काठमाडौं, १८ साउन । आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ । हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाउदै छन् ।
तागाधारी जनै लाउन पर्नेहरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने परम्परा छ ।
पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।
रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र महिलाहरुको बायाँ नाडीमा बाँध्ने गरिन्छ ।
जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
नयाँ जनै लगाउने तागाधारीहरुबाट सप्त ऋषि कश्प, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित बसिष्ठलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।
तराईमा आजका दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधि दिने चलन पनि छ ।
नेवार समुदायले यस पर्वलाई गुन्हु पुन्ही भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाने चलन छ ।
यसैवीच, जनै पूर्णिमाका दिन पाटनमा रहेको बंगलामुखी मन्दिरमा मेला भर्नेको उल्लेख्य भिड लागेको थियो । वर्षको एक दिन जनै पूर्णिमाका दिन बंगला मुखीमन्दिरबाट बाहिर जलमा राखिने सर्वेश्वर महादेवको मूर्ती श्रद्धालुले जल समेत चढाएका छन् ।
यसै क्रममा सौर्यकर्मी देबकी विष्टले लिएका तस्विरहरुः
प्रतिक्रिया