तीन कर्म एउटै मर्म

भर्खरै मैले तीन कृति पढेँ । विमल गिरीको मुक्तकसंग्रह ‘गोधुली मन’, सन्ध्या पहाडीको कवितासंग्रह ‘घामका अक्षर’ र विजयध्वज थापाको कवितासंग्रह ‘भुङ्ग्रो नबनोस् लप्को’ । यी तिनै कृतिको समीक्षा गर्न बसेको छु ।
गोधुली मन
मुक्तकसंग्रह ‘गोधुली मन’को शीर्षासन लेख्नेक्रममा युवराज घिमिरे लेख्छन्– ‘कविताकै एक बलशाली र ऊर्जाशील हाँगो हो मुक्तक ।’ उनका अनुसार, नेपालमा यस हाँगाको जन्म भएको अहिले सय वर्ष मात्र हुन खोज्दै छ । म साहित्यको विद्यार्थी नभए पनि सत्संग ज्यादाजस्तो साहित्यकार तथा साहित्यानुरागी व्यक्तिहरूसँग मात्र भएको हुँदा सामान्य पार्टी, साहित्यइतर कार्यक्रम र व्यक्ति– संस्थाहरू मलाई प्रायश: निमन्त्रणा दिइनै रहेका हुन्छन् ।
शब्दकोषकार बालचन्द्र शर्माको नेपाली शब्दकोषले उल्लेख गरेअनुसार ‘गोधुली’ भनेको चरेर फर्केका गाईहरूका खुरले धुलो उडाएको बेलुकाको समय, प्रसिद्ध एक मुहूर्त । तसर्थ के भन्न सकिन्छ भने कवि विमल गिरीले एउटा त्यस्तो प्रतीकका रूपमा यस कृतिको नाम राखेका छन् जो चर्न गएका गाईहरूझैँ बासस्थानको लक्ष्य लिई जंगलबाट घर फर्कंदैछन् । म बुघ्छु– त्यस समयले मन ज्यादै चञ्चल बनाउँछ र उनको सोचाइ कता–कता आफ्नो गाउँघरतर्फ लम्कन खोज्छ । दुर्भाग्य † बेल्जियम आफ्नो मातृभूमिबाट यति टाढा छ, गोधुलीको चापले उडाएको धुलोले नै उनको आँखालाई देख्नै नसक्ने गरी छोपिदिन्छ । तथापि उनको ‘गोधुली मन’ एक्कासि परबाट कसैले पुकारेका यी शब्द सुन्न पुग्छ–
आउन कान्छा फलैँचामा बसौँ कुम जोडी
माया भंग गरी मेरो नजाऊ वाचा तोडी
खाउँला खोले लाउँला भोटो बसौँ स्वदेशमा
नजाऊ विदेश बिन्ती मेरो यहाँ एक्लै छोडी
तथापि आज देशमा रोजगारी मात्र होइन, शान्ति सुरक्षा र अमनचैन छैन । त्यसैले झन्डै ३० लाख युवा आज लिबियादेखि अफगानिस्तान र युरोपदेखि अमेरिकासम्म विभिन्न राम्रा–नराम्रा अनि जोखिमयुक्त कामदारका रूपमा जोतिँदै गरेको अवस्था छ । जसले जर्बजस्त रूपमा आज नेपाली डायस्पोरा साहित्य नै जन्माइसकेको स्थिति छ । हुन त ‘गोधुली मन’को विमोचन कार्यक्रममा एकजनाले वक्ता कवि कृष्ण जोशीले ‘आफूखुसी विदेश गएकाहरूका क्रन्दनबाट जन्मिएका साहित्य कदापि डायस्पोरा साहित्य हुन सक्दैन’ भन्दै कडा आक्रोश पनि व्यक्त नगरेका होइनन् तर अब नेपली डायस्पोरा साहित्यको पहिचान निकै विस्तारित भइसकेको पनि त्यत्तिकै सत्य हो । यसै सच्चाइलाई उघार्ने कृति हो विमल गिरीको ‘गोधुली मन’ ।
