जनताले जानेको कखरा !

एकीकृत नेकपा (माओवादी)ले आफ्ना नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाएको समाचारले बजार तताउन खोजेको देखिन्छ । एक हदसम्म सम्पत्ति छानबिन गर्नु राम्रो पनि हो । किनकि एमाओवादीका आमकार्यकर्तामा नेताहरूले अकुत कमाएका छन् भन्ने बलियो विश्वास छ । यो आयोग एमाओवादीको विस्तारित बैठकमा वर्षिएका कुर्सी छल्न बनाएको एउटा बलियो र कुटिल कवच बन्ने निश्चित छ । किनभने यस्ता छानबिन आयोग दुईवटा प्रयोजनले बनाइन्छन् । एउटा साँच्चैको छानबिन गर्न र अर्को चोख्याउन । माओवादीको यो आयोग नेतृत्वलाई चोख्याएर आम कार्यकर्ता र जनमानसमा भ्रम छर्न बनाइएको हो । हाम्रो तराईमा एउटा भनाइ छ ‘खोदा पहाड, निकला चुहा’ । महत्त्वपूर्ण काम गर्न पहाड खनियो, तर फेला पर्‍यो मुसा । हुनत कामरेड अमिक शेरचनप्रति मेरो अविश्वास होइन । मैले चिनेसम्म उहाँ आर्थिकरूपमा इमान्दार व्यक्तित्व हुनुहुन्छ । तर, प्रश्न उठ्छ उहाँले सत्यतथ्य भेट्न सक्नु होला ? बिरालोको घाँटीमा घण्टी बाँध्ने शक्ति उहाँमा आउला ? प्रश्न यो हो ।
विशेषगरी कुनै पार्टीका नेताहरू पनि सोझा छैनन् । विचरा चिरन्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता अपवाद मात्र हुन् । उनीहरू फसे । मिहिनढंगले खोज्ने हो भने भ्रष्टाचारमा नेपालका अधिकांश नेता र मन्त्री पर्छन् । उनीहरूका लागि छुट्टै विशाल कारागार चाहिन्छ । अहिले भएका कारागारले यिनीहरूको संख्या थेग्दैन । भ्रष्टाचारमा प्रमाण हुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । अहिले अनैतिक वा अदृश्यढंगले कमाएको सम्पत्ति नेताहरूले आफ्नो वा श्रीमतीको नाममा राख्दैनन् । हुँदा हुँदा अब त नातेदारहरूको नाममा पनि राखेका छैनन् । शेरचन आयोगले भन्ने कुरा त नेताहरू सबै चोखा छन्, यो विरोधी, दरबारिया, प्रतिक्रियावादी र संघीयताविरोधीहरूले हाम्रो गौरवशाली महान् पार्टीका महान नेताहरूलाई बद्नाम गर्ने षड्यन्त्र मात्र हो । यो षड्यन्त्रलाई आयोगले छियाछिया पारिदिएको छ । फेरि एकपटक हाम्रो पार्टीले उच्च छलाङ मार्दै विजय हासिल गरेको छ भन्नेबाहेक अरू केही हुने छैन । किनकि उहाँसँग कमरेड प्रचण्डको बारेमा कुनै प्रमाण हुने छैन । कमरेड अमिक शेरचनले प्रमाणसहित सूचना दिनका लागि आव्हान गर्नु भएको रहेछ । यहाँ प्रमाण खोज्ने विधि बारे छलफल गर्न सकिन्छ । दुनियाँलाई थाहा भएकै कुरा हो, माओवादीका सबै केन्द्रीय नेताहरूले आफ्नो सबै सम्पत्ति पार्टीलाई बुझाइसक्नुभएको छ । यस अर्थमा व्यक्तिगत रूपमा उहाँहरू सर्वहाराकरण हुनुभएको छ ।
सबैभन्दा पहिले तपाईंको आयोगको प्रतिवेदन कहाँ बुझाउने र कसले स्वीकृत गर्ने हो त्यो किटान गर्नु होस् । तपाईले अध्यक्षसमेतलाई छानबिन गर्ने भन्नुभएको छ, यस अर्थमा तपाईंको अध्यक्ष एवं केन्द्रीय समिति नै छानबिनको दायरामा परेपछि उनीहरूलाई प्रतिवेदन बुझाउँदा के हुन्छ दुनियाँलाई थाहै छ । जमानाको क ख रा सबैले बुझेका छन् । काठमाडौंमा उहाँहरू कस्तो घरमा कति भाडा तिरेर बस्नुहुन्छ ? पार्टीले उहाँहरूलाई मासिक कति रकम भुक्तानी गर्छ ? उहाँहरूको लवाइखवाइ र घर खर्चमा कति रकम जान्छ ? उहाँहरूका सन्तान कस्तो स्कुल कलेजमा पढ्छन् ? नेताहरूको व्यापारमा साझेदारी वा लगानी भएर कमाएको हो भने त्यो व्यापारबाट आएको नाफाको कर राज्यलाई तिरिएको छ कि छैन ? राज्यलाई कर नतिरी कमाएको सम्पत्ति राज्यको सम्पत्ति शुद्धीकरण आयोगमा पठाइदिनुहोस् । विभिन्न व्यापारीसँग नेताहरूको साझेदारीबारे अनुसन्धान गर्नुहोस् । त्यस्ता व्यापारीहरूले रातारात देखाएको सम्पत्ति र लगानीको स्रोत खोज्नुहोस् । उनीहरूको व्यापारबाट नाफा