अभ्यास खेलमा नेपाललाई झड्का

काठमाडौं, २४ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)  यु–१९ विश्वकप खेल्न यतिबेला अस्ट्रेलिया पुगेको नेपाली टोली सोमबार राति भएको अभ्यासको खेलमा प्रतियोगिता प्रतिस्पर्धी पपुआन्युगिनीसँग आठ विकेटले पराजित भएको छ ।
टस जिती पहिला ब्याटिङमा उत्रिएको नेपाल ४३.३ ओभरमा अलआउट हँुदै २१३ रनको सीमित भएको थियो । सानदार ब्याटिङ गर्दै पपुआन्युगिनीले प्राप्त लक्ष्य ४०.३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । विजयी टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान लेगा साइकाले शतकीय इनिङ खेल्दै १०६ रन जोडे भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रिस्टोफर केन्टले पनि ५५ रन जोडेका थिए । बलिङतर्फ राहुलकुमार विश्वकर्माले दुई विकेट लिए । नेपालले आठ जना खेलाडीलाई बलिङ गर्न उतारे पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेन । सात ओभर बलिङ गरेका कृष्ण कार्कीले ८.२८ को औसतमा ५८ रन खर्चिए । प्रभावकारी हुने अनुमान गरिएको नेपाली स्पिन बलिङ सम्हालेका राहुल र भुवन कार्कीले समेत करिब पाँचको रन औसतमा रन खर्चिएका थिए ।
सौरभ खनाल, प्रदीप ऐरी, सागर पुन, गोपाल सिंह र अविनाश कर्णलाई पनि बलिङ गर्न लगाइएको थियो । गत वर्ष आयरल्यान्डमा भएको विश्वकप छनोटमा नेपालले पपुआन्युगिनीलाई डकवर्थ लुइस नियमका आधारमा १० रनले पराजित गरेको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गरे पनि तीन ब्याट्सम्यानबाहेक अन्यबाट दोहोरो अंकमा रन पाउन सकेन । प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेलले ६८ र हासिम अन्सारीले ८१ रन जोडे । सुभाषसँग पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका प्रदीप ऐरीले २५ रन जोडे ।
नरेश बुढाएर ६, सागर पुन तीन र राजेश पुलामीमगर चार रन जोडी आउट भए । त्यस्तै फैजलुर रेहमानले पनि पाँच रन मात्र जोडे । पृथु बास्कोटा एक रन जोड्दा रिटायर्ड हर्ट भएका थिए । त्यसैगरी पछिल्लो समय अलराउन्ड शैलीमा खेलिरहेका राहुलले पनि मात्र दुई रन जोडयो । ८० बल सामना गरेका हासिमले ११ चौका प्रहार गरेका थिए । ११ अगस्टबाट सुरु हुने आसन्न यु–१९ विश्वकपमा नेपाल समूह ‘ए’ मा रहेको छ । पहिलो चरणमा नेपालले अस्ट्रेलिया, इंगल्यान्ड र आयरल्यान्डको सामना गर्नेछ । पपुआन्युगिनी भने समूह ‘सी’ मा छ जसले पहिलो चरणमा वेस्ट इन्डिज, जिम्बावे र भारतसँग खेल्नेछ । आइसिसीका १० टेस्ट मान्यताप्राप्त र ६ एसोसिएट तथा एफिलिएटेड सदस्य गरी कुल १६ टिमले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
सोमबार नै भएका अन्य अभ्यास खेलमा इंगल्यान्ड, भारत, अफगानिस्तान, वेस्ट इन्डिज र बंगलादेशलगायत जिम्बावे र दक्षिण अफ्रिका पनि विजयी भए । इंगल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो भने श्रीलंकाविरुद्धको खेलमा भारत ३३ रनले विजयी भयो । अफगानिस्तानले आयरल्यान्डलाई १०१ रनले पराजित गर्‍यो भने अस्ट्रेलियाविरुद्धको खेलमा वेस्ट इन्डिज १३ रनले विजयी भयो । त्यस्तै बंगलादेशले स्कटल्यान्ड तथा जिम्बावेले नामिवियालाई समान सात विकेटले पराजित गर्‍यो । न्युजिल्यान्डविरुद्धको भिडन्तमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भयो ।

प्रतिक्रिया