वीरगन्ज, ३२ साउन । मकवानपुरको छतिवनस्थित बकैया खोलाले बगाएर बुधबार बेलुकादेखि बेपत्ता भएका तीन बालबालिका मध्ये दुई बालिकाको शव बारा जिल्लामा फेला परेको छ ।
बाराको निजगढस्थित बकैया खोलामा आज विहान दुई बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
विहान दस बजे स्थानीयले शव देखेपछि प्रहरीमा खवर गरेका थिए । शव ८ वर्षीया शान्ति मोक्तान र ७ वर्षीया सञ्जु मोक्तानको रहेको प्रहरी भनाई छ ।
एक जना बकैया खोलाको पुल नजिक र अर्की पुल भन्दा दुई किलो मिटर दक्षिणमा मृत्त अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
हेटौंडाबाट छतिवन–४, आधेरीस्थित घरतर्फ जाने क्रममा बुधबार बेलुकी साढे ७ बजे उनीहरुलाई खोलाले बगाएको थियो ।
शंकर मोक्तानका छोरी शान्ति र सञ्जु तथा ४ वर्षका छोरा शिखर मोक्तान बेपत्ता भएका थिए । शिखर अझैसम्म फेला परेका छैनन् ।
बाबु शंकरका अनुसार खोला तर्ने क्रममा अकस्मात आएको बाढीले आफ्ना तीन छोराछोरीलाई बगाएको बताए ।
शंकरलाई खोलाले बगाएपनि उनलाई भने स्थानीयले तत्कालै उद्धार गर्न सफल भएका थिए ।
प्रतिक्रिया