बाग्लुङ, ३२ साउन । आफ्नै भान्जीले सम्पत्ति कुम्ल्याएर फरार भएपछि बिचल्लीमा परेका एचआइभी संक्रमितले न्याय पाएका छन् । बाग्लुङ नगरपालिका–५ का एचआइभी संक्रमित गणेश विकले लामो समयपछि न्याय पाएका छन् ।
सिगाना–३ की भान्जी लालमती सुनारले हेरचाह र पालनपोषण गर्ने बहानामा फकाएर करिब २० लाख रुपियाँको घरजग्गा आफ्नो नाममा पास गरेर कानुन व्यवसायी रमेश खड्कालाई बिक्री गरी फरार भएपछि विक बिचल्लीमा परेका थिए ।
बिचल्लीमा परेका विकको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयमा कानुन व्यवसायी, मानवअधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका रोहवरमा अधिवक्ता खड्काले तीन लाख ६० हजार रुपियाँ तिरेका हुन् । विवादित जग्गा सस्तोमा किनेका खड्काले कानुनीभन्दा पनि सामाजिक न्यायका हिसाबले रकम दिएको पुनरावेदन अदालत बार इकाई बाग्लुङका अध्यक्ष राम शर्माले बताए । विकले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिए ।
हेरचाह र पालनपोषणका लागि भान्जीको नाममा पास गरिदिएको जग्गा कानुन व्यवसायी खड्काले पेसागत मर्यादाविपरीत किनेपछि उनले लालमतीले आफ्नो हेरचाह गर्न छाडेकाले जग्गा फिर्ता गरिदिन अधिकारकर्मी र प्रहरी प्रशासनलाई गुहारेका थिए । जग्गामा विवाद भएको थाहा पाउँदापाउँदै कानुन व्यवसायी खड्काले आमाको नाममा जग्गा किनेका थिए ।
यसअघि एचआइभी संक्रमित विकले जग्गा फिर्ताको माग गर्दै हिँडेपछि कानुन व्यवसायी खड्काले जग्गा किनेको स्वीकार गर्दै तीन लाख रुपियाँ दिन तयार भएको बताएका थिए ।
स्याहारसुसार नगरेपछि कानुन व्यवसायी यामबहादुर चर्मकारको रोहबरमा एउटा घडेरी लिएर अन्य जग्गा फिर्ता गर्ने लिखित प्रतिबद्धता जाहेर गरे पनि लालमती जग्गा बेचेर फरार भएकी थिइन् । ‘केही सयम पालनपोषण गरेबापत एउटा घडेरी दिन र लिन दुवै पक्ष सहमति भएपछि कागज बनाएका थियौँ,’ चर्मकारले भने, ‘त्यो सहमतिविपरीत महिलालाई अर्कै पक्षले प्रभावित पारेपछि जग्गा बेचेर हिँडेकी थिइन् ।’ जग्गामा विवाद भएपछि केही समय जिल्ला प्रशासन कार्यालय, बाग्लुङले किनबेचमा रोक लगाए पनि दबाबका आधारमा फुकुवा गरेका थियो । विकको निवेदनको आधारमा जग्गा रोक्का गरेको प्रशासनले पीडितलाई नराखीकन पुन: महिलालाई जग्गा बेच्न दिएको थियो ।
प्रतिक्रिया