“एक रुपियाँ पनि बाँकी नराखी सबैलाई फिर्ता दिन तयार छु”

युनिटी लाइफ इन्टरनेसनलका अध्यक्ष काशीराम गुरुङ पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् । राष्ट्र बैंकको अनुमतिविना निक्षेप संकलन गरी जनताको अर्बौं रुपियाँ ठगेको उजुरी परेपछि प्रहरीले विशेष अपरेसन थालेको थियो । त्यही बेला युनिटीका अधिकांश सञ्चालक पक्राउ परे पनि अध्यक्ष गुरुङ भने फरार थिए । १७ साउनमा इलामको पशुपतिनगरबाट पक्राउ गरेलगत्तै ललितपुर प्रहरीले जिल्ला अदालत ललितपुरमा बुझायो । पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएपछि उनी नख्खु कारागार पुगेका हुन् । उनीसँग सौर्यकर्मी टेकराज थामीले गरेको विशेष अन्तर्वार्ताको मुख्य अंश : 

कस्तो लाग्दै छ जेलको बसाइ ?
राम्रो छ । म यदि जेल नपरेको भए यहाँभित्रको जीवन अनुभव गर्न पाउँदिनथेँ । बहिरबाट जेललाई जुन नजरले हेरिन्छ, भित्र त्यस्तो नहुँदो रहेछ । यहाँ पनि छुट्टै समाज रहेछ । नीति, नियम र कडा अनुशासन हुँदो रहेछ । एकले अर्कोलाई सहयोग गर्ने वातारण भएको मैले पाएँ । म सम्झिन्छु कुनै दिन न्युटन पनि जेल परेका थिए । हवाइजहाज उडाउने राइट ब्रदर्सलाई दुनियाँले पागल भनेका थिए । म त को नै हुँ र ?
समय बिताउन त गाह्रो भइरहेको होला नि ?
बिल्कुल छैन । अरूलाई समय कसरी बिताऊँ भन्ने होला तर मलाई समय नै पुगिरहेको छैन । यहाँ पुस्तकालयको व्यवस्था छ, पत्रपत्रिका, टेलिभिजन, रेडियो छ । धेरैजस्तो मेरो समय पुस्तकालयमा नै बित्ने गर्छ । हेल्थ क्लब पनि छ । फुर्सदको समय व्यायाम पनि गर्छु । समाचारका लागि पत्रपत्रिका, टेलिभिजन हेर्छु । बाँकी समय भेटघाटमा बित्छ ।
जीवनमा जेल पर्छु भन्ने कहिल्यै सोच्नुभएको थियो ?
थिएन, सोच्दै नसोचेको भयो ।
कसरी यस्तो स्थिति आयो त ?
यस विषयमा म आफैँ अनभिज्ञ छु । म त एउटा व्यवसाय गर्ने मान्छे । मेरो मातहतमा प्रत्यक्ष रूपमा ३० हजारले रोजगार पाएका थिए  । अप्रत्यक्ष रूपमा रोजगार पाउनेको संख्या ६० हजारभन्दा धेरै थियो । प्रत्येक वर्ष ७० देखि ८० लाख रुपियाँ राज्यलाई कर तिरेको थिएँ । तर पनि यस्तो भयो । मलाई लाग्छ, यसो गरिनुमा दुईवटा कारण हुन सक्छन् । पहिलो– मेरो प्रगति हेर्न नचाहने धेरै भए । दोस्रो– सबैका काम युनिटीले गरेपछि हामीले के गर्ने भन्ने भ्रम केही व्यक्तिमा पर्‍यो । केही राजनीतिज्ञले समेत यस्ता कुरा गरेको मैले सुनेको छु ।
तपाईंले त सोझासाझा जनताको पैसामा खेलबाड गर्नुभयो, होइन र ?
होइन, म व्यवसायी हुँ । अन्य व्यवसायीले झैँ मैले पनि सेवा बेच्छु । सामग्री बेच्छु । त्यसबापत मैले पैसा लिएको हुँ । मेरोजस्तै व्यवसाय गर्ने संघसंस्था दुई लाखभन्दा धेरै छन् । उनीहरूले पनि मेरो कम्पनीले झैँ वित्तीय कारोबार गर्छन् । फरक यत्ति हो कि मेरो ‘बिजनेस कन्सेप्ट’ नेपालका लागि नौलो थियो । त्यसैले चाँडै लोकप्रिय बन्यो । यसमा ‘फ्रड’ हुने काम मैले के गरेँ ? यही ‘स्किम’कै कारण बंगलादेशमा डाक्टर युनिसले नोबेल पुरस्कार जिते । सिंगापुर बनेको यस्तै ‘स्किम’ का कारण हो ।
बैंकको अनुमतिविना फरक–फरक ‘स्किम’अनुसार जनताबाट पैसा संकलन बैंकिङ कसुर होइन र ?
कसरी हुन सक्छ यस्तो ? यो आरोप मात्रै हो, यसमा कुनै प्रमाण छैन । मेरो कम्पनीले ‘प्याकेज’ बेचेको हो । के सेवा र वस्तु बेचेर पैसा संकलन गर्न नपाउने ? एयरलायन्सहरूले यस्तै काम गरेका छन् । व्यापारीहरूले यस्तै काम गरेका छन् । के उनीहरूलाई बैंकिङ कसुरअन्तर्गत कारबाही गर्न मिल्छ ?
