आवश्यकता नैतिकवान राजनेताको

गत वर्ष ११ भदौमा प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै डा. बाबुराम भट्टराईले आर्थिक मितव्ययिताका लागि भन्दै नेपालमै बनेको मुस्ताङ गाडीमार्फत आफ्नो यात्रा थालेका थिए । त्यो कार्यले उनलाई निकै चर्चाको शिखरमा त पुर्‍यायो नै लोकप्रियतामा पनि थप मलजल गरायो । त्यसको केही समयपछि राष्ट्रसंघको महासभामा भाग लिन जाँदा उनले प्रयोग गरेको सस्तो टिकटले पनि उनका प्रशंसकलाई केही हौसला दियो । माक्र्सवादी दर्शनशास्त्रको आँखीझ्याल नामक पुस्तकका लेखक भट्टराईले अर्थमन्त्री हुँदा उठाएको राजश्वलाई पनि एउटा सकारात्मक कामका रूपमा चर्चा गरियो । यी र यस्तै केही सकारात्मक काम गर्दागदै पनि बाबुरामले जति छिटो प्रशंसा बटुले त्यति नै छिटो बद्नामी कमाउन पनि भ्याए । उनलाई बद्नाम बनाउने पछिल्लो कदम बनेको छ, अध्यादेशमार्फत पूर्व विशिष्टहरूलाई आजीवन सुविधा दिने निर्णय । राजनीतिमा एउटा उखान छ सके नाम कमाउनु, नसके बद्नाम हुनु तर गुमनाम नहुनु । झट्ट हेर्दा लाग्छ, बाबुराम भट्टराई अहिले त्यही पथमा हिँडिरहेका छन् ।
आफू सत्ताबाहिर रहँदा अर्काको विरोध गर्नु नेपाली राजनीतिको एउटा प्रवृत्ति र परम्परा नै भइसकेको छ । बहुदल आएयता झन् यो संस्कृति यसरी मौलायो कि जसलाई उखेल्न अब धेरै समय र विवेक आवश्यक पर्ने देखिन्छ । हिजो ४० बँुदे माग राखेर जंगल पसेका बाबुराम भट्टराई त्यसको डेढ दशक नबित्दै सत्तामा पुगे । तर उनमा अकस्मात आएको चमत्कारिक रूपान्तरणले राष्ट्र र जनतालाई ज्यादै दु:खी बनाएको छ । उनले अहिलेसम्म जति निर्णय गरे ती सबैमा विवाद बेहोरे । त्यसको ‘ह्याङ ओभर’ले अहिलेसम्म पनि छोडेको छैन । राजनीतिक, संवैधानिक र आवश्यकताको हिसाबले कामचलाउ प्रधानमन्त्री भइसकेको पत्र पाइसकेपछि पनि उनलाई विवादहरूले छोडेका छैनन् । त्यसमध्ये विशिष्टहरूलाई राज्य कोषबाट आजीवन सुविधा दिने कुरा सुविधा ग्रहण गर्नेबाहेक अरु सबैका लागि अपाच्य भयो । खासगरी सरकारले यो निर्णय गर्दा जनस्तरमा त्यति धेरै विरोधका स्वर सुनिएका थिएनन् । जब संविधानसभा आफ्नो कर्तव्य नै पूरा नगरी अवसान गराइयो, त्यसले जनतामा राजनीतिक दल र तिनका नेताहरूप्रति व्यापक मात्रामा वितृष्णा पैदा गरायो । त्यसैको प्रतिफलका रूपमा आज यति धेरै विरोधका स्वर सुनिएका हुन् । यस्ता सुविधा अहिलेको भन्दा केही कम बढी भए पनि यसअघि पनि प्रायजसो सबैले सदुपयोग गरेकै थिए । तर, सर्वोच्च अदालतले नै कानुन बनाएर सुविधा दिनु भन्ने आदेश जारी गरेपछि भटाभट सबैले आफूले प्रयोग गरिरहेका गाडीलगायत अन्य सुविधा फिर्ता गरेका थिए । त्यसले जनतामा