खड्का भ्रष्टाचारी

काठमाडौं, ३१ साउन । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरेको छ । पाँच वर्षदेखि विचाराधीन मुद्दाको अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले खड्कालाई डेढ वर्ष कैद   सजाय र एक करोड ८९ लाख ४८ हजार बिगो तथा जरिवाना तोकेको छ ।

१५ जेठ २०४८ देखि १८ असोज ०५९ सम्म सांसद तथा मन्त्री हुँदा खड्काले गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वाेच्चले उनलाई दण्डित गरेको हो । खड्काले आर्जन गरेको गैरकानुनी सम्पत्तिको बढिबढाउ रकमसमेत जफत गर्ने आदेश भएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले बताए । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई सफाइ दिने विशेष अदालतको निर्णयलाई उल्टयाई ९४ लाख ७४ हजार एक सय २२ बराबरको चलअचल सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ । अदालतले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बिगो र त्यति नै बराबरको जरिवाना हुने फैसला सुनाएको छ ।
‘खड्काले ९४ लाख ७४ हजार एक सय २२ बराबर सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेकाले भ्रष्टाचार निवारण ऐन– २०४९ को दफा २० (१) बमोजिम कसुर गरेको ठहर्छ,’ फैसलामा भनिएको छ, ‘बिगो र कसुरको मात्रा विचार गरी एक वर्ष कैद र खड्का मन्त्री, सांसद पदमा रहेको समयमा कसुर गरेको देखिँदा दफा २४ बमोजिम थप ६ महिना कैद हुने ठहर्छ ।’
सर्वाेच्च अदालतले खड्का परिवारका नाममा रहेको गैरकानुनी रूपमा आर्जित अन्य चलअचल सम्पत्ति पनि जफत गर्न आदेश दिएको छ । खड्काकी श्रीमती शिला शर्माको नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं २, कित्ता नं २४९ को २० लाख ९२ हजार मूल्यको जग्गा, उनकै नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं २ कित्ता नं १०७ र अर्काे कित्ता नं १८६ घरबाहेकको जग्गासमेत जफत गर्न सर्वोच्चले आदेश दिएको छ । त्यसैगरी, खड्काका नाममा दर्ता भएको बा २ च ९५५५ नम्बरको २४ लाख ५० हजार रुपियाँ पर्ने मित्सुबिसी प्राडो गाडी, घरका अन्य सदस्यसँग रहेको ३३ तोला सुन, २.९३ किलो चाँदी जफत गर्न आदेशमा भनिएको छ । चार वर्षदेखि सर्वोच्च अदालतको इजलासमा दर्जनौँ सरकारी र प्रतिवादी वकिलहरूले बहस गरेका थिए । १६ साउनमा बहस सकिएपछि ३० साउनका लागि फैसलाको मिति तोकिएको थियो ।