भएको भए प्रचलित कानुन बमोजिम कर तिरेको छ कि छैन, हेर्नुहोस् । नेताहरू सत्तामा हुँदा राज्यलाई करोडौँ घाटा हुनेगरी लाइसेन्स वा अनुमति दिएकोबारेमा पत्रपत्रिकामा आएका चर्चा हेर्नुहोस् । राज्यलाई नोक्सानी र एउटा व्यापारीलाई फाइदा पुग्नेगरी दिइएका त्यस्ता अनुमति भ्रष्टाचार हो भनी ठोकुवा गर्नुहोस् । त्यस्ता लाइसेन्स बदर गर्न वा झुक्याएर राज्यलाई ठगेको विगो र विगो बमोजिमको जरिवाना तिर्न नेता वा मन्त्रीलाई आदेश दिनुहोस् । युवा स्वरोजगार कोषबाट सहकारी उद्यमका नाममा पैसा लाने, दिने र त्यसका लागि तारतम्य मिलाउने सबै नेतालाई कारबाहीको दायरामा ल्याउनुहोस् ।
कामरेड शेरचनले यति गर्नुभयो भने अरु कसैले प्रमाण दिइरहनु पर्दैन । तर यो आयोग पनि कमरेड किरणको आयोग जस्तै हुन सक्छ । किनकि विगतमा कमरेड किरणले यस्तै हल्ला गर्नुभयो । तर, उहाँले के कति छानबिन गर्नुभयो भन्ने कुरा नै छानबिनको विषय बनेको छ । नेताहरू असल छन् कि छैनन् भन्ने कुरा प्रमाणले होइन, नागरिकको विश्वासले मात्र ठहर गर्छ । जनताले नेताहरूका लाखौँ पर्ने घडी, हजारौँ पर्ने कलम, विलासी र महँगो जीवनशैली तर अदृश्य स्रोत देख्दा शेरचन आयोगले जे भनेर सफाइ दिए पनि त्यो कुनै न कुनै प्रकारले भ्रष्टाचारको सहयोग हो भन्ने दृढ विश्वास गरिन्छ । माओवादी नेता वा उनीहरूका नजिकका व्यवसायीहरू रातारात मालामाल भएको कुरा जिल्ला जिल्लामा पाइन्छ । सानो चिया पसल खोलेर बस्नेहरूले राज्यलाई कर तिर्नुपर्ने तर, नेताहरूको छत्रछायामा हुर्केकाहरूले राज्यलाई ठग्ने तरिका नै भ्रष्टाचार हो । त्यसका लागि दूरसञ्चारको लाइसेन्सदेखि नेताहरूको आलिसान महलको स्वामित्व वा भाडा हेर्दा हुन्छ । सबै भन्दा कमरेड प्रचण्डलाई पार्टीले औपचारीक रूपमा मासिक कति रकम भुक्तानी गर्ने गरेको छ ? एक लाखभन्दा बढी त घरभाडा नै लाग्छ, अरु खर्च मासिक कति दिने गरेको छ ? अस्ति भर्खर प्रकाशको बैंक खाताको बारेमा भएको चर्चाको बारेमा पनि तपाईंले थाहा पाएको हुनुपर्छ । लाजिम्पाटको त्यो घरका बारेमा उठेको बहस र शंका नै प्रष्ट पार्नु तपाईंको पहिलो परीक्षा हुनेछ । त्यो घर कसरी प्राप्त भयो ? कसको हो ? किन पार्टीले प्रष्ट पार्न सकिरहेको छैन ?
त्यो महल मैले टिभीमा मात्र देखेको छु । मैले सडकबाटै वा टिभीबाट मात्र पेरिसडाँडा, सानेपा, बल्खु, लाजिम्पाट, महाराजगञ्ज र डल्लु देखेको छु । तर, कमसेकम एमाओवादीले सुरु गरेको छ शुद्धीकरण आफैँमा नाटक नहोस् । कमरेड शेरचन, यो व्यक्तिगत रूपमा तपाईंको पनि चासोको कुरा हुन सक्छ, हिम्मत र शक्ति छ भने साँच्चै प्रयत्न गर्नुहोस् । नत्र भने आयोगको अध्यक्षबाट यो हप्ता नै राजीनामा दिनुहोस् । अपराध गर्ने र अपराधीलाई संरक्षण गर्ने दुवै अपराधी हुन् भन्ने कुरा मैले अपराधशास्त्रमा पढेको थिएँ सो कुरा तपाईंजस्ता दिग्गज र पाका नेतालाई थाह नहुने कुरै भएन । कम्तीमा हिजो एकता केन्द्रको त्यो निष्कलंक अमिक शेरचन कसैको कुकृत्यमा सती नजाओस् । र, कसैलाई चोख्याउने काम ऊबाट नहोस् । व्यक्तिगतरूपमा मेरो यही कामना छ । कमरेड शेरचन, तपाईंले आफ्नै प्रमुख नेताहरूको वरियताक्रमका आधारमा उनीहरूको साँच्चैको छानबिन गर्नुभयो भने तपाईं साँच्चैको कम्युनिष्ट नेताका रूपमा सदासदाका लागि बाँचिरहनु हुन्छ । यस अभियानले अरु दलका नेतामा पनि नैतिक दबाब बढ्छ । दुनियाँलाई थाहै छ सबैभन्दा धनी दल एमाओवादी हो । त्यसको आय र व्यय खुलाउनु तपाईंको कर्तव्य हो । यो कर्तव्यमा तपाईंविजयी हुनुहोस् । नत्रभने तपाईं स्वयं भ्रष्टाचारीको मतियार र सहयोगीका रूपमा रहनुहुनेछ । जनताले जानेको कखरा यस्तै हो, कमरेड शेरचन चेतना भया ।

प्रतिक्रिया