महँगो कागजका ६५ पृष्ठमा बुनिएको यो सानो मुक्तकसंग्रहमा जम्मा एक सय २५ वटा मुक्तक तुनिएकामा अन्तिम पृष्ठको मुक्तकबाहेक प्रत्येक पृष्ठमा दुई/दुईवटाका दरले समेटिएका छन् । यसको मूल्य १०० रुपियाँ छ भने प्रकाशकचाहिँ उही ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) छ । निश्चय नै मुक्तकले एउटा डायस्पोरा मनको खिन्नतालाई आफ्नो विषयवस्तु बनाउन खोजेकै छ तर त्यसभन्दा पनि बढी धनी गरिबको समस्या, विरही मायाका गाथा अनि कमलो हृदयको मर्मलाई छुने गरी पस्किएको छ ।
घामका अक्षर
अक्सर कार्यक्रममा भेटिइरहने मायालु अनुहार र सहृदयी बोलीकी कुवेर सन्ध्या पहाडीले किन हो कुन्नि ‘गोधुली मन’को विमोचनका दिन ‘घामका अक्षर’ कवितासंग्रह उपहारस्वरूप मलाई सुम्पिइन् । ८८ पृष्ठमा ४० वटा सुन्दर कविताहरूले सजिएको ‘घामको अक्षर’ ठ्याक्कै आफ्नो नामको विपरीत मर्म लिएर उभिएको अनुभूत हुन्छ । कवयित्रीले भनेझैँ न त यो घामले जस्तो तातो र गर्मी फ्याँक्छ न कुनै खडेरी नै फ्याँक्छ । त्यसको विपरीत यसको अंगअंगले त प्रेम र मायाको शीतलताको खोजी गर्छ त † अवश्य हो, कतै–कतै कवयित्री आफ्नो माया हराएजस्तो विभिन्डिएजस्तो प्रतिक्रिया दिन खोज्छिन् । अनि कहीँ–कहीँ त्यस मायाले आफूलाई मक्करमा परेजस्तो, विश्वासघात गरेजस्तो गुनासो पोख्छिन् । र, भन्छिन्–
तिमी मलाई प्राण भन्ने गथ्र्यौ
आज मेरो प्राण लिन आतुर छौ
किन आज तिमी केवल
आफ्नो मायामा क्षणभंगुर छौ
तथापि, कवयित्रीलाई आफ्नो नारीत्व र उसको सृष्टिमाथि ठूलो गौरव छ । त्यसरी नै उनि शान्तिको कामना गर्छिन् । अनि शब्द शब्दमा आफ्नो हराएको प्रेमलाई पुकारा गर्छिन् । यसले नै कविताको सौन्दर्य र ज्यानलाई पनि प्रखर एवं तेज टर्रो बनाएको छ । र, कवयित्री आफ्नो अभिलाषामा पूर्ण सफल पनि छिन् ।
भुङ्ग्रो नबनोस् लप्को
यो त्यस दिन प्राप्त तेस्रो कवितासंग्रह हो ‘भुङ्ग्रो नबनोस् लप्को’ । यसका लेखक हुन् उपन्यासकार लीलाध्वज थापा । ६४ पृष्ठमा ४७ वटा लामा–छोटा कविता समेटिएको यस कृतिको पहिलो विशेषता हो– समालोचक डा. वामदेव त्रिपाठीद्वारा लिखित झन्डै २३ पृष्ठ लामो भूमिका । सुनेको मात्र होइन र कतिपय कवितासंग्रहको शिरमा सजिएको डा. त्रिपाठी प्रदत्त मन्तव्यहरू नै यदाकदा देख्ने गर्थें । तदनुरूप कति मान्छेले त उनको यस पाराको भूमिका लेखनमाथि टिप्पणी वा नाकनिक गरेको पनि सुन्थेँ । जे होस्, त्यस्तो भूमिकाको आवरणभित्रका थापाका ४७ कविताको रसास्वादन गर्दा पनि उही उकाली–ओराली र दु:ख सुखको महिमा गान देख्न पाइन्छ । तर, विशिष्ट रूपमा भन्नुपर्दाचाहिँ यिनको कविता लेखनका मुख्य विशेषतामा प्रकृति प्रेम, जीवन र मातृभूमिप्रति अगाध अनुराग नै मुख्य प्रतीत हुन्छन् ।

प्रतिक्रिया