११ वर्षमा सम्पत्ती २० गुणा
दाङ जिल्लाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका पूर्वमन्त्री खड्का २०४८ सालदेखि ०५९ सालसम्म आठपटक मन्त्री भएका थिए । गृहलगायत आकर्षक मन्त्रालय सम्हालेका खड्काले राजनीतिक यात्रा सुरु गर्ने बेला आफ्नो कुल आम्दानी दुई लाख नगद, दाङमा पक्की घर, सात तोला सुन, ६ तोला चाँदी, गोल्डस्टार टिभी एक थान र आफ्नो नाममा दाङको सत्वरियामा १० बिघा र आमाका नाममा दुई बिघा जमिन भएको विवरण नेपाल सरकारलाई बुझाएका थिए । सार्वजनिक पदमा बसेको ११ वर्षमा उनको आम्दानी २० गुनाभन्दा बढी भएको ठहर सर्वाेच्च अदालतले गरेको छ ।
२०४८ मा निर्माण तथा यातायात २०५२ मा स्थानीय विकास, २०५२ देखि २०५३ सम्म गृह, २०५५ मा वन तथा भूसंरक्षण २०५५ मा आपूर्ति, २०५६ मा स्थानीय विकास, आवास तथा भौतिक योजना, २०५६ मा निर्माण तथा यातायात, २०५६ मा जलस्रोत, भौतिक योजना तथा निर्माण, २०५७ मा भौतिक योजना तथा निर्माण, २०५८ मा गृह तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी खड्काले सम्हालेका थिए ।
खड्काले सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा भ्रष्टाचारको मुद्दा चलाएको थियो । ११ वर्षसम्म सार्वजनिक पदमा रहँदा खड्काले दुई करोड ३६ लाख ८७ हजार ६ सय २४ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, २९ कात्तिक ०६३ मा विशेष अदालतले कुल सम्पत्तिको १२ प्रतिशत आयस्रोत तलमाथि हुनसक्ने र खड्काको आम्दानी ८.२ प्रतिशत मात्र फरक परेको भन्दै सफाइ दिएको थियो । तत्कालीन विशेष अदातलको फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले उनीविरुद्ध १५ चैत ०६३ मा पुनरावेदन दिएको थियो । तर, खड्काले आफ्नो आम्दानी वैधानिक भएको जिकिर गरेका थिए ।
सर्वाेच्च अदालतले यसअघि पूर्वमन्त्री चिरञ्जीवी वाग्ले र जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै जेल पठाइसकेको छ । तर, उनीहरूको भन्दा केही फरक शैलीमा सर्वाेच्च अदालतले खड्काको मुद्दामा फैसला सुनाएको छ । सार्वजनिक पद, माननीय, राष्ट्रसेवकजस्ता शब्दको खुला व्याख्या गर्दै आदेशमा भनिएको छ, ‘खड्काले गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति उनी र उनको परिवारका सदस्यहरूका नाममा राखेको भन्ने कुरा शंकारहित र वस्तुनिष्ट ढंगबाट पुष्टि हुन आएको छ ।’
सर्वाेच्च अदातलले राष्ट्रसेवकले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने विषयमा भनेको छ, ‘अभाव, तनाब र जोखिमका माझमा आफ्नो पदको नाताले आफ्नो वा परिवारको हित संग्रह गर्ने यस्तै कुराले नकारात्मक दिशामा उन्मुख गर्ने लालची अवस्था सिर्जना हुनसक्छ, यही मोडमा सेवाप्रतिको अविचलित आस्था र अनुशासनको मद्दतले तिनीहरूको सामना गर्नुपर्ने हुन्छ ।’ सर्वाेच्च अदातलले अन्य भ्रष्टाचारका मुद्दामा अभियुक्तको आम्दानी, आयस्रोत, पुख्र्याैली सम्पत्ति आदिको विश्लेषण गरी मुद्दाको अन्तिम किनारा लगाउने गरेको थियो । तर, सर्वाेच्चले खड्काको मुद्दामा राष्ट्रसेवक र माननीयको अर्थ पनि विश्लेषण गरेको छ । ‘अरूका लागि सेवा दिन खटिएका मानिसलाई आफ्नै भौतिक वा आर्थिक सुखमा लिप्त रहने प्रवृत्तिले नै वैधानिक आयभन्दा बढी सम्पत्ति संग्रह गर्ने र आफ्नो आयसँग नसुहाउँदो जीवनस्तर उपभोग गर्ने गरेको पाइन्छ,’ फैसलामा भनिएको छ ।
खड्काको फैसला सुन्न विभिन्न जिल्लाबाट आएका कार्यकर्ताको निकै ठूलो भिड सर्वाेच्च अदालतमा जम्मा भएको थियो । भिड व्यवस्थापन गर्न सर्वाेच्च अदालतभित्र मात्र एक सयभन्दा बढी जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । शुभचिन्तकको भिड निकै ठूलो भएपछि सर्वाेच्च इजलासबाट बाहिर प्रांगणमा सुनिने गरी माइकको व्यवस्था गरिएको थियो । दिनभर भिड लागेर बसेका कार्यकर्ताले ४:३५ मा फैसला सुने । इजलासबाट न्यायाधीश कल्याण श्रेष्ठको आवाजसँगै परिसरमै तनाव सुरु भएको थियो ।
खड्काकी श्रीमती शिलाले माओवादी प्रभावमा परेर न्यायाधीशले गलत फैसला गरेको टिप्पणी गरिन् । उनले भनिन्, ‘सरकार, माओवादी र अदालत मिली हामीलाई फसाए, उनीहरू फसाउन नलागेका भए किन यत्रो जाति प्रहरी यहाँ आए त ?’ उनले प्रतिक्रिया दिइरहेका बेला खड्का समर्थक कार्यकर्ताले नारा लगाउन थालेपछि प्रहरीले परिसरबाहिर पठाएको थियो । परिसरदेखि भद्रकालीसम्म जम्मा भएका उनका शुभचिन्तक नारा लगाउँदै माइतीघरतिर लागेका थिए र त्यहाँ बा १ ज ७६४९ नम्बरको ट्याक्सी तोडफोड गरी चालक गोपाल तामाङलाई घाइते बनाएका थिए ।

शक्ति केन्द्र र मन्दिर धाएर पनि भएन
सर्वाेच्च अदालतले पाँच वर्षदेखि विचाराधीन भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेदेखि उनले विभिन्न शक्तिकेन्द्र र मठमन्दिरमा धाउन थालेका थिए । गत आइतबार मात्र उनले दरबारनजिकका व्यक्ति तथा राष्ट्रपतिसमक्ष पनि आफ्नो कुरा राखेको स्रोतले बताएको छ । उनले पूर्वराजाका संवाद–सचिव पशुपतिभक्त महर्जनलगायतलाई भेटेका थिए ।
शक्तिकेन्द्रबाट आश्वासन पाए पनि उनी विश्वस्त हुनसकेका थिएनन् । भ्रष्टाचारबाट उन्मुक्ति पाउने आशामा उनी विभिन्न मठ, मन्दिरसमेत पुग्ने गरेका थिए । केही महिनाअघि मात्र उनी नेपाल भारतको सीमामा पर्ने पुर्नागिरी, शिद्धबाबा, नेपालगंगाको बागेश्वरी र प्युठानको स्वर्गद्वारी मन्दिर पुगेको उनका एक सहयोगीले बताए । खड्का भारतका केही मन्दिरमा पनि सपरिवार पुगेका थिए ।

