दाङ, १८ साउन । आफू अनुकूलका मेडिकल सुपरिटेन्डेन्ट नभएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका आठ डाक्टर घरायसी काम देखाउँदै एकैपटक बिदा बसेका छन् । आठ डाक्टर एकसाथ बिदामा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालमा रहेको मेडिकल सुपरिटेन्डेन्ट विवाद सुल्झाउँदै स्वास्थ्य सेवा विभागले मंगलबार डा. विकास देवकोटालाई मेडिकल सुपरिटेन्डेन्ट बनाएपछि डाक्टरहरू बिदामा बसेका हुन् । अस्पतालमा डा. देवकोटा आएपछि निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विष्णु पौडेलको स्वीकृतिमा उनी आफूसहित आठ विशेषज्ञ डाक्टर बिदामा बसेका हुन् । मंगलबारदेखि लागू हुने गरी आठ डाक्टर एक साता बिदामा बसेका हुन् ।
पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलको स्वीकृतिमा डा.नित्यानन्द खनाल, सन्देश पौडेल, किरण खनाल, रामपुकार शाह, प्रकाश जोशी, सविन श्रेष्ठ र प्रताप रेग्मी बिदामा बसेका हुन् । आठ डाक्टरको बिदा निवेदनमा घरायसी कारण देखाइएको अस्पतालले जनाएको छ । बिदामा बस्ने सबै डाक्टरको घरायसी कामबारे अस्पताललाई जानकारी नगराइएको अस्पतालका प्रशासक जितबहादुर केसीले जानकारी दिए ।
अस्पतालमा भरखरै नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटा आउनुअगावै डाक्टरहरू बिदामा बसेका हुन् । अस्पतालका अनुसार डा.पौडेलले सोमबारको मिति देखाएर मंगलबारदेखि लागू हुने गरी बिदा स्वीकृत गरेका छन् । बिदामा आफू आउन एक दिनअघिको मिति देखाइएको डा.देवकोटाले बताए ।
अस्पतालमा २२ विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर करारका डाक्टरसहित १५ जना मात्र अस्पतालमा कार्यरत छन् । आठ डाक्टरको बिदा स्वीकृत भइसकेपछि आफूले सबै डाक्टरलाई व्यक्तिगतरूपमा सम्पर्क गरेको र उनीहरू आइतबारसम्म अस्पतालमा हाजिर हुने डा.देवकोटाले जानकारी दिए । नियमको आधारमा एकैपटक आठ डाक्टरले बिदा लिन नमिले पनि डा.पौडेलले किन बिदा स्वीकृति गरिदिए भन्नेबारे आफूलाई जानकारी नभएको मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताए ।
पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पौडेलले आफूहरू अस्पतालमा असुरक्षित भएको र विरोधस्वरूप केही दिनका लागि बिदामा बसेको बताए । डा.पौडेल अस्पतालबाट बिदा लिएर मंगलबार बिहान स्वास्थ्य मन्त्रालय पुगेका थिए । उनले मन्त्रालयमा आफूहरू राजनीतिक कोपभाजनको सिकार भएको बताए ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटासँगै डा.प्रबोध रेग्मी, डा.अमृत भुसाल, नर्मन लामिछाने, कालुसिङ खत्री, सन्तोष महर्जन र अजय रेग्मीले सेवा दिइरहेका छन् ।
प्रतिक्रिया