गाईजात्रा देखाउँदा धुर्मुस घाइते

काठमाडौं : हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ गाइजात्रा देखाउने क्रममा घाइते भएका छन् । प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको तीते जिरे मेरिबास्सै गाईजात्रे महोत्सवमा रेस्लिङ नामक प्रहसन गर्ने क्रममा उनी आइतबार घाइते भएका हुन् । उनलाई तुरुन्तै उपचारका लागि शुभतारा प्राकृतिक चिकित्सालय पुर्‍याइएको थियो ।
प्रहसनमा रेस्लर भरत बिसुराल (हिमालयन टाइगर) सँग भिडन्तको अभिनय गर्ने क्रममा पछारिँदा हात र ढाड मर्किएको कट्टेलले जानकारी दिए । भने–‘बिसुरालले जानीजानी गर्नुभएको होइन, बिर्सिएर साँच्चिकै पछार्नुभयो । त्यहीबेला मेरो शरीरमा पनि ब्यालेन्स नमिलेकाले यो घटना भयो ।’ १८ गतेदेखि सञ्चालन भइरहेको गाईजात्रा महोत्सवको १०औँ दिन सो घटना भएपछि बाँकी रहेको ७ दिनको प्रहसनलाई कसरी प्रस्तुत गर्ने भन्ने समस्या परेको कट्टेलले बताए । कट्टेलको घुँडा पनि मर्किएको छ । डाक्टर कृष्ण पाण्डेले केही दिन रेस्ट गर्न आग्रह गरे पनि दर्शकलाई मनोरञ्जन दिन प्रहसन नरोक्ने सुरमा कट्टेल छन् । (सौस)

प्रतिक्रिया