एक न्यायाधीशलाई दुई अदालतको जिम्मेवारी

नेपालगन्ज, ३२ साउन । न्यायाधीशको दोहोरो जिम्मेवारीका कारण जिल्ला अदालत बाँकेको न्याय सम्पादनमा कठिनाइ भएको छ । अदालतका न्यायाधीशले दुईवटा अदालतको मुद्दा हेर्नुपर्ने भएपछि जिल्ला अदालतमा मुद्दाको छिनोफानो गर्न ढिलाइ भइरहेको छ भने बर्सेनि फस्र्योट गर्न बाँकी मुद्दाको संख्या थपिँदै छ । जिल्ला अदालत बाँकेमा कार्यरत दुई न्यायाधीशलाई मध्यपश्चिमका हिमाली जिल्लाका अदालतमा समेत मुद्दा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । न्यायाधीशद्वय अर्जुन अधिकारीले डोल्पा र कपिलप्रसाद न्यौपानेले जिल्ला अदालत जुम्लाको पनि मुद्दा हेर्दै आएका छन् ।

महिना दिन बिराएर दुवै न्यायाधीश डोल्पा र जुम्ला गएपछि अदालतको काम प्रभावित भएको हो । मौसम खराबीका कारण न्यायाधीश हप्तौँसम्म सम्बन्धित जिल्लामै बस्नुपर्ने बाध्यता रहेको जिल्ला अदालत बाँकेका रजिस्टार कृष्णप्रसाद पौडेलले बताए । ‘एउटै न्यायाधीशले दुईवटा अदालतको जिम्मेवारी पूरा गर्दा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ,’ रजिस्टार पौडेलले भने, ‘डोल्पा र जुम्ला जाँदा बाँकेमा बेन्च लाग्नै सक्दैन ।’ न्यायाधीशको दोहोरो जिम्मेवारीलगायत कर्मचारी अभावका कारण मुद्दा फस्र्योट गर्ने लक्ष्य पूरा गर्न नसकिएको पौडेलले बताए ।
जिल्ला अदालतमा मुद्दाको चाप अत्यधिक छ । बर्सेनि दुई हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेका छन् । गत आर्थिक वर्षमा तीन हजार पाँच सय ६९ मुद्दा परेका थिए । तीमध्ये आर्थिक वर्ष ०६७/६८ बाट फस्र्योट हुन बाँकी भई गत एक हजार पाँच सय ६६ मुद्दा सरेर आएका थिए भने दुई हजार सात सय मुद्दा परेका थिए ।
न्यायाधीशको दोहोरो जिम्मेवारी र जनशक्ति अभावले एक हजार पाँच सय ३२ मुद्दा गत वर्षबाट चालू आर्थिक वर्ष ०६९/७० मा फस्र्योट गर्ने गरी सरेर आएका छन् । ‘चालू आर्थिक वर्षमा पनि दुई हजारभन्दा बढी मुद्दा पर्ने अनुमान गरेका छौँ ।’ रजिस्टार पौडेलले भने, ‘जनशक्ति नहुँदा सबै मुद्दा फस्र्योट हुन मुस्किल छ ।’ जिल्ला अदालत बाँकेमा ५२ कर्मचारीको दरबन्दी रहे पनि कम कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया