दाउरा बिक्री–वितरणमा रोक

कैलाली, १४ साउन । जिल्ला वन कार्यालय कैलालीले सामुदायिक वनमा काठ दाउरा कटान, निकासी तथा पैठारी रोकेपछि उपभोक्ता दाउरा नपाएर मर्कामा परेका छन् ।

वन कार्यालयले जेठदेखि कात्तिक मसान्तसम्म जिल्लामा रहेका सरकारी तथा सामुदायिक वनमा काठ, दाउरा कटान तथा वन जंगलमा प्रवेश गर्न निषेध गरेपछि उपभोक्ता मर्कामा परेका हुन् ।
वन कार्यालयले कैलालीमा यस्तो नियम लगाएपछि उपभोक्ता दाउरा नपाएर आक्रोशित बनेका छन् भने विवाह, व्रतबन्ध, दाहसंस्कारलगायत कार्यमा समेत समस्या भएको छ । ‘आर्थिक स्थिति कमजोर भएकालाई बिहान बेलुकाको खाना पकाउन साह्रै समस्या भएको छ,’ टीकापुरका श्याम चौधरीले भने, ‘मुक्तकमैया, सुकुम्बासी तथा आर्थिक स्थिति कमजोर भएका मानिसलाई दाउरा नपाएर साँझबिहान खाना पकाउन समस्या भएको छ ।’
सरकारले सामुदायिक वनमा समेत दाउरा तथा काठ बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि सामुदायिक वनमा कार्यरत कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको सामुदायिक वनले जनाएका छन् । दाउरा तथा काठ संकलनमा प्रतिबन्ध लगाएपछि सामुदायिक वनलाई आर्थिक संकट परेको सामुदायिक वन उपभोक्ता महासंघ कैलालीकी अध्यक्ष तुलसी देवकोटाले बताइन् । दाउरा लिन दैनिक रूपमा सामुदायिक वनको कार्यालयमा आउने उपभोक्ता रित्तो फर्कने गरेका छन् ।
जिल्ला वन कार्यालय कैलालीका प्रमुख राजेन्द्रमानसिंह भण्डारीले सामुदायिक वनमा जारी ठेक्काप्रथा अन्त्यका लागि यस्तो निर्णय गरेको बताए ।

प्रतिक्रिया