सिंगो संसारलाई एउटै मियोमा बाँध्ने ओलम्पिक अभियानलाई मूर्त रूप दिने ढंगले लन्डन ओलम्पिक २०१२ लगभग अन्तिम अवस्थामा पुगेको छ । ओलम्पिक खेल महोत्सवको यो ३०औँ संस्करणको पदक तालिकामा अमेरिका नै पहिलो हुने लगभग निश्चितभैँm भएको छ । अमेरिकाले पौडी, एथलेटिक्स र टिम गेममा प्रभाव जमायो । दोस्रो हुने चीनले टेबल टेनिस, भारत्तोलन, जिम्न्यास्टिक र डाइभिङमा आफ्नो प्रभाव कामय राख्यो । पूर्वीयुरोपले पुरुष भारत्तोलन र मंंगोलहरूले आर्चरीमा त्यत्तिकै एक छत्र राज गरे । पुराना महाशक्ति फेरि ढले । चाहे जुडोमा जापान होस् या बक्सिङमा क्युबा । अनि जिम्न्यास्टिकमा रुस । भूमध्यसागरीय क्षेत्रका धावकहरू खासमा केन्यालीहरूले मध्यम दूरीमा सनसनीपूर्ण प्रभाव राखे । अनि, पूर्वीअफ्रिकीले लामो दूरीको दौडमा, क्यारेबियन स्प्रिन्टर फेरि सफल बने । यो ओलम्पिकको पदक तालिका जे भए पनि यसले केही यस्ता स्टारलाई स्थापित गरायो जसको चर्चा खेल इतिहासले सधैँ गर्नेछ । उनीहरू सधैँ नायक हुनेछन् ।
युसान बोल्ट : जमैकाका धावक युसान बोल्ट बेइजिङ ओलम्पिकदेखि लगातर सनसनी फैलाउन सफल भइरहेका छन् । बेइजिङ ओलम्पिकमा एक सय र दुई सय मिटरमा स्वर्ण जितेका बोल्टले लन्डन ओलम्पिकमा पनि यो सफलता दोहोर्याए । लन्डन ओलम्पिकमा उनले कायम गरेको समय न त विश्वकीर्तिमान हो न त ओलम्पिक कीर्तिमान नै † तर पनि स्प्रिन्ट डबलको सफलतालाई जोगाउने उनको यो सफलता सायद लामो समय भंग हुने छैन । विश्व एथलेटिक्सका यी महान् खेलाडी विवादित भने रहे । यसअघिका शताब्दीकै महान् एथलिटका रूपमा परिचित कार्ल लुइसबारे व्यक्त प्रतिक्रियाकै कारण उनी विवादमा आए । पोस्ट म्याच कन्फ्रेन्समा उनले लुइसलाई नमान्ने र उनीप्रति कुनै सम्मान नरहेको बताए । २००७ मा १ सय मिटर दूरी १०.०३ मा पूरा गरेका बोल्टले बेइजिङ ओलम्पिकमा ९.६९ मा पूरा गरे पछि यो सफलतालाई सन्देहपूर्वक हेरिएको थियो । यसको रिस उनले चार वर्षपछि फेरे ।
डेबिड लुकुटा रिडेसा : ओलम्पिक स्पर्धामा पौडीमा एकपछि अर्को विश्वकीर्तिमान भंग हुँदै जाने र एथलेटिक्समा नहुने भएपछि खेल वैज्ञानिकहरूले यसबारे अध्ययन गरे । अध्ययनको निष्कर्ष के निस्कियो भने मानव शरीरको अधिकतम क्षमता र ट्रयाकको गति नजिकिएका कारण ट्रयाकमा विश्वकीर्तिमान अझ लामो समय हुने छैन । तर, पौडीमा मात्र हुन सक्नेछ । सबैको अनुमान यसपटकको ओलम्पिकमा ट्रयाकमा विश्वकीर्तिमान भंग नहुने थियो । तर, यसै समयमा केन्याली धावक डेबिड लुकुटा रुडिसाले ८ सय मिटर दौडमा विश्वकीर्तिमान कामय गरे । उनले १ मिनेट ४०.९१ सेकेन्डमा रेस पूरा गरे । उनको यो कीर्तिमान पनि लामो समय कायम रहनेमा शंका रहन सक्दैन ।
