बाह्रबिसे (सिन्धुपाल्चोक), १६ साउन । नेपाली कांग्रेसका अधिकांश जिल्ला सभापति संविधानसभा पुन:स्थापनाको विपक्षमा उभिएका छन् । तत्काल संसद्को निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्ने उनीहरूको माग छ ।
बाह्रबिसे बजारमा सोमबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको बन्दसत्रमा बोल्ने अधिकांश सभापतिले एक सय ५५ जनाभन्दा सभासद् नबढ्ने गरी चुनाव गर्न पार्टीलाई सल्लाह दिएका छन् । बन्दसत्रमा बोल्ने २२ सभापतिमध्ये २१ जनाले संसद् पुन:स्थापना हुन नहुने तर्क राखेका हुन् । भेलामा ७५ वटै जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्य गरी करिब दुई सय नेता सहभागी छन् ।
माओवादीविरुद्ध खनिए शीर्ष नेता
भेलाको उद्घाटन सभालाई सम्बोधन गर्ने सबै शीर्ष नेताले एमाओवादीको तीव्र आलोचना गरेका थिए । एमाओवादीले दलहरूबीच भएको सम्झौता पालन नगरेर देश र जनतालाई धोका दिएको उनीहरूको आरोप छ । सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायत नेताले एमाओवादीको चर्को विरोध गरेका थिए । भेलाको उद्घाटन गर्दै सभापति कोइरालाले माओवादीले दलहरूसँग भएको सम्झौतालाई पालना नगरेर धोका दिएको आरोप लगाए । माओवादी आफैँले गरेको सम्झौताप्रति इमानदार नभएकै कारण देशमा समस्या आएको उनको दाबी थियो । ‘१२ बुँदेदेखि अहिलेसम्म भएका सबै सम्झौतालाई पालना नगरेर माओवादीले धोका दिएको छ, सम्झौता कार्यान्वयन गरेको भए अहिलेको राजनीतिक अन्योलता आउँदैनथ्यो,’ उनले भने, ‘माओवादी सम्झौताप्रति इमानदार बनेन ।’ उनले कांग्रेस प्रजातन्त्रविरुद्ध कसैसँग सम्झौता नगर्ने उद्घोष गरे । ‘कांग्रेस प्रजातन्त्रविरुद्ध कसैसँग सम्झौता गर्दैन, माओवादीले यसको विरुद्ध गरेको चलखेल अब धेरै दिन टिक्दैन,’ उनले भने ।
वरिष्ठ नेता देउवाले वर्तमान राजनीतिक निकासका लागि केही समयका लागि भए पनि संविधानसभा पुन:स्थापना गर्नुपर्ने बताए । उनले भने, ‘सबै कुरामा दलहरूबीच सहमति गरेर १५/२० दिनका लागि भए पनि संविधानसभा पुन:स्थापना गर्नुपर्छ ।’ उनले चुनाव जाँदासमेत कसैको दुईतिहाइ नआउने अवस्था रहेको र संविधानसभाका लागि सबै दलबीच सहकार्य आवश्यक रहेकाले संविधानसभा पुन:स्थापनालाई जोड दिनुपर्ने तर्क अघि सारे । यदि, संविधानसभा पुन:स्थापना असम्भव भए आयोगमार्फत संविधान बनाएर जनमतसंग्रहबाट त्यसलाई वैधानिकता दिनुपर्ने बताए । उपसभापति पौडेलले सरकारले ल्याउन लागेको अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । सभामा केन्द्रीय सदस्य भीमबहादुर तामाङ, सिन्धुपाल्चोक सभापति मोहनबहादुर बस्नेतलगायतले बोलेका थिए ।
तामझामका साथ भेला सुरु
भेला ठूलो तामझामका साथ सुरु भएको छ । भेला सुरु हुनुअघि काठमाडांैको कोटेश्वरबाट मोटरसाइकल र्यालीका साथ नेताहरूलाई स्कर्टिङ गरेर बाह्रेबिसे ल्याइएको थियो । केन्द्रीय सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादवलगायत नेतालाई पार्टीका कार्यकर्ताले स्कर्टिङ गरेका थिए । गाउँ–गाउँबाट कार्यकर्ता बस रिजर्भ गरेर भेलामा आएका थिए । उनीहरूलाई विभिन्न स्थानीय झाँकी, खादा, नाचलगायतद्वारा स्वागतसमेत गरिएको थियो । ठाउँ–ठाउँमा गेट, ध्वजापताकालगायतले समेत स्वागत गरिएको थियो । एमाले सिन्धुपाल्चोकले समेत बाह्रबिसेमै ब्यानर नै राखेर भेलाको स्वागत गरेको थियो ।
आयोजकले केन्द्रीय सभापतिदेखि सबै नेता र काठमाडौंबाट आएका कार्यकर्तालाई खाडीचौरमा खाने व्यवस्था गरेका थिए । तीन हजारलाई मात्र व्यवस्था गरे पनि त्योभन्दा बढी भएपछि उनीहरूले भोकै बस्नुपर्ने अवस्था रहेको थियो । उद्घाटन सक्नेबित्तिकै केही युवा केन्द्रीय सदस्य रमझमका लागि जिल्ला सभापतिहरूको बन्दसत्र छाडेर छिमेकी चीनको नाका तातोपानीतिर लागेका थिए ।
४० लाख खर्च हुने
भेलामा जिल्ला सभापति, केन्द्रीय सदस्यलगायत गरी करिब दुई सय सहभागी छन् । भेलामा सहभागी केन्द्रीय सभापतिलगायत वरिष्ठ नेताहरूलाई द लास्ट रिसोर्ट तथा केन्द्रीय सदस्यहरूलाई चण्डेश्वरी होटलमा बसोवासको व्यवस्था गरिएको छ । भेलामा झन्डै ४० लाखभन्दा बढी खर्च हुने अनुमान सिन्धुपाल्चोक कांग्रेसको छ । भेलाका लागि तीन सयभन्दा बढी स्वयंसेवक र त्यत्तिकै मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया