महिला ओलम्पियनबारे साउदी मिडियाको बेवास्ता

लन्डन, २८ साउन । ओलम्पिक खेलकुदमा साउदी अरबले २ महिला खेलाडी पठाएको थियो । यसअघिका ओलम्पिक खेलकुद संस्करणमा साउदी अरबले कहिले पनि महिला खेलाडी भाग लिन नपठाएको पृष्ठभूमिमा ती दुवै खेलाडीको सहभागिता मात्रै पनि विश्वव्यापीरूपमा चर्चाको विषय बन्यो । उनीहरूले प्रतिस्पर्धा गरेका हरेक क्षणका तस्बिर विश्वभरका अखबारमा छापिए । तर साउदी अरबभित्रै रहेका मिडियाले भने यी खेलाडीलाई वास्ता नगरेको पाइएको छ ।
साउदी अरबले जुडो खेलाडी वोज्दान सहकार्नी र ८०० मिटरमा धाविका सारा अत्तरलाई लन्डन ओलम्पिक खेलकुदमा पठाएको थियो । सहकार्नी पहिलोचरणमै पराजित भइन् भने अत्तरले हिटचरणमा अन्तिम स्थान हासिल गरेकी थिइन् । ‘यिनीहरूका बारेमा लेख्ने हामी मात्र हाँै,’ अंग्रेजी भाषाको पत्रिका साउदी गजेटका सम्पादक हाहेल्द अल माइनाले भने, ‘साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन् । राज्यले तारिफ गर्नुपर्छ । तर, दुर्भाग्य † अरू मानिस (सञ्चारमाध्यम) सहमत नै छैनन् ।’ ओलम्पिकमा सहभागी भएलगत्तै यी दुवै खेलाडीको आलोचना गर्दै मानिसहरू उनीहरूलाई ‘ओलम्पिक खेलकुदका वेश्या’ भनिरहेका छन् ।
यसैकारण सहकार्नीका बुबाले साउदी अरबका आन्तरिक मन्त्रीसँग भेट गर्दै आफ्नी छोरीलाई त्यस्तो दुव्र्यवहार गर्नेविरुद्ध कारबाही गर्न माग गरेका छन् । साउदी अरबमा महिलाविरुद्ध दुव्र्यवहार गर्नेलाई १०० कोर्रा हान्नेसम्मको सजाय व्यवस्था छ । दुवै खेलाडी छनोटमा असफल भएपछि उनीहरूलाई वाइल्ड कार्डमार्फत सहभागी गराइएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको दबाबपछि साउदी अरबले अन्तिम समयमा लन्डन ओलम्पिक खेलकुदमा महिला खेलाडी पठाएको थियो । साउदी अरबमा महिलाका सम्बन्धमा कठोर कानुन छ । त्यसैले पनि लन्डन ओलम्पिकमा साउदी अरबले महिला खेलाडी पठाएको विषय पनि शंकास्पदरूपमा हेरिएको छ । ‘साउदी अरबलाई एउटै मात्र डर थियो– महिला खेलाडीका कारण सहभागितामा प्रतिबन्ध नहोस् । यसैका लागि उनीहरूले यसो गरेका हुन् ।’ माइना भन्छन, ‘म स्वतन्त्र प्रेसमा विश्वास गर्छु तर यहाँ त्यस्तो केही पाइँदैन र पाइएको छैन जुन स्वतन्त्र प्रेसमा हामी अनुभव गर्छौं ।’ यसपटक साउदी अरबबाहेक कतार र ब्रुनाईले पनि ओलम्पिक्समा महिला खेलाडी पठाएका थिए । एजेन्सी

प्रतिक्रिया