राजधानीमा फलफूलको मूल्यमा वृद्धि

काठमाडौं, १७ साउन । जनैपूर्णिमा लगायतका पर्व आउदै गर्दा नेपाली बजारमा अहिले विभिन्न फलफूलको मूल्य ह्वात्तै वृद्धि भएको छ ।
बजारको मागअनुसारको फलफूलको आपूर्तिको व्यवस्थापन हुन नसक्दा तिनको मूल्यमा वृद्धि आएको हो । विशेषगरी काठमाडौंमा मनाइने विभिन्न पर्वका समयमा बजारमा फलफूलजन्य वस्तुको अत्यधिक माग बढ्ने गर्छ ।
बजारमा सामान्यतया अनार प्रतिकिलो ३ सय, स्याउ १ सय ८०, केरा प्रतिदर्जन ९०, आँप प्रति किलो ७०, मेवा प्रतिकिलो ६० रहेको छ ।
बजारमा करिब एकसाताअघि अनार प्रतिकेजी २ सय ५०, स्याउ १ सय ३०, केरा प्रतिदर्जन ६५, आँप ५०, मेवा ४० रुपियाँ रहेको थियो ।
तराई क्षेत्रका कृषकले उत्पादन गर्ने मौसमी फलफूलको राम्रो बजार पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, नेपालगन्जलगायतका सहर देखिएकाले काठमाडौंमा तिनको आपूर्ति कम भई केही महँगो हुन गएको व्यवसायीहरु बताउछन् ।
नेपालमा एक अर्ब मूल्यभन्दा बढीको फलफूल भारतबाट आयात हुने गरेको छ । व्यापारीले भनेजति मूल्य तिर्दा पनि बजारमा कहिलेकाही गतिलो तथा असल फलफूल खरिद गर्न नसकिने, उपभोक्ता ठगिनुपर्ने अवस्था रहेको छ । (तस्विर गुगल)

प्रतिक्रिया