बाँकेका किसान एलोभेरा खेतीमा

नेपालगन्ज, १७ साउन । बाँकेका किसानले घिउकुमारी (एलोभेरा) खेती सुरु गरेका छन् । पछिल्लो समय धान, मैक, गहुँको सट्टा घिउकुमारीको खेतीतर्फ उनीहरू आकषर््िात भएका हुन् । एक वर्षमै लगानी उठ्ने भन्दै उनीहरूले एलोभेरा खेती गरेको उनीहरू बताउँछन् ।

बाँकेको कञ्चनापुर र कोहलपुर गाविसका बस्ती र पिपिरीका किसानले हाल घिउकुमारीको खेती गरिरहेका छन् । उनीहरूले लगाएको घिउकुमारीको पत्ता टिप्नेबेला सुरु भएको छ । पात र घिउकुमारीको बोटबाट अन्य साना विरुवा उम्रिने भएकाले दुवै बिक्री गरेर लगानी उठाउन सजिलो हुने कोहलपुर–४ सुन्दरनगरका किसान कालीबहादुर खत्री बताउँछन् । उनले आफूले एक वर्ष अगाडि लगाएको घिउकुमारीको खेती सन्तोषजनक रहेको बताए । किसान खत्रीले डेढ विगाह जमिनमा करिब १५ हजार विरुवा लगाएको र आफ्नो अनुभवमा परम्परागत खेतीभन्दा यसबाट राम्रो आम्दानी भएको बताए ।
बाँकेमा बहुउपयोगी मानिने घिउकुमारीको खेती एक दर्जन बढी किसानले करिब डेढ लाख विरूवा लगाएर गरिरहेका छन् । घिउकुमारीको खेती गरिरहेका बाँकेका अर्का किसान पूर्णबहादुर टमटाले पनि एक हेक्टरमा लगाएको १५ हजार विरुवामा १३ हजार बुटा बचेको र वर्ष दिनमा ४० हजार नयाँ विरुवा उत्पादन भएको बताए । उनका अनुसार सजिलै लगानी उठेको छ । प्रशोधनका लागि पहिले चितवनमा पठाउनु पर्ने उक्त कामका लागि अब नेपालगन्जमै उद्योग सञ्चालनमा आउन लागेकाले घिउकुमारीको खेती गर्ने किसान थप उत्साहित भएका छन् ।
नयाँ विरुवा रोपेको ६ देखि आठ महिनामा अन्य साना विरुवा उत्पादन हुने, एक वर्षदेखि पात बिक्री सुरु हुने तथा ६ वर्षसम्म पात बिक्री गरी सजिलो तरिकाले आम्दानी हुने भएकाले पनि घिउकुमारीको खेतीतर्फ किसान उत्साहित भएर लागेको उनको अनुभव छ ।
घिउकुमारीबाट प्रशोधन गरेर जुस, जेल, सौन्दर्य सामग्री, विभिन्न औषधि बनाउन सकिन्छ । घिउकुमारीको नियमित प्रयोगले मानिसमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति उत्पन्न हुने विज्ञको भनाइ छ । डेढ विगाहमा गरिने घिउकुमारीको खेतीबाट एक वर्षमै लगानी उठाएर करिब १५ लाख रुपियाँ नाफा कमाउन सकिने किसानहरू बताउँछन् ।
बाँकेमा एक वर्ष अगाडिदेखि घिउकुमारीको व्यावसायिक खेती सुरु गरिएकाले यहाँका किसानले उत्पादित नयाँ विरुवा बेचेको भए पनि हालसम्म पात बेच्न पाएका छैनन् ।

प्रतिक्रिया