खड्का भोलि जेल जाने
सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री खड्का फैसलालाई स्वीकार गर्दै आज बुधबार जिल्ला अदालत काठमाडौं जाने भएका छन् । बिहान १० बजे नै खड्का अदालतमा उपस्थित हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले जानकारी दिए । अदालतमा उपस्थित भएपछि उनी आजै कारागार चलान हुनेछन् । अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र आपैँm उपस्थित भए २० प्रतिशत कैद र जरिवाना मिनाहा पाउने व्यवस्था छ ।
फैसला आएलगत्तै शुभचिन्तकले नाराजुलुस र सवारीसाधन तोडफोड गर्न थालेपछि आफ्नै निवासमा उनले कार्यकर्तालाई सम्बोधन गरेका थिए । उनले फैसला विभेदपूर्ण भए पनि अदालतको आदेशलाई स्वीकार गर्नैपर्ने टिप्पणी गरेको एक सहभागीले बताए । दाङ, नवलपरासी, रौतहटलगायत मध्यपश्चिमका जिल्लाबाट आएका कार्यकर्तालाई धन्यवाद दिँदै उत्तेजनामा नआई शान्त रहन आग्रह गरेका थिए ।

समर्थकद्वारा सडकमा बितन्डा
टेकराज थामी

काठमाडौं, ३१ साउन : खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दामा दुई बजेपछि फैसला हँुदै थियो तर अदालत आसपासका क्षेत्रमा बिहानैदेखि उनका समर्थकको बाक्लो उपस्थिति देखिन्थ्यो । बिहानैदेखि सर्वोच्च अदालतकै सामुन्ने भिड जमाउन थालेपछि उनीहरूलाई प्रहरीले हटाएका थिए । पछि भिड भद्रकाली मन्दिर आसपासका क्षेत्रमा पुगेको थियो । मन्दिर आसपासका क्षेत्र मोटरसाइकलले ढाकिएका देखिन्थे भने भेला हुनेमा सबैजसो युवा थिए ।
झडप हुनसक्ने देखेर अदालत आसपासका क्षेत्रमा बिहानैबाट प्रहरी परिचालन गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अदालत आसपासका क्षेत्रमा मात्रै सातसयभन्दा धेरै प्रहरी थिए । सशस्त्र प्रहरीको अदालत आसपासका क्षेत्रमा बाक्लो उपस्थिति देखिन्थ्यो । दुईसय पचासभन्दा धेरैको संख्यामा खटिएका प्रहरी सतर्क अवस्थामा थिए ।
अदालत परिसरभित्रको सुरक्षा पनि मंगलबार निकै कडा पारिएको थियो । सम्भावित दुर्घटना हुनसक्ने भएकाले प्रहरीले पाँचवटा घेरा बनाएको थियो सर्वोच्च परिसरभित्र । सर्वोच्चका कर्मचारी, वकिल तथा पत्रकारलाई मात्रै परिसरभित्र पस्ने अनुमति भए पनि अदालतभित्र बाक्लै उपस्थिति देखिन्थ्यो । भिडकै कारण अदालतले फैसला सुनाउनका लागि माइकको व्यवस्था गरेको थियो ।
फैसला भएपछि अदालत परिसरभित्र कुनै घटना नभए पनि बाहिर भने स्थिति सामान्य रहेन । पूर्वघोषित कार्यक्रमअनुसार उनका समर्थकले विरोध गरे, नाराबाजी गर्दै सडक अवरुद्ध पारे, तोडफोड गरे । सडकमा टायर बाले, सडकका डिभाइडरहरू ढाले । विरोधले सबैभन्दा उग्ररूप लिएको थियो– शंकरदेव क्याम्पस र त्रिचन्द्र कलेजअगाडि । प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहरीको दुईवटा भ्यान र दुईवटा ट्याक्सी तोडफोड गरेका छन् ।
विरोधमा उत्रिएका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर हनुमान ढोकाका एसएसपी जयबहादुर चन्दका अनुसार ढुंगामुढा गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले कानुन एक पक्षीय भएको टिप्पणी गरे । उनले भने, ‘ज्यान मुद्दाका अपराधीहरू खुलेआमबाहिर घुम्ने, देशकै ठूला भ्रष्टाचारी माओवादी नेतृत्वलाई उन्मुक्ति दिइरहने कानुन एकपक्षीय भएको हाम्रो ठहर छ ।’ उनका अनुसार प्रहरीले १९ जना कार्यकर्ता पक्राउ गरेको छ भने २५ कार्यकर्ता घाइते भएका छन् ।

प्रतिक्रिया