केही आशाको सञ्चार भने अवश्य गराएको थियो । सरकारी सुविधाका विलासी गाडी फिर्ता गरेको एउटा मात्र पूर्व विशिष्ट सडकमा लखरलखर हिँडेको र उसलाई असुरक्षा भएको खबर सायदै कसैले सुन्यो होला । आखिर के रहेछ यो विलासीपन भन्ने कुरा, जसलाई पनि छिट्टै आकर्षित गर्ने र स्खलित गराउने ? ०४६ यता प्रधानमन्त्रीको कुर्सीमा बसेकामध्ये कसलाई अभाव थियो सडकमा गुड्ने गाडीको र बस्ने बासको ? कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल आदि प्रधानमन्त्री भए । यीमध्ये तीनजना दिवंगत भइसके । जीवितमध्ये कुनचाहिँ विशिष्टले गाडी चढ्न पाएनन् ? सरकारले सिफारिस गरेको अध्यादेशमा पूर्व राष्ट्रपतिदेखि गृहमन्त्रीसम्मलाई सुविधा दिने भनिएको छ । जबकि अहिलेसम्म गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादव आफँै विराजमान छन् । पूर्व भइनसक्दै आजीवन सुविधा भाग लगाउनु स्वयं राष्ट्रपतिका लागि नैतिकताभित्र पर्ने कुरा हो र ? यदि विशिष्टका नाममा गरिब जनताले तिरेको करबाट सुविधा लिने हो भने यिनीहरूले आफ्नो सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्ने आँट छ कि छैन ?
अध्यादेशको अर्को पाटो । जस्तो बढीमा ५० लाखदेखि ३० लाखसम्मका गाडी दिन सकिने अध्यादेशले बोलेको छ । तर सरकारले आफैँले बनाएको कानुन विपरीत पूर्वप्रधानमन्त्रीहरूलाई दुई करोड मूल्य पर्ने प्राडो गाडी दियो । यस्तै अन्य विशिष्टहरूले पनि कानुनसँग मेल नखानेगरी सुविधा लिइरहेका छन् । राष्ट्रको अग्रगति र विकासमा अहं भूमिका निर्वाह गरेका र सबैको दिमागमा सम्मानभाव प्रकट हुने व्यक्तित्वलाई उनीहरूको कामको मूल्यांकन गरी सुहाउँदो सुविधा दिने कुरामा कसैको विरोध हुन्छजस्तो लाग्दैन । तर, त्यही सुविधाका लागि पदमा पुग्ने र मुलुक लुट्ने प्रवृत्तिले नेपाली जनतालाई आजित बनाएको छ । जो घरबारविहीन, खान लगाउनै मुस्किल पर्ने र जीविकोपार्जनमा कठिनाइ बेहोरिरहेको छ उसलाई राज्यले उचित सम्मान गर्नुपर्छ । यो लोककल्याणकारी राज्यको उत्तरदायित्वभित्र पर्छ । संसारका धेरै त्यस्ता नेता छन् जो अहिले पनि जीवित छन् र राज्यको तजबिजमा बाँचिरहेका छन् । उनीहरूसँग व्यक्तिगत सम्पत्तिका नाममा एक इन्च माटोसम्म छैन । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला सरकारी सुविधामा सामान्य तरिकाले जीवनयापन गरिरहेका छन् । यिनै हाम्रा नेताहरू होइनन् मण्डेलाको कुरा नगरी भाषण नै अपुरो हुन्छ भन्ने ? संसारका पुँजीवादी भनिएका मुलुकका पूर्व विशिष्टहरूलाई पनि त्यहाँको राज्यले विशेष प्रकारको व्यवस्था गरेको हुन्छ । तर, नैतिकताका आधारमा उनीहरू चल्छन् । हाम्रोजस्तो