तपाईंले बेचेको ‘प्याकेज’ र सामग्री बजार मूल्यभन्दा निकै महँगो थियो नि ?
बिल्कुल होइन, म दाबाका साथ भन्छु, हाम्रो ‘प्रोडक्ट’ बजारमा पाइने सामानको मूल्यभन्दा केही प्रतिशत सस्तो थियो, महँगो थिएन । डिपार्टमेन्टल स्टोरमा गएर हेर्नुहोस् तपाईं यसबारे आफैँ थाहा पाउन सक्नुहुन्छ ।
कम्पनी बन्द भए पनि तपाईंसँग पुँजी त ठूलो परिणाममा छ रे नि, हो ?
हो, राजस्व अनुसन्धान विभागले तोकेअनुसार कम्पनीको अझै पनि चार अर्ब रुपियाँ बराबरको कुल पुँजी छ । ४५ करोड रुपियाँ बैंक ‘ब्यालेन्स’ छ । विभिन्न स्थानमा तीन सय रोपनीभन्दा धेरै जग्गा छ । १७ वटा अस्पताल छन् । १९ वटा डिपार्टमेन्टल स्टोर छन् । चितवनमा दुग्ध डेरी उद्योग छ । युनिटी सोप इन्ड्रस्ट्रिज छ । बेम्बो प्लाइउड कम्पनी छ । हाम्रो योजनामा युनिटी एयरलायन्स कम्पनीसमेत खोल्ने थियो ।
त्यो त साढे तीन लाख जनताबाट संकलन गर्नुभएको सम्पत्ति होइन र ?
हो, छरिएर रहेको पुँजीलाई एकीकृत गरी त्यसको व्यवसायीकरण गर्ने योजनाअनुसार नै जनताबाट विभिन्न प्याकेजअनुसार पैसा संकलन गरिएको हो । त्यही मुताबिक जनतालाई सेवा पनि दिएकै हो । तापनि मैले भनेकै छु, यदि कोही सदस्य आफ्नो पुँजी फिर्ता लिन चाहन्छ भने एक रुपियाँ पनि बाँकी नराखी सबैलाई लाइन लगाएर फिर्ता दिन तयार छु । कोही कम्पनीको सेयर होल्डर बन्न चाहन्छ भने त्यो पनि उपलब्ध गराउन तयार छु । ‘ट्रान्ज्याक्सन’ धेरै हुने भएकाले नेपाल सरकारले आफ्नो प्रतिनिधि कम्पनीमा राख्न चाहे पनि म तयार छु । कर भ्याट के कति छ बाँकी सबै तिर्न म तयार छु ।
अब छेक्यो केले त ?
राज्यले । सुरुमा व्यवसायलाई प्रोत्साहन गर्न राज्य नै लाग्यो । तर, चार वर्षपछि बन्द गराउन पनि राज्य नै लाग्यो । कम्पनीको नाममा रहेको सारा सम्पत्ति अहिले रोक्का छ । यो स्थितिमा म कसरी जनताको पैसा फिर्ता दिन सक्छु । यति हुँदाहुदै पनि दुई हजारजनालाई त हामीले साढे दुई करोड रुपियाँ फिर्ता गरिसकेका छौँ । खाता रोक्का भएपछि अडिट गर्न मिल्दैन । यो स्थितिमा राज्यलाई कर तिर्न सक्ने कुरै भएन । समस्या यहीँ छ ।
यी सबै जानकारी हुँदाहुँदै बीचमा फरार हुनुको कारण नि ?
म फरार भएको होइन, दिल्लीमा गएर बसेको थिएँ । जुनबेला मेरो कम्पनीमाथि राज्य खनियो । यी सबै कुराको ‘फेस’ म त्यतिबेलै गर्न सक्थेँ किनकि कुनै न कुनै दिन ‘फेस’ गर्नैपर्ने थियो । त्यसबेला वातावरण हाम्रा लागि अनुकूल रहेन । तर, अहिले स्थिति बदलिएको छ । त्यसैले कानुनको फेस गर्न म आएँ ।
त्यसो भए तपाईंले राज्यसमक्ष आत्मसमर्पण गरेको हो ?
म दार्जिलिङबाट नेपाल भित्रिँदै थिएँ । त्यहीबेला प्रहरीका साथीहरूले मलाई चिनेछन् । उनीहरूले पक्राउ गरे । यसलाई तपाईं जे ठान्नुहुन्छ, त्यही भन्न सक्नुहुन्छ ।
अदालतबाट तपाईंले के अपेक्षा गर्नुभएको छ ?
बहस भर्खर सुरु भएको छ । मलाई शतप्रतिशत विश्वास छ, अदालतले मलाई न्याय दिनेछ । रोक्का भएको सम्पत्ति फुकुवा हुनेछ र मैले मेरो व्यवसाय पूर्णरूपमा सञ्चालन गर्न पाउनेछु ।
अदालतले कैद गर्ने फैसला गर्‍यो भने नि ?
त्यसलाई स्विकार्नै पर्‍यो नि । तर, यसो हुँदा जनताको तीन अर्ब रुपियाँ डुब्ने निश्चित छ । मलाई लाग्छ त्यसो नहोला । किनकि यो जनतासँग जोडिएको विषय हो । अबको मेरो पर्खाइ अदालतको फैसला नै हो ।

प्रतिक्रिया