कलिङ सोमा ताता गफ

काठमाडौं खाल्डोबाट घाम ओझेल पर्ने सुरसार गर्दै छ । एकछिनअघि सुकेधारा चोकको क्याफेमा चिया गफ गर्दै गरेका २१ वर्षीय रमेश डोटेल भर्खरै आफ्नो कोठा पसेका छन् । अब केही समय उनका आँखा टेलिभिजन स्क्रिनमा व्यस्त हुनेछन् । उनीजस्तै नयाँ पुस्ताका यङहरू साँझमा आउने विभिन्न च्यानलका कलिङ शोमा ‘इन्टरटेन’ गर्ने गर्छन् आजकल । अनि ‘आइ हेट पोलिटिक्स’ भन्छन् । ‘आइ डन्ट इन्टरटेन माइ कल्चर’ पनि भन्छन् । तर, तन्नेरी मन भुलाउने यस्ता शो सञ्चालकहरू आफैँचाहिँ कत्तिको ‘इन्टरटेन’ गर्दा हुन् ?
पछिल्लो समयमा खुलेका धेरै एफएम रेडियो र टेलिभिजनले नयाँ पुस्तालाई लक्षित गर्दै कलिङ शो उत्पादन, प्रसारण गरिरहेका छन् । युवा मनोविज्ञानलाई समात्दै ल्याइएका त्यस्ता शो लोकप्रिय त छन् नै, आरजे–भिजेले पनि ख्याति कमाउँदै छन् । थुप्रैका सपना अहिले लोकप्रिय कलिङ शोको होस्ट हुनु रहेको छ । कतिका सपनाले उडान भर्छन्, कतिका सपनाचाहिँ त्यसै बाटोमै रुमल्लिन्छन् ।
प्रत्येक साँझ ५ बजेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘म्युजिक स्टेसन’ की होस्ट प्रियस्का उदास ‘बिन्दास’ भएर कार्यक्रम चलाउँछिन् । टेलिभिजनको गुलाबी पर्दामा आउनुअघि उनी रेडियोमा एङ्करिङ गर्थिन् । रेडियोमा पनि उनले कलिङ शो नै चलाएकी थिइन् रे । ‘टेलिभिजनमा देखिन थालेको दुई वर्ष भयो, टिभीमा धेरैले चिन्ने रहेछन्,’ उनको अनुभव । कलिङ शोमा सिधै दर्शक–श्रोतासँग कुराकानी गर्न पाइने र उनीहरूको मन बुझ्न पाइने भएकाले पनि यस्ता प्रोग्राममा प्रस्तोताले बढी ‘इन्ज्वाय’ गर्न सक्ने विचार छ उनको ।
आरजेबाटै भिजे भएका हुन् किरण खनाल पनि । रेडियो राजधानीमा कार्यक्रम चलाइरहेका उनी माउन्टेन टेलिभिजनको पर्दामा पनि देखिन थाले । जहाँ उनी ‘म्युजिक अन डायल’ नामको कलिङ शो चलाउँथे । अहिले केही समयका लागि स्थगित भएको यस शोबाट उनले आमदर्शकमाझ आफूलाई चिनाए । ‘केही महिनासम्म कार्यक्रम निर्माता भएपछि मात्र प्रस्तोताका रूपमा स्टुडियोभित्र छिरेको हुँ,’ संघर्षयात्राको छोटो वर्णन गरे उनले । रेडियोमा बोलिरहेको बानी भएकाले पनि टेलिभिजनमा उनलाई खासै कठिन भएन रे † त्यसो त उनले केही म्युजिक भिडियोमा मोडलिङसमेत गर्न भ्याइसकेका रहेछन् । ‘टेलिभिजन कार्यक्रमले मलाई क्यामरा फेस गर्न सजिलो भयो,’ उनले सुनाए । कलिङ शोमा समसामयिक घटनाक्रमलाई पनि छलफलको विषय बनाइने भएकाले म्युजिक भिडियो हेर्न चाहने नयाँ पुस्तादेखि छलफल सुन्न चाहने प्रौढ पुस्ता पनि आफ्ना दर्शक रहेको उनलाई लाग्छ । ‘मनोरञ्जनका माध्यमबाट जानकारीका साथै कुनै विषयमा खुला छलफल गर्न कलिङ शो फोरम बनेको छ,’ उनी भन्छन् ।
कलिङ शो चलाउनेमध्येमै पर्छिन् गोपीकृष्ण एफएमकी सन्ध्या थापा । आफ्नो कार्यक्रममा फोन गर्ने बढीजसो फुर्सदिला मानिस नै भएको बताउँछिन् उनी । नयाँ पुस्ताका तन्नेरीदेखि पसलमा बस्ने व्यापारी र गृहिणीसम्मका श्रोतासँग उनी कार्यक्रममा गफ गर्छिन् । कार्यक्रममा केही हल्काफुल्का र केही गम्भीर प्रश्न राखेर विजेता घोषणा गर्ने र उसलाई गिफ्टसम्मको व्यवस्था गर्दो रहेछ उनको रेडियो । कार्यक्रममा थुप्रैखाले रुचि भएका श्रोताले फोन गर्छन् रे । ‘गिफ्ट जित्नैका लागि फोन गर्नेदेखि भावना साटासाट गर्नेसम्मका श्रोता हुन्छन्, जो रेडियोमा गफिन पाउँदा निकै खुसी हुन्छन््,’ उनको भनाइ ।
