यतिबेला देशैभर खुला दिसामुक्त गाविस, नगरपालिका तथा जिल्ला घोषणाको लहर चलेको छ । सञ्चारमाध्यमहरूका अनुसार देशभरि खुला दिसामुक्त क्षेत्र घोषित गाविसको संख्या चार सय ४२ पुगेको छ । स्थानीय निकाय, विभिन्न संघसंस्था, स्थानीय विद्यालय, युवा क्लब, आमा समूह आदि यस अभियानमा जुटेका छन् । सरसफाइका क्षेत्रमा यो निकै नै स्वागतयोग्य कदम हो । देशभरिका गाविस, नगरपालिका तथा जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइरहँदा काठमाडौँ भने खुला दिसायुक्त छ । रत्नपार्क तथा टुँडिखेल वरिपरिका आकाशे पुलमाथि मान्छेले गोब्य्राएको आची छिचोलेर हिँड्नुपर्ने अवस्था छ । दरबार हाइस्कूलअगाडिको सडकपेटीमा रहेका रुखका फेदी आचीले ढाकिएका छन् । दशरथ रंगशालाको पश्चिमी गेट मान्छेको पिसाबको आहालमा डुबेको छ । अझ प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न मन्त्रालय रहेको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाहिरको सडकपेटी हिँड्दा दिसापिसाव भेटिने गरेको छ । नारायणहिटी संग्रहालयको पश्चिमपट्टिको राहदानी विभागबाट लाजिम्पाटतिरको सडकपेटी खुला शौचालयमा परिणत भएको छ । त्यहाँ शौचालय निर्माणभन्दा पनि भित्तामा साइबाबाका मूर्ति टाँसेर दिसापिसाव नियन्त्रणको प्रयास गरिएको छ । राजधानीमा भएका सार्वजनिक शौचालय पर्याप्त छैनन् र भएका पनि दुर्गन्धले पसिनसक्नु छन् ।
अर्कोतिर घरबाट निस्किने ढल सीधै बागमती, विष्णुमतीलगायत नदीनालामा मिसाइएका छन् । यसैकारण राजधानीका सर्वसाधारण, कुलीन, सभ्रान्त, व्यापारी, देशीविदेशी, नेता, प्रधानमन्त्री, राष्ट्रपतिसम्मको दिसापिसाव खुलारूपमा ती नदीनालामा तैरिरहेको छ । राजधानीवासीको शौच प्रकृति बिरालोले आची लुकाएजस्तो भएकाले जहाँ दिसा गरे पनि अन्तत: त्यो आलै बागमती–विष्णुमतीमा पुगेको छ । यसलाई खुला दिसा भन्ने कि नभन्ने ? ३०–४० वर्षअघि खानेपानी प्रयोजनमा आउने यी नदी यतिबेला फोहोरका प्रतीक बनेका छन् । बागमती ढलमती बनेको छ । मानव सभ्यताका मुहान तथा आस्थाका केन्द्र यी नदीनाला यही कारण मृतशैय्यामा छन् । उसो त बागमती बचाउने नाममा राजधानीमा एक सयभन्दा बढी संघसंस्था खुलेका छन् । उपत्यकाभित्रै एक महानगर, एक उपमहानगरसहित तीन नगरपालिका छन् । बागमती जोगाउनकै लागि सरकारीस्तरमा ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ छ । सरसफाइका नाममा थुपै्र गैरसरकारी संघसंस्था छन् । तर पनि न राजधानी सफा छ न त बागमती–विष्णुमतीलगायत नदीनालाले नै पुन:जीवन पाएका छन् । राजधानीका सबै नगरपालिका स्रोतसाधनले सम्पन्न छन् । काठमाडौं महानगरपालिकाको वार्षिक बजेटमात्रै अर्बौं छ । तर, महानगरपालिकाले नगर सरसफाइलगायतका क्षेत्रमा एउटा पनि उदाहरणीय काम गर्नसकेको छैन । सडक, बिजुली, सडकपेटी, सार्वजनिक शौचालय सबैको अवस्था लथालिङ्ग छ । घरका झयालैपिच्छे ठूल–ठूला साइनबोर्ड, चोकैपिच्छे भीमकाय होर्डिङ अनि गल्लीभरि पोलैभरि गुजुल्टिएका टेलिफोनका तारले सुन्दर कान्तिपुर कुरूप बनेको छ । राजधानीका सडक हिउँदमा धूलो अनि वर्षामा हिलोले ढाकिने गरेका छन् । फोहोर व्यवस्थापन अर्को समस्याका रूपमा रहेको छ । नगरपालिका हुनका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । अरू देशमा नगर क्षेत्रमा कहीँ कतै बाहिर टेलिफोन र बिजुलीको तार देखिँदैनन् । पसल–कार्यालयका साइनबोर्ड, होर्डिङबोर्ड सबैको निश्चित मापदण्ड निर्धारण गरिएको हुन्छ । तर, यहाँ न कुनै मापदण्ड छ न त त्यस्ता क्षेत्र छुट्याइएका छन् । सक्नेले जति ठूला साइनबोर्ड–होर्डिङबोर्ड बनाएर जहाँसुकै राखे पनि भएको छ । यसबाट महानगर तथा घरधनीले केही रकम हात पारे पनि समग्रमा यसले सहरलाई कुरूप पारेको छ । ऐतिहासिक एवं मौलिक पहिचान, कला, संस्कृति, मठमन्दिरका कारण जीवनमा एकपटक काठमाडौं हेर्ने सबैको धोको हुन्छ ।
राजधानीलाई खुला दिसामुक्त क्षेत्र बनाउनका लागि आवश्यक कदम चाल्नु जरुरी छ । बागमती–विष्णुमतीलगायत नदीनालालाई पुन:जीवन दिन त्यहाँ मिसाइएका दिसाबाहक ढल तत्काल रोकिनुपर्छ । फोहोर निकासका लागि नदीनालाको समानान्तर ढल निर्माण गरी ती ढलले बोक्ने फोहोर निश्चित ठाउँमा व्यवस्थापन गर्न जरुरी छ । लोकप्रिय ‘सुलभ शौचालय’ राजधानीलगायत सार्वजनिक क्षेत्रमा प्रवद्र्धन गर्न सकिन्छ । जुन शौचालयमा एकपटक फ्लस गर्दा डेढ लिटरभन्दा बढी पानी खर्च हुँदैन । मानव चाप बढी हुने बसपार्क, रत्नपार्कलगायत क्षेत्रमा सुलभ शौचालय निर्माण गरी त्यहाँ बायोग्यास प्लान्टसमेत जडान गर्न सकिन्छ । त्यसबाट उत्पादित ग्यास वरिपरि वितरण गर्ने हो भने शौचालय व्यवस्थापन खर्च त्यहीँबाट जुटाउन सकिन्छ । तसर्थ खुला दिसामुक्त अभियानमा जुटेका सरकारी, गैरसरकारी संस्थासंस्थाहरूले सबैभन्दा पहिले सिंहदरबार, नारायणहिटी संग्रहालय, दरबार हाइस्कूल वरिपरिका सडकपेटी, खुलामञ्च, टुंडिखेल, रत्नपार्कवरिपरिको क्षेत्र तथा बागमती, बिष्णुमती, टुकुचा, धोबीखोला, मनोहराजस्ता नदीनालालाई खुला दिसामुक्त क्षेत्र बनाउनका लागि कदम चाल्नु जरुरी छ ।
प्रतिक्रिया