलाई सकारात्मक रूपमा लिएका छन् ।
‘पार्टीले यस विषयमा दृष्टिकोण सार्वजनिक गरोस् न हामीलाई किन एमाले छाड्नुपर्‍यो ?’ पोलिटब्युरो सदस्य रामचन्द्र झाले सौर्यसँग भने, ‘कतिपय कुरा अहिले नै सम्बोधन होलान्, कतिपय कुरा काम गर्दै जाँदा मिल्दै जान्छन् ।’ समाधानबारे पार्टी नेतृत्वसँग नियमितजस्तै कुराकानी भएको झाले बताए । अर्का पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ पनि पार्टी छाड्ने पक्षमा देखिएका छैनन् । एक सातादेखि अमेरिका भ्रमणमा रहेका गुरुङले अमेरका जानुअघि धुलिखेल भेलाको निष्कर्ष पार्टी छाड्ने नभएर पार्टीभित्रै अन्तरसंघर्ष चलाउने रहेको बताएका थिए ।
पार्टीबाट अलग भएर नयाँ शक्ति निर्माणमा जोड दिने असन्तुष्ट नेताहरूले भने पार्टीले पछिल्लोपटक गरेको आह्वानलाई पार्टी झन् पछाडि फर्कने संकेतका रूपमा अथ्र्याएका छन् । ‘यो झन् पछाडि फर्कने निर्णय हो,’ केन्द्रीय सदस्य रकम चेम्जोङले सौर्यसँग भने, ‘मुद्दाका विषयमा झुकेर टाङमुनि छिराउन हामीमाथि तेस्रोपटक कारबाही गरिएको रूपमा बुझेका छौँ ।’
एमालेका जनजाति समूहभित्र मुद्दामा असहमति नभए पनि पार्टीभित्रै रहेर संघर्ष गर्ने वा नयाँ शक्ति निर्माण गर्ने भन्नेमा केही मतभेद रहेको केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले बताए । ‘हामीले उठाएका मुद्दामा मतभेद छैन, केही साथी पार्टी अन्तरसंघर्षले ठीक ठाउँमा आउँछ भन्ने विश्वास गर्नुहुन्छ,’ श्रेष्ठले सौर्यसँग भने, ‘तर, हामीलाई अन्तरसंघर्षबाट पार्टी ठीक ठाउँमा आउँछ भन्ने विश्वास छैन ।’ श्रेष्ठले नौबुँदे मागको मुख्य विषय संविधानसभा पुन:स्थापना र संघीयताका विवादित विषय टुंग्याएर संविधान जारी गर्ने रहेकाले त्यसमा नेतृत्व सहमत भए मात्र आफूहरू एमालेमा रहने बताए ।
‘संविधानसभा पुन:स्थापना गरी संविधान जारी गर्ने लाइनमा एमाले गए अरू मुद्दा मिल्न सक्छन्,’ श्रेष्ठले भने, ‘अरू सबै कुरा छाडेर पुच्छरमा हात लगाउने कुरा हामी मान्न सक्दैनौँ ।’ यसअघि एकल पहिचानका प्रदेश निर्माण गरी राज्य पुन:संरचनाका पक्षमा उभिन र राजनीतिक गतिरोध निकासका रूपमा संविधानसभा पुन:स्थापनालाई स्वीकार गर्नुपर्नेसहित नौबुँदे मागपत्र उपाध्यक्ष आशोक राईले पार्टी नेतृत्वलाई बुझाएका थिए ।

प्रतिक्रिया