नेपालीको रेडियो भक्तपुरमा लामो समयदेखि कार्यक्रम ‘अन्तिम प्रहर’ चलाइरहेका देवराज सुवेदी पनि आफ्नो कार्यक्रममा श्रोताहरूको फोन कल लिने गर्छन् । रातको एकाग्रताबीच एफएम स्टुडियोभित्र उनी एक्लै बोलिरहेका हुन्छन् । केहीछिन फोनमा कुरा गर्दै ‘लभ म्यासेज’ पनि पढ्न भ्याउँछन् । कार्यक्रम सुरु हुनासाथ लभ म्यासेजको ओइरो लाग्छ । त्यसपछि उनलाई लाग्छ, ‘सहरमा गर्ल फ्रेन्ड, ब्वाइफ्रेन्ड नहुने ठिटाठिटी पाउनै मुस्किल छ ।’ सहर प्रेममय बनिरहेको भान त्यतिखेर पनि हुन्छ, जतिबेला विभिन्न म्यासेज र इमेल पढ्ने क्रममा आरजे र भिजेहरू भनिरहेका हुन्छन्, ‘दिस सङ इज फर माई स्विट हर्ट… ।’ यो कंक्रिटको सहरमा छिनमै प्रेम झांगिन्छन्, छिनमै टुट्छन् । दैनन्दिनका प्रेम सन्देशहरूले लाग्छ, यो प्रेममय सहर हो र यहाँ घृणाको कुनै गुञ्जायस हुँदैन । यति हुँदाहुँदै पनि विभिन्नखाले अनपेक्षित घटनाले भने सहरलाई स्वार्थको केन्द्र बनाउँदै लगेको सुनाउँछन् किरण । अनि लाग्छ, समग्रमा यो सहर प्रेम र घृणामिश्रित एउटा कोलाज मात्रै हो, जहाँ थुपै्रका प्रेमिल सपनाले केी छिन सुस्ताउने ठाउँ पाउँछन् अनि प्रेम टुटेपछि एक्लै धुम्धुम्ती रुने अँध्यारो कोठा पनि यसै सहरले उपलब्ध गराउँछ ।
कलिङ शो चलाएर दर्शक, श्रोतासँग अन्तक्र्रिया गरिरहने यी आरजे–भिजेहरूको भित्री पाटोको कथा थप रोचक छ । सन्ध्याले कार्यक्रम सञ्चालन गरिरहँदा एकपटक एक युवकले फोन गरेछन् र कार्यक्रममार्फतै आफूले मन पराएकी केटीलाई ‘पर्पाेज’ राखेछन् । त्यसको केही समयपछि पर्पोज गरिएकी केटीले फोन गरिछन् कार्यक्रममा । अनि सन्ध्यालाई सुनाइछन्– म त पहिले नै अरू कसैसँग प्रेममा चुर्लुम्मै डुबेकी छु † यस्तो रोचक प्रसंग कमै मात्र भोग्न पाइने सन्ध्या बताउँछन् । किरणसँग पनि रहेछ यस्तै रोचक प्रसंग । उत्साहित हुँदै सुनाउँछन्– ‘एकपटक कलरसँग फोनमा कुरा सकेर गीत बजाएको मात्रै के थिएँ एमसिआरमा कसैले केही ढाल्दिएछ, अचानक बत्ती निभ्यो, सहर अन्धकार बन्यो, यो कुरा दर्शकलाई थाहै भएन ।’
टेलिभिजनका काँचमा देखिनेहरूले प्रशंसक पनि राम्रै कमाएका हुन्छन् । प्रियस्का आफ्ना प्रशंसक उपत्यकाबाहिर बढी रहेको विश्वास गर्छिन् । चितवन जाँदा भएको रमाइलो घटनाको स्मरण सुनाउँछिन्– ‘त्यहाँ एक जना मेरो प्रशंसक हुनुहुँदो रहेछ, उहाँले अटोग्राफ माग्नुभयो, झमझम पानी परिरहेको थियो, मसँग साथमा कागज थिएन, उहाँले दस रुपियाँको नोटमा अटोग्राफ दिन कर गर्नुभयो ।’ अरूलाई खुसी पार्न वा अरू खुसी भएको हेर्न साह्रै मन पर्ने भएकाले पनि कलिङ शोले आफूलाई सहयोग गर्ने उनी सुनाउँछिन् । ‘कार्यक्रममा कल गरेर धेरै जना रिफ्रेस फिल गर्नुहुन्छ यसले मलाई निकै खुसी तुल्याउँछ,’ उनले भनिन् ।
कुनै बेला रेडियो नेपालमा बज्ने ‘फोन इन’ कार्यक्रममा फोन गरेर त्यसको रेकर्ड सुन्न रेडियो खोलेर पर्खने एउटा पुस्ता आफैँ अहिले नयाँ पुस्ताका ‘कलिङ शो’मा फोन लगाइरहेका हुन्छन् । उनीहरूलाई राजनीतिकदेखि सामाजिक गफ गर्ने ‘प्लेटफर्म’ बनेका यस्ता शोमा नयाँ पुस्ताका ‘फेन्सी’ अनि ‘फन्नी’ गफ अटाएका छन् । अनि अटाएका छन्, समाज र ग्ल्यामर पनि । जसले समाजलाई एउटा गति दिएकै छ, नतिजा कस्तो होला त्यो भने भविष्यको गर्भमा छ ।

प्रतिक्रिया