माइकल फेल्प्स : माइकल फेल्प्सले यो ओलम्पिकका चार स्वर्ण र दुई रजत पदक प्राप्त गरे । तीन ओलम्पिकमा गरी कुल १८ स्वर्णसहित २२ पदक जितेर उनले कायम गरेको कीर्तिमान लामो समयसम्म रहनेछ । । उनको यो कीर्तिमान भंग गर्न जो कोहीलाई मुस्किल हुनेछ । उनले एथेन्समा ६ स्वर्ण र दुई कास्य तथा बेइजिङमा आठ स्वर्ण जितेका थिए ।
मेसी फ्रान्कलिन : अमेरिकी पौडीवाज मेसी फ्रान्कलिनले यसपटकको ओलम्पिकमा सात स्पर्धामा सहभागिता जनाइन् । यी सात स्पर्धामध्ये उनले चार स्वर्ण र एक रजत पदक जितिन् । उनले मेड्ली रिले, चार गुणा दुई सय मिटर रिले र ब्याकस्ट्रोकको दुवै स्पर्धामा स्वर्ण पदक जितिन् । उनी समावेश अमेरिकी टोलीले मेड्लीमा नयाँ विश्वकीर्तिमान पनि कायम गर्यो । उनीसहितको अमेरिकी टोलीले चार गुणा सय मिटर रिलेको कास्य पदक पनि जितेको थियो । यिनी १७ वर्ष मात्र भएका कारण उनले अझ धेरै सफलता पाउने सम्भावना पनि त्यत्तिकै छ ।
यी सिबेन : चिनकी १६ वर्षे किशोरी यी सिलिङले यो ओलम्पिकमा संसारलाई चकित पारिन् । उनले ४ सय मिटर मेड्लीमा स्वर्णपदक जितेपछि सबै संसार अचम्ममा पर्यो । एलिजाबेथ बासेल धेरै नै अघि रहेको समयमा सिलिङले अन्तिम ५० मिटर यसरी पौडिन् कि कसैले यो अनुमान नै गर्न सकेका थिएनन् । उनले २ सय मिटर मेड्लीको पनि स्वर्णपदक जितिन् । उनी मेड्ली डबल गर्ने पहिलो चिनियाँ पौडीवाजका रूपमा कीर्तिमान कायम गर्न सफल भइन् ।
यु सुवान : चीनका फ्रि–स्टाइल च्याम्पियन यु सुवान यस ओलम्पिकका अर्का नायक बने । उनले ओलम्पिकको पहिलो स्वर्णपदक ४ सय मिटर फ्रि–स्टाइलमा जिते । १५ सय मिटरमा उनले फाइनल प्रवेशअगाडि नै विश्वकीर्तिमान कायम गरे । फाइनलमा पनि विश्वकीर्तिमानसहित स्वर्णपदक जितै । सिवानले एक रजत र एक कांस्यपदक पनि जिते ।
क्रस होए : अमेरिकी रोइङ खेलाडी क्रस होए यस ओलम्पिकका अर्का नायक बने । उनले यस ओलम्पिकका दुई स्वर्णसहित ६ स्वर्णपदक जिते । उनले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका हुन् ।
सेली पियर्सन : विश्व च्याम्पियन अस्ट्रेलियाकी बाधादौड धाविका पियर्सनले १ सय मिटर हर्डल्समा ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जित्न सफल भइन् । अन्य तीन अमेरिकीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन् ।
सानी एन फ्रेजिएर : सानी एन फ्रेजिएर संसारकी तेज महिला बन्न सफल भइन् । फ्रेजिएरले १ सय मिटर दौडमा स्वर्णपदक जितिन् । उनले उपाधिका दाबेदार अमेरिकी क्याटलिना जेटरलाई पछि पारिन् । फ्रेजियरले २ सय मिटर दौडमा पनि दोस्रो स्थान पाइन् ।
(एजेन्सीको सहयोगमा)
मनोज घिमिरे
प्रतिक्रिया