बोल्ट संसारका तेज पुरुष, रिचर्ड्सको पुनरागमन

लन्डन, २३ साउन । जमैकाका युसान बोल्ट संसारकै तेज पुरुष बनेका छन् । आइतबार राति भएको लन्डन ओलम्पिकको एक सय मिटर दौडमा बोल्ट पहिलो भएका हुन् । उनले निर्धारित दूरी ९.६३ सेकेन्डमा पूरा गरे । सुरुमा अग्रता लिएका अमेरिकाका जस्टिन ग्याटलिनलाई अन्तिम २० मिटरमा बोल्ट र रजतपदक विजेता योहान ब्लेकले उछिनेका थिए । ब्लेकले ९.७५ तथा ग्याटलिनले ९.७८ सेकेन्डमा रेस पूरा गरे । बोल्टले बेइजिङ ओलम्पिकमा पनि एक सय र दुई सय मिटर दुवै स्पर्धामा स्वर्णपदक जितेका थिए ।
ट्रयाकको परम्परागत शक्ति अमेरिका ध्वस्त भइरहेको समयमा सान्या रिचर्ड्स रोसले भने स्वर्णपदक जितिन् । महिला चार सय मिटर दौडमा उनले ४९.५५ सेकेन्डमा रेस पूरा गर्दै स्वर्णपदक जितिन् । बेइजिङ ओलम्पिकमा स्वर्णपदकको दाबेदारको रूपमा सहभागी भएकी रिचर्ड्स आफ्नै गल्तीका कारण कांस्यपदकमा सीमित भएकी थिइन् । बेइजिङ ओलम्पिकयता तीनपटक इन्जरी समस्याले सताइएकी रिचर्ड्सको खेलजीवन नै समाप्त भएको अनुमान गरिएको थियो । उनले एथेन्स र बेइजिङ ओलम्पिकमा चारगुणा चार सय मिटर रिलेमा स्वर्णपदक जितेकी थिइन् । बेइजिङमा पनि सुरुआतमा अग्रता लिएकी रिचर्ड्स बीचमा ढलमलिएपछि बेलायतकी क्रिस्चियन अगुइरीले स्वर्ण तथा जमैकाकी सेरेका विलियम्सले कांस्यपदक जितेका थिए ।
‘यो एकदमै कठिन रेस थियो तर मेरो मनले भनिरहेको थियो, तिमी नै च्याम्पियन हौ ।’ सन् २००९ लाई स्वर्णीम बनाउने क्रममा रिचर्ड्सले विश्व च्याम्पियनसिपमा चार सय र चारगुणा चार सय मिटर रिलेमा स्वर्णपदक जितेकी थिइन् । गत वर्ष डायगुमा भएको विश्व च्याम्पियनसिपमा चोटका बाबजुद कुदेकी रिचर्ड्स साताँै स्थानमा सीमित भएकी थिइन् ।
अगुइरीले ४९.७० सेकेन्ड समयमा रेस पूरा गर्दै रजतपदक जितिन् । अमेरिकाकी डेडे टोटरले ४९.७२ सेकेन्डमा दूरी तय गर्दै कांस्यपदक जितिन् । सुरुमा एकदमै पछि परेकी अगुइरी पछिल्लो २० मिटर तेज गतिमा कुदेकी थिइन् । महिला ट्रिपलजम्पमा काजाकिस्तानकी ओल्गा र्‍यापकोभाले स्वर्णपदक जितिन् । कोलम्बियाकी क्याटरिन इबाग्रुइनले रजत तथा युक्रेनकी ओल्गा सालागुधाले कांस्यपदक जिते ।
पुरुषको हयामर थ्रोमा हंगेरीका क्रिस्चियन पारसले स्वर्ण, स्लोभानियाका क्रिमोज पोजमुसले रजत तथा जापानका कोजी मोरिफुसीले कांस्यपदक जिते । तीन हजार मिटर स्टिपलचेजमा केन्याका जेकेइ कम्बोले स्वर्ण जिते । युरोपियन च्याम्पियनसमेत रहेका फ्रान्सका मेकिसी बनाबादले रजत तथा केन्याका अल्बी क्रेकेइ पोपुपले कांस्यपदक जिते ।