नैतिकता नभएका नेता कमै मात्र देशमा होलान् । देश र जनता बदल्न हिँडेका यिनै नेताहरूका लागि राजनीति भन्ने कुरा आज कमाउने पेशाजस्तो भएको छ । हिजोसम्म हवाइ चप्पल पड्काउँदै हिँड्नेहरू आज पजेरोबिना बाँच्नै नसक्ने भइसके । आखिर उनीहरूमा यति धेरै नैतिकताको खाँचो पर्नुको कारण के हो ? यिनै मान्छेलाई नेता बनाएर सत्तामा पुर्‍याउन धेरै जनताको परिश्रम लगानी भएको छ । धेरै कार्यकर्ताले रगत बगाएका छन् । तर, जनता र कार्यकर्ताका दु:खमा यी नेताहरूले एक थोपासम्म आँशु झारेको कहिल्यै देख्नुभएको छ ? देश र जनताको सेवा गर्न हिँडेका आज आलिशान महलमा बस्छन् । विलासी गाडीमा सयर गरिरहेका छन् । जनताका छोराछोरी गिठा र भ्याकुर खोजिरहँदा आºना छोराछोरीलाई विदेशी महँगा स्कुलमा पढाइरहेका छन् । एउटा जनताको छोरो एक चक्की सिटामोलसमेत नपाएर मर्ने अवस्था छ तर नेताहरू भने सामान्य रुघाखोकी लाग्दा पनि विदेश जान्छन् उपचार गराउन । यही हो आदर्शवान र सभ्य राजनीति ?
अब अध्यादेशको अर्को पाटो । यदि यसरी नै पूर्व विशिष्ट पदाधिकारीहरूलाई सुविधा थप्दै जाने हो भने भोलिका दिनमा नेपाली राजनीति अझै अस्वस्थ, भ्रष्ट र झनै अनैतिक बन्ने पक्का छ । हिजो देश बनाउन, क्रान्ति गर्न राजनीतिमा लागेको बताउने मान्छे भोलि कमाउन वा आफूलाई बनाउन हिँडेको भन्न थाल्नेछन् । त्यही सुविधाको लोभमा पदमा पुग्न जुनसुकै काम गर्न पनि उनीहरू उत्प्रेरित हुने पक्का छ । उनीहरूका लागि भोलि कानुन नियम भन्ने कुरा आफूले लगाउने कपडा फेरेजस्तो हुनेछ । अनि लामो संघर्ष र वलिदानबाट जनताले प्राप्त गरेको लोकतन्त्र सीधै छाडातन्त्रमा परिणत हुनेछ । जनताले त्यस्तो प्रवृतिका लागि आन्दोलन गर्लान् त्यो बेग्लै कुरा हो । अहिले कोही सडकमा खाली खुट्टा हिँड्छ भने उसलाई हेपिन्छ । फाटेको टोपी लगाए उसलाई अपराधीझैँ दुत्कारिन्छ । यो नेपाली राजनीतिको संस्कृति हो । जससँग सत्ता, सम्पत्ति र शक्ति छ उसलाई समाजले पूजा गर्छ । चुनाव जिताउँछ र सत्तामा पुर्‍याउँछ । यही संस्कृतिका कारण पनि समाजमा प्रतिष्ठा बनाएका मान्छे अनैतिक बन्दै गएका हुन् । यसलाई सच्याउन अब समाज आफँै सचेत भएर उठ्न आवश्यक छ । संकटमा फसिरहेका बेला अहिले मुलुकले नैतिकता र आदर्श बोकेको राजनेता खोजिरहेको छ । समकालीन नेतामध्ये कसैले राजनेताको सिँढी चढ्न सकिरहेका छैनन् । मुलुकमा आदर्श र नैतिकताको खडेरी परिरहेका बेला कुनै एक नेताले नानीदेखि लागेको बानी छोडेर सभ्यताको मार्गमा हिँड्न सके साँच्चिकै जनताले राजनेताको अभाव महशुस गर्ने थिएनन् कि ? आवश्यकता आज नैतिकवान राजनेताको खड्किएको छ ।

प्रतिक्रिया