खुसी भए गाउँले
विश्वका तेज धावकको बीचमा जब जमैकन युसान बोल्टले आफूलाई ‘फिनिसिङ लाइन’ मा पहिला पुर्‍याए, यो भिडन्त हेरिरहेका बोल्टको गाउँ सेरउडका मानिसहरू नतिजाबाट आश्चर्यमा परेनन् तर खुसी भने व्यापक मात्रामा भए । कृषकबाहुल्य उक्त समुदायका मानिसहरू बोल्टजस्तो छोरो पाएकोमा गर्व गरिरहेका थिए । उनीहरूले भिडन्तअघि बोल्ट विजेता हुनेमा कुनै आशंका नभएको पनि बताए । ‘विश्वका लागि म दुनियाँको शिखरमा छु,’ बोल्टकी काकी लिलियन बोल्ट स्मिथले भनिन् । बोल्टले स्वर्णपदक रक्षा गरेलगत्तै उनका आफन्त तथा शुभचिन्तकले जमैकाको राष्ट्रिय रंग एकअर्कालाई दलेर खुसी साटासाट गरेका थिए । रेस्टुरेन्टमा समेत बोल्टको सफलताले उमंग छाएको थियो, मानिसहरू थप अर्को चार वर्षका लागि बोल्टले उपाधि कायम गर्न सकेकामा दंग देखिन्थे ।

अचानक बोतल प्रहार भएपछि
विश्वको चर्चित एथलेटिक्स विधा एक सय मिटर दौड त्यसमा पनि ओलम्पिक भिडन्त । सोमबार राति विश्वका उत्कृष्ट आठ पुरुष धावकबीच यस स्पर्धामा स्वर्णका लागि प्रतिस्पर्धाको अन्तिम तयारी हुँदै थियो, खेलाडीहरू ‘पोजिसन’ लिइरहेका थिए । तर सिटी बज्नु करिब दुई सेकेन्डअघि मात्र अचानक प्रतिस्पर्धी खेलाडीतर्फ एउटा बियर बोतल प्रहार भयो । जमैकन धावकद्वय युसान बोल्ट र योहान ब्लेक तथा अमेरिकी धावक जस्टिन गेटलिनको नजिकै उक्त बोतल प्रहार भएको थियो ।
घटनालगत्तै उक्त बोतल प्रहार गर्ने मान्छेलाई प्रहरीले नियन्त्रणमा लियो । पक्राउ परेका ती अभियुक्तलाई मंगलबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । उक्त स्पर्धा जितेका बोल्टले आफूलाई बोतल आक्रमणको घटना दु:खद् लागेको बताए । ‘म हिंसालाई प्रवद्र्धन गर्दिन,’ बोल्टले भने, ‘जब यस घटनाबारे थाहा पाएँ, एकदम दु:ख लाग्यो ।’ एजेन्सी

ज्यानेटीलाई जिमनास्टिक स्वर्णपदक
एजेन्सी
लन्डन, २३ साउन । लन्डन ओलम्पिकमा थुप्रै अप्रत्यासित परिणाम आउने क्रम जारी नै रहेको छ । ब्राजिलका आर्थर ज्यानेटीले जिम्न्यास्टिकको पुरुषको स्टिल रिङमा बेइजिङ ओलम्पिकका स्वर्णविजेता चीनका चेन येबिङलाई स्तब्ध पार्दै स्वर्णपदक जिते । चेनले १५.८०० स्कोर गरेपछि उनले स्वर्ण जित्ने निश्चितभैँm भए पनि ज्यानेटीले १५.९०० स्कोर गरे । इटालीका माटो मोडानीले कांस्यपदक जिते ।
गत वर्ष टोकियोमा भएको विश्व च्याम्पियनसिपमा उनले चेनभन्दा पछि रहँदै रजतपदक जितेका थिए । ब्राजिलका लागि जारी ओलम्पिकमा यो उनको दोस्रो स्वर्णपदक हो । चारपटकका विश्व च्याम्पियन चेनले यसअघि ओलम्पिकमा यसै स्पर्धामा तीनपटक स्वर्णपदक जितेका थिए । बेइजिङ ओलम्पिकमा उनले टिम स्पर्धामा पनि स्वर्ण जितेका थिए । बुल्गेरियाका ३९ वर्षीय जिम्न्यास्ट जोर्डन जभोग्टोचेभले ६ पटक ओलम्पिकमा सहभागिता जनाउँदै कीर्तिमान कायम गरे ।
चीनले रोइङको ओपन लेजर पर्सियलमा स्वर्णपदक जितेको छ । चीनकी ली जियाजुले स्वर्णपदक जितिन् । उक्त स्पर्धामा नेदरल्यान्ड्सकी मारिट बोस्टिवास्टरले रजत पदक जितिन् । बेल्जियमकी इभी भान बाकरले कांस्य पदक जितिन् । सुटिङको ५० मिटर फ्री राइफलमा निकोलो काप्रेनीले स्वर्ण जिते । उक्त स्पर्धामा दक्षिण कोरियाका जंगिम कोले रजतपदक जिते । बेइजिङ ओलम्पिकका स्वर्णपदक विजेता अमेरिकाका म्याट इमोन्स कांस्यपदकमा सीमित भए । फेन्सिङको पुरुष टिम फोइलमा इटालीले स्वर्ण, जर्मनीले रजत तथा जापानले कांस्यपदक जिते । वाटरपोलोको पुरुष स्पर्धामा अस्ट्रेलियाले ग्रिसलाई १३–८ ले पराजित गर्‍यो ।
एस्पार्जाले रचिन् अमेरिकी इतिहास
लन्डन : मार्लेन एस्पार्जा ओलम्पिक महिला बक्सिङमा जित हासिल गर्ने पहिलो अमेरिकी खेलाडी भएकी छन् । फ्लाइवेट डिभिजनमा उनले भेनेजुएलाकी काल्र्हा मेग्लिक्कोलाई २४–१८ ले पराजित गरेकी हुन् । जितसँगै एस्पार्जा सेमिफाइनल पुगिन् । उनले फाइनल प्रवेशका लागि स्वर्णपदक दाबेदार चीनकी केनकान रेनसँग प्रतिस्पर्धा गर्नेछिन् । पहिलो चरणमा ८–४ ले अगाडि रहेकी एस्पार्जाले दोस्रो चरणमा ६–४ ले अगाडि रहेर खेल जित्ने सम्भावना बलियो बनाएकी थिइन् । यस जितले एस्पार्जाले कम्तीमा कांस्यपदक जित्ने पक्का भएको छ । सेमिफाइनल पुग्ने सबै खेलाडीले कम्तीमा कांस्यपदक जित्छन् । २३ वर्षीया एस्पार्जा लन्डन ओलम्पिक खेलकुदअघि पनि मोडेलका रूपमा चर्चित थिइन् ।
न्युजिल्यान्ड सेमिफाइनलमा
लन्डन : ओलम्पिक महिला हकीमा न्युजिल्यान्ड पहिलोपटक सेमिफाइनल प्रवेश गरेको छ । रिभस बैंक एरिनामा सोमबार भएको खेलमा जर्मनीलाई
१–० ले पराजित गरेको न्युजिल्यान्ड समूहको शीर्षस्थानमा रहयो । दोस्रो स्थानका लागि अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताबाट बाहिरिइसकेका दुई टोलीको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई ७–० ले पराजित गर्‍यो । तीन साताअघि मात्र भएको प्रदर्शन खेलमा जर्मनीले न्युजिल्यान्डलाई ५–१ ले पराजित गरेको थियो ।

डोपिङमा अमेरिकी खेलाडी असफल
लन्डन : डोपिङ परीक्षणमा असफल भएपछि अमेरिकी जुडो खेलाडी निक डेल्पो पोलोलाई लन्डन ओलम्पिक खेलकुदबाट निष्कासन गरिएको छ । ‘टिएचसी’ नामक शक्तिवद्र्धक औषधि सेवन गरेको भेटिएपछि डेल्पो पोलोलाई अयोग्य घोषित गरिएको हो ।
गाँजा र हयासिसमा उक्त शक्तिवद्र्धक रसायन पाइन्छ । डेल्पो पोलोले ७३ केजी तौलमा सोमबार प्रतिस्पर्धा गर्दै २–१ ले विजयी भएका थिए तर उनी रिपेचेज चरणभन्दा अगाडि बढ्न सकेनन् । (एजेन्सी)
पदक तालिका
क्र.सं. देश स्वर्ण रजत कांस्य जम्मा
१. चीन ३१   १९   १४    ६४
२. अमेरिका २८   १४    १९    ६१
३. बेलायत १७    ११    ११   ३९
४. दक्षिण कोरिया ११    ५ ६    २२
५. फ्रान्स ८ ८   ९    २५
६. इटाली ७    ६    ४     १७
७. काजाकिस्तान ६    ०    ०    ६
८. रसिया ५    १७     १५     ३७
९. जर्मनी ५     १०     ७     २२
१०. हङ्गेरी ४  १    ३     ८
११. उत्तर कोरिया ४     १    ०    ५
१२. नेदरल्यान्डस् ३     ३       ४     १०
१३. दक्षिण अफ्रिका ३    १    ०    ४
१४. न्युजिल्यान्ड ३     ०    ४     ७
१५. जापान २     १२     १३     २७

प्